म्याग्दी । समुद्री सतहदेखि दुईहजार चार सय मिटरको उचाइमा अवस्थित म्याग्दीको मालिका गाउँपालिका-७मा पर्ने प्रभुचेला धुरीमा निर्माण गरिएको सामुदायिक ध्यान केन्द्रमा शनिवार प्रथम विश्व ध्यान दिवसका दिन एकसय ८० जनाले सामुहिक ध्यान गरेका छन् ।
प्रभुचेला धुरी शहर र वस्तीदेखि टाढा,जंगलको बिचभागमा अवस्थित छ । प्राकृतिक सौन्दर्यले युक्त यस ठाउँमा परापूर्वकालमा ऋषिमुनिहरुले तपस्या गरेर ज्ञान आर्जन गरेका तथ्यहरु यहाँ अहिलेसम्म पनि देख्न सकिन्छ ।
यस्तो प्राचिन र रमणीय स्थानमा तनाव व्यवस्थापन, मानसिक र शारीरिक स्वास्थ्यका लागि उपयोगी मानिएकोध्यान केन्द्र निर्माण गरिएको छ । सोही ध्यान केन्द्रको प्राङ्गणमा प्रथम विश्व ध्यान दिवसको अवसरमा म्याग्दीका विभिन्न ठाउँहरुबाट गएका व्यक्तिहरुले सामुहिक ध्यान र योगा गरेका हुन् । योग शिविरको आयोजना प्रभुचेला ध्यान केन्द्र व्यवस्थापन समितिले गरेको थियो ।
उक्त अवसरमा मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले ध्यान शिविर कार्यक्रमको उद्घाटन गर्दै यहाँ पालिकाले गण्डकी प्रदेश सरकारसँग सहकार्य गर्दै मेडिटेसन सेन्टर सहितको पूर्वाधार बनाउन आवश्यक सहयोग तथा पहल गरिरहेको बताउनुभयो । कार्यक्रममा योगिनी सिता घलेलेको नेतृत्वमा योग नृत्य समेत प्रस्तुत गरिएको थियो ।
पहिलोपटक प्रभुचेला धुरीमा ठूलो संख्यामा पुगेको भक्तजन तथा योगीहरको टोलीलाई ध्यान केन्द्र व्यवस्थापन समितिका अध्यक्ष टीकाबहादुर जुग्जाली (नविन)ले त्यहाँ निर्माण भइरहेका संरचना,स्वर्गद्धारी महाप्रभुका उत्तराधिकारी कपिलानन्द स्वामीले विसं १९७० देखि १९७५ सम्म तपस्या गरेको स्थान,कुटी,साधनास्थल र हवन कुण्डको भग्नावशेष सहितका संरचनाहरुको अवलोकन गराउनुभएको थियो ।
गण्डकी प्रदेश सरकारको रु ५० लाख र प्रवासमा रहेका विमका स्थानीयहरुको रु २५ लाख सहयोगमा ध्यान केन्द्रका लागि पूर्वाधार निर्माण गरिएको छ ।
ध्यान केन्द्रका अध्यक्ष जुग्जालीका अनुसार पूर्वाधार विकास कार्यालय म्याग्दीमार्फत प्राप्त भएको रु ५० लाखको बजेटले ध्यान केन्द्र स्थल वरपर घेराबार गर्ने, सार्वजनिक शौचालय, हवन कुण्ड र पक्की पर्खाल निर्माण गरिएको छ । त्यसैगरी विमका वासिन्दाहरुले देश विदेशबाट पठाएको रु २५ लाख रकमबाट गोलघर (ध्यान केन्द्र)को निर्माण कार्य सम्पन्न भएको छ ।
“परापूर्वकालमा ऋषिमुनिहरुले प्रभुचेला धुरीमा तपस्या गरेर ज्ञान आर्जन गरेका विभिन्न अध्ययनबाट तथ्य पहिचान भएका छन् । यस क्षेत्रको संरक्षण, प्रवर्द्धनसँगै पूर्वाधार निर्माणलाई तीव्रता दिएका छौँ”, अध्यक्ष जुग्जालीले भन्नुभयो “यहाँ विसं १९७० देखि १९७५ सम्म स्वर्गद्वारी महाप्रभुका उत्तराधिकारी कपिलानन्द स्वामीले तपस्या गर्नुभएको थियो ।”
शान्त र एकान्त वातावरणमा रहेको यो स्थल प्राकृतिक दृश्यावलोकनका लागि समेत अत्यन्त उपयुक्त रहेको अवलोकनका लागि शनिवार यहाँ आउनुभएका दरबाङ बजारका भरत सुवेदीले बताउनुभयो । “शिरानमा मालिका भगवतीको निवासस्थल पवित्र मालिका धुरी, पुछारमा विम बराह ताल, विचमा रहेको प्रभुचेला धुरी आध्यात्मिक र प्राकृतिक दृष्टिकोणबाट मात्रै होइन पर्यटकीय महत्वले पनि युक्त छ” सुवेदीले भन्नुभयो ।
प्रभुचेला ध्यान केन्द्र व्यवस्थापन समितिका सचिव सुरमन गर्बुजाका अनुसार प्रवासमा रहेका बिमवासीले जुटाएको रु २५ लाखबाट गोलो आकारको ध्यान गर्ने भवन निर्माण अन्तिम चरणमा पुगेको छ । गोलघर भित्रै मञ्चको पनि व्यवस्था गरिएको छ । स्थानीय काठ, ढुङ्गा र माटोको प्रयोग गरेर निर्माण गरिएको गोलघरले नेपाली प्राचिन मौलिकतालाई पनि झल्काउने र पर्यटकहरुलाई पनि आकर्षित गर्ने किसिमले निर्माण गरिएको छ ।
“केही वर्ष अघिसम्म यहाँ स्थानीयवासीहरुले गाई भैंसी र भेडाबाख्रा राख्ने र चरिचरन गर्ने गर्दथे । त्यतिबेला यहाँको महत्व स्थानीयले बुझेका थिएनन्” प्रभुचेला धुरीमा भेटिनुभएका विमका ६९ वर्षिय तिलबहादुर जुग्जालीले भन्नुभयो “हामीले खाइ खेलेको र बालापन विताएको यो ठाउँ यतिधेरै महत्वको रहेछ ।”
यहाँबाट धवलागिरि र गुर्जा हिमशृङ्खला अवलोकन गर्न पाइन्छ । बिमको सेराङबाट प्रभुचेला धुरीसम्म सडक जोडिएको छ । मालिका गाउँपालिकाको रु पाँच लाख बजेटबाट उक्त सडक निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताउनुभयो। म्याग्दीको सदरमुकाम बेनीदेखि सवारीसाधनमार्फत करिव चारघण्टामा प्रभुचेला धुरीमा पुग्न सकिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच