काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकमा थुप्रिएर बसेको सात खर्ब रुपैयाँको तरलतालाई लगानीमा रूपान्तरण गर्ने प्रयास गरिरहेको बताउनुभएको छ । सोमबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै अर्थमन्त्री पौडेलले यस्तो बताउनुभएको हो ।
अर्थमन्त्री पौडेलले सरकारले मुलुकभित्र लगानीको वातावरण बनाउने र बैंकको निक्षेपलाई लगानीमा रूपान्तरण गर्ने, अन्तर्राष्ट्रिय लगानी भित्र्याउने, रोजगारी सिर्जना गर्ने र व्यवसायीहरूको मनोबल उच्चरूपमा बढाउने विषयमा बढी केन्द्रित भएर काम गरिरहेको बताउनुभयो । उहाँले अर्थतन्त्रलाई सुधारका लागि सरकारले गरेको प्रयासले अर्थतन्त्रका अधिकांश सूचकहरू सकारात्मक देखिएको दाबी गर्नुभयो ।
उहाँले सरकारले अर्थतन्त्रमा देखिएका समस्या र चुनौतीलाई सूक्ष्मरूपमा विश्लेषण गरी समाधानका उपायहरू कार्यान्वयनमा ल्याएकाले केही सुधार भएको बताउनुभयो । अर्थमन्त्री पौडेलले अर्थतन्त्रमा देखिएका समस्या र चुनौती समाधानका लागि निरन्तर प्रयास गरिरहेको बताउनुभयो । उहाँले पछिल्लो समय अर्थतन्त्रका अधिकांश सूचकहरू सकारात्मक दिशामा फर्किएको बताउनुभयो । अर्थमन्त्री पौडलले सरकारले अर्थतन्त्रका समस्यालाई सूक्ष्म ढंगले विश्लेषण गरी समाधानका लागि एक-एक कदमहरू चाल्दै गएको जानकारी दिनुभयो । उहाँले अर्थतन्त्रमा देखिएका सकारात्मक सूचकहरू सरकारले गरेका कामको परिणामबाट आएको दाबी गर्नुभयो । अर्थमन्त्री पौडेलले राजस्व संकलन गत वर्ष आर्थिक वर्षको चार महिनामा तीन प्रतिशतमात्रै वृद्धि भएकोमा चालु आर्थिक वर्षमा १७ प्रतिशत पुगेको बताउनुभयो । उहाँले अर्थतन्त्र सुधार गर्ने पृष्ठभूमिमा धेरै काम भएकाले पुँजीगत खर्च पनि केहीमात्रामा बढेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘वर्तमान सरकारले अर्थतन्त्रका समस्यालाई सूक्ष्म ढंगले केलाइरहेको छ । समाधानका लागि एक-एक गरी कदमहरू चाल्दै छ । अर्थतन्त्रका केही सूचकहरू सकारात्मक देखिएका छन् । त्यो सकारात्मकता एक्कासी आएको होइन । बैंकको ब्याजदर एकल अंकमा आयो । तर, त्यो त्यत्तिकै आएको होइन । त्यसका लागि सरकारले केही काम गरेको छ । राजस्व संकलन गत वर्ष चार महिनामा तीन प्रतिशत वृद्धि भएको थियो । चालु आर्थिक वर्षमा १७ प्रतिशत पुगेको छ । त्यो त्यत्तिकै भएको होइन, अर्थतन्त्र सुधार गर्ने पृष्ठभूमिमा काम भएका छन् । पुँजीगत खर्च पनि केही न केहीमात्रामा बढेकै छ । लगानीको वातावरण बनाउने र बैंकको निक्षेपलाई कसरी लगानीमा रूपान्तरण गर्ने, अन्तर्राष्ट्रिय लगानी कसरी भित्र्याउने, रोजगारी कसरी सिर्जना गर्ने र व्यवसायीहरूको मनोबल कसरी बढाउने यस विषयमा बढी केन्द्रित भएर काम गरिरहेका छौँ । सरकारले गरेको प्रयासले अर्थतन्त्रका सूचकहरू ओरालो लाग्ने क्रम रोकिएको छ । क्रमशः अर्थतन्त्रमा सूचकहरू सकारात्मक दिशामा फर्किएका छन् । त्यसलाई तीव्रता दिएर सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सक्छौँ । मूल्यवृद्धिलाई सीमाभित्र राख्न सफल भएका छौँ । समग्र अर्थतन्त्रलाई गतिशील बनाउने, उत्पादन, उत्पादकत्व वृद्धि गर्ने र रोजगारी अभिवृद्धि गर्ने उद्देश्यमा अर्थतन्त्रका सकारात्मक सूचकहरूलाई सदुपयोग गरेर जानुपर्ने अवस्था छ । त्यसमा सरकार प्रयासरत छ ।’
अर्थमन्त्री पौडेलले समग्र अर्थतन्त्रलाई गतिशील बनाउने, उत्पादन, उत्पादकत्व वृद्धि गर्ने र रोजगारी अभिवृद्धि गर्ने उद्देश्यमा अर्थतन्त्रका सकारात्मक सूचकहरूलाई सदुपयोग गरेर जानुपर्नेमा जोड दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच