दोहा । विश्व फुटबल महासंघ (फिफा)ले प्रदान गर्ने ‘फिफा द बेस्ट अवार्ड’ यो वर्ष पुरुषतर्फ भिनिसियस जुनियर र महिलातर्फ एइटाना बोनमतीले जित्नुभएको छ । ब्राजिल तथा रियल मड्रिडका फरवार्ड भिनिसियस पुरुषतर्फ उत्कृष्ट वर्ष खेलाडी घोषित हुनुभयो । भिनिसियसले पहिलोपटक फिफा बेस्ट अवार्ड जित्नुभएको हो ।
भिनिसियसले सिटी तथा स्पेनिस मिडफिल्डर रोड्री र रियलका टिम मेट इंग्ल्याण्डका जुड बेलिङगमलाई पछि पार्दै अवार्ड जित्नुभएको हो । कतारको दोहामा आयोजित समारोहमा २४ वर्षीय भिनिसियसलाई पुरस्कार प्रदान गरिएको हो । यसअघि म्यानचेस्टर सिटीका रोड्री विजयी भएपछि रियल मड्रिडले बलोन डीओर समारोह बहिष्कार गरेको थियो । रियल मड्रिड अहिले अन्तरमहादेशीय कपको फाइनलका लागि दोहामै छ ।
सन् २०२३-२०२४ को सिजनमा रियलले च्याम्पियन्स लिग र ला लिगा उपाधि जित्दा भिनिसियसले महत्वपूर्ण भूमिका निभाउनुभएको थियो । उहाँले ३९ खेलमा २४ गोल र ११ असिस्ट गर्नुभएको थियो । योमध्ये च्याम्पियन्स लिग फाइनलमा बोरुसिया डर्टमन्डविरुद्ध भिनिसियसले गरेको गोल निर्णायक थियो । भिनिसियसले ब्राजिलको साओ गान्काले सडकमा खाली खुट्टाले फुटबल खेल्दा असम्भव लाग्ने अवार्ड अहिले आफ्नो हातमा रहेको प्रतिक्रिया दिनुभयो ।
यस्तै फिफा बेस्टअन्तर्गत रियल मड्रिडका कार्लोस एन्सेलोटी उत्कृष्ट प्रशिक्षक बन्नुभयो । उहाँले स्पेनिस जायन्टलाई च्याम्पियन्स लिग र ला लिगा उपाधिका लागि नेतृत्व गर्नुभएको हो । प्रतिस्पर्धामा पेप ग्वार्डिवाला, लियोनल स्कालनी, जाभी अलन्सो पनि हुनुहुन्थ्यो । ६५ वर्षीय इटालियनले यो अवार्ड जितेको पहिलोपटक हो । उत्कृष्ट गोलका लागि प्रदान गरिने पुस्कास अवार्ड म्यानचेस्टर युनाइटेडका अलेहान्द्रो गारान्चोले प्राप्त गर्नुभयो । २०२३ नोभेम्बरमा एभर्टनलाई ३-० ले हराउँदा उहाँले गरेको बाइसाइकल किक उत्कृष्ट गोल घोषित भएको हो ।
अर्जेन्टिनाका एमिलियानो मार्टिनेज वर्षको उत्कृष्ट गोलकिपर बन्नुभयो । टिम अफ द इयरमा सन्न्यास लिइसक्नुभएका टोनी क्रुजसहित पाँच रियल मड्रिड र एक बार्सिलोनाका खेलाडी परेका थिए । प्रिमियर लिगका पाँच खेलाडीले यसमा स्थान बनाए ।
यसैगरी महिलातर्फ स्पेन तथा बार्सिलोनाकी एइटाना बोनमतीले लगातार दोस्रो वर्ष अवार्ड हात पार्नुभयो । २६ वर्षीया बोनमतीको उत्कृष्ट प्रदर्शनको मद्दतमा स्पेनले २०२३ मा महिला विश्वकप उपाधि जितेको थियो । प्रतियोगितामा उहाँले गोल्डेन बल अवार्ड जित्नुभएको थियो । उहाँ २०२३ र २०२४ को बलोन डीओर विजेता पनि हुनुहुन्छ । उहाँले जाम्बियाकी बारब्रा बान्डा र टिम मेट क्यारेलिन ग्राहमलाई पछि पार्नुभएको हो । अघिल्लो सिजन उहाँले क्लबका लागि लिगा एफ, च्याम्पियन्स लिग, सुपरकोपा र कोपा डेल रे जित्नुभएको थियो । चारै प्रतिस्पर्धामा बोनमतीले करियर बेस्ट १९ गोल गर्नुभएको थियो । अहिलेसम्म बार्सिलोनाबाटै व्यावसायिक फुटबल खेलिरहनुभएकी बोनमतीको आफ्नो सफलताको श्रेय क्लब र टिम मेटलाई दिनुभयो ।
महिलातर्फ सिकागो रेड स्टारकी अमेरिकी अलिसा नेहरले उत्कृष्ट गोलकिपर अवार्ड जिनुभयो । अमेरिकी टिमकी एम्मा हायस उत्कृष्ट प्रशिक्षक बन्नुभयो । उहाँले यसै वर्ष भएको पेरिस ओलम्पिकमा अमेरिकालाई स्वर्ण पदक दिलाउनुभएको थियो । गत सिजन चेल्सीलाई वुमन्स सुपर लिग उपाधि जिताउँदै अमेरिकी टिमको नेतृत्व सम्हाल्न पुग्नुभएको थियो । एम्माले २०२१ पछि दोस्रोपटक यो अवार्ड हात पार्नुभएको थियो । यो वर्षबाट महिलातर्फ पनि उत्कृष्ट गोलका लागि मार्टा अवार्ड सुरुवात गरिएको छ । पहिलो संस्करणको अवार्ड स्वयं ब्राजिलकी लेजेन्ड मार्टाले नै जित्नुभएको छ । गत जुनमा जमैकासँग गरेको गोलका लागि मार्टाले अवार्ड प्राप्त गर्नुभएको हो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच