
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिनामा १३ अर्ब चार करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्म देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको एक अर्ब ७६ करोड युनिट विद्युत् भारततर्फ निर्यात गरेको हो । भारततर्फ निर्यात गरिएको विद्युत््को औसतदर प्रतियुनिट सात रुपैयाँ ३९ पैसा रहेको छ । प्राधिकरणले देशभित्र खपत गरी बढी भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताबमोजिम हरियाणा र बिहार राज्यमा बिक्री गर्दै आएकोे छ । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु)मा हुने गरेको छ । त्यसैले प्राधिकरणले विद्युत् बिक्री गरी आठ अर्ब १५ करोड भारु आम्दानी गरेको छ ।
साउनमा सबैभन्दा बढी चार अर्ब १५ करोडको विद्युत् निर्यात भएको छ भने मंसिरमा सबैभन्दा कम २८ करोड १४ लाख रुपैयाँको मात्र निर्यात भएको छ । भदौमा तीन अर्ब ६८ करोड, असोजमा तीन अर्ब सात करोड र कात्तिकमा एक अर्ब ८७ करोडको विद्युत् भारततर्फ निर्यात गरिएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले असोजमा आएको बाढीपहिरोका कारण मुख्यरूपमा चार सय ५६ मेगावाट माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रमा क्षति पुगी विद्युत् उत्पादन बन्द हुँदा निर्यात प्रभावित भएको बताउनुभयो । माथिल्लो तामाकोशी बन्द भएका कारण त्यसपछिका महिनामा विद्युत् निर्यात घटेको र सुक्खायाम सुरु भएसँगै जलविद्युत् आयोजनाहरूको उत्पादन घटेकाले गत वर्षभन्दा यस वर्ष चाँडै आयात गर्नुपरेको उहाँको भनाइ छ । हाल विद्युत् निर्यात बन्द भएको छ भने आयात सुरु गरिएको छ । हिउँदयाम सुरु भएसँगै नदी तथा खोलानालामा पानीको बहाव घट्दा जलविद्युत् आयोजनाहरूको उत्पादनमा कमी भई देशभित्रको विद्युत् माग धान्न हिउँदका केही महिना विद्युत् आयात गर्नुपर्ने अवस्था छ । नदी तथा खोलानालामा पानी बहाव बढ्न सुरु भएपछि उत्पादन बढ्ने भएकाले त्यसपछि विद्युत् निर्यात पुनः सुरु हुने प्राधिकरणले जनाएको छ । यस वर्षदेखि ४० मेगावाट विद्युत् भारत हुँदै बंगलादेश निर्यात पनि सुरु भइसकेको छ ।
चालु आर्थिक वर्ष करिब ३० अर्ब रुपैयाँ विद्युत् निर्यातको लक्ष्य रहे पनि बाढीपहिरोका कारण जलविद्युत् आयोजना र प्रसारण लाइनमा क्षति पुग्दा निर्यात लक्ष्य प्रभावित हुने देखिएको छ । बाढीपहिरोले माथिल्लो तामाकोशीसहित अन्य साना जलविद्युत् आयोजना र काबेली करिडोर प्रसारण लाइनमा क्षति पुर्याएको थियो । माईखोलामा आएको बाढीले काबेली करिडोरमा क्षति पुर्याउँदा उक्त लाइनमा जोडिएका विभिन्न आयोजनाको करिब दुर्ई सय मेगावाट विद्युत् उत्पादन बन्द भएको थियो । जसका कारण असोज र कात्तिकको विद्युत् निर्यात प्रभावित भएको थियो ।
माथिल्लो तामाकोशी आगामी पुस १० गतेभित्र सञ्चालनमा ल्याउने गरी मर्मत सम्भार धमाधम भइरहेको छ भने काबेली करिडोर प्रसारण लाइन पुनर्निर्माण सम्पन्न गरी सञ्चालनमा आइसकेको छ । हिउँद सुरु भएसँगै नदी तथा खोलानालामा पानीको बहाव घट्ने भएकाले जलविद्युत् आयोजनाहरूको विद्युत् उत्पादन कम हुने छ । उत्पादनले आन्तरिक मागमात्र धान्ने भएकाले अब विद्युत् निर्यात क्रमशः घट्दै जाने पनि प्राधिकरणले जनाएको छ । प्राधिकरणले हालसम्म प्रतिस्पर्धी बजार र मध्यकालीन विद्युत् बिक्री सम्झौताबमोजिम भारतीय बजारमा २८ वटा आयोजनाबाट उत्पादित नौ सय ४१ मेगावाट विद्युत् बिक्री गर्न स्वीकृति पाएको छ । गत आर्थिक वर्ष भारतबाट १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत् आयात गरिएको थियो भने यस अवधिमा १७ अर्ब छ करोड रुपैयाँको विद्युत् निर्यात गरिएको थियो । गत आर्थिक वर्षको आयातभन्दा १३ करोड रुपैयाँ बढीको विद्युत् निर्यात गरी खुद विद्युत् आयातकर्ताबाट नेपाल खुद विद्युत् निर्यातकर्ता बनेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच