✍️ देवकी गौतम
नारीवाद : झट्ट सुन्दा यो शब्दले महिलाले पुरुषमाथि गर्ने शासन व्यवस्था अथवा दमन भनेर बुझ्ने गरिन्छ । वास्तवमा नारीवादले पुरुषप्रधान समाजलाई चुनौती दिँदै महिलाको गरिमा, स्वतन्त्रता र अवसरको सुनिश्चितता प्रदान गर्ने प्रयास गर्दछ । यसको उद्देश्य महिला र पुरुषबीचको सामाजिक, आर्थिक र राजनीतिक समानता स्थापना गर्नु हो । सायद यसैले होला पढेलेखेका मैं हूँ भन्ने विद्वानहरूले पनि नारीवाद शब्दसँग अलि नाक खुम्च्याउने गरेको पाइन्छ । चलचित्रमा नारीवादको प्रसंग कोट्याउँदा आज विकसित भएको नेपाली चलचित्र क्षेत्रको पहिलो फिल्म आमा र पहिलो रंगीन फिल्म कुमारीको निर्माण गर्ने बेलामा शीर्षक चयनमा यही मानसिकताले काम गरेको थियो अथवा संजोगमात्र थियो यो एउटा उत्साहित खोजको पाटो हुन सक्दछ ।
विश्व चलचित्र बजारलाई हेर्दा सन् १९२६ मा रुसका चलचित्र कर्मी सर्जेइ आइन्स्टाइनले महिलाको मुख्य भूमिका रहेको ‘मद’ नामक फिल्म बनाएका थिए । त्यसैको असर स्वरूप भारतमा बलिउड चलचित्र कर्मी महबुब खानले सन् १९५७ मा चलचित्र ‘मदर इण्डिया’ बनाए । हामी सबैलाई थाहा छ कि त्यसपछि यो ट्रेण्ड नेपाल आइपुग्यो र वि. सं. २०२० सालमा ‘आमा’ शीर्षकको पहिलो नेपाली फिल्मको निर्माण भयो । नाम दाम कमाएको स्तरीय चलचित्रको नाम लिनुपर्दा आज पनि हामी माइतीघरको नाम लिन भुल्दैनौँ ।
चलचित्रमा नायक भन्ने बित्तिकै हृष्टपुष्ट पुरुष पात्रलाई झट्ट सम्झने गरेको हाम्रो सामाजिक मानसिकतालाई चिर्दै पछिल्लो समयमा नायक पुरुषमात्र हुँदैनन् भन्ने मान्यताको सुरुवात हुनु सुखद् पक्ष हो । यो मान्यताको सुरुवात गर्ने श्रेय केही हदसम्म नेपाली सिने जगतकी बोल्ड नायिका रेखा थापालाई जान्छ ।
अधिकांश चलचित्रमा पुरुषले क्रिया गर्दछन् भने, महिला प्रदर्शितमात्र हुन्छन् । पुरुष पात्रलाई सशक्त बनाउन र चलचित्रमा मसलाको रूपमा महिला पात्रलाई प्रयोग गरिएको हुन्छ । समाजमा पुरुष जति स्वतन्त्र हुन्छन् त्यही अनुपातमा महिला स्वतन्त्र हुन नसक्नुको प्रभाव फिल्ममा पनि देखिन्छ । माया प्रेममा बाहेक अन्य प्रसंगमा पुरुष पात्रकै निर्णय अन्तिम हुन्छ । अझ भनौं महिलालाई डान्स बारको घेराभित्र उध्रेको चोली, चोली छोटो भो जस्ता आइटम गानामा नर्तकीको रूपमा बढी प्रस्तुत गरिनेमात्र होइन दर्शकले पनि आँखा नझिमक्याई रुचाएर हेर्ने गरेको पाइँन्छ ।
प्रसिद्ध समाजशास्त्री लौरा मुल्बेले आफ्नो एक पुस्तकमा भनेका छन्-पर्दामा तिनले कति उत्तेजित बनाउँछिन् या तिनले के पस्किन्छिन् । तिनी मात्र एक हुन् जसले कि त नायकमा डर पैदा गर्छिन् वा प्रेमको भाव थप्छिन् । जसको कारण नायकको अभिनय सशक्त देखिन्छ । यही भनाइलाई हेर्ने हो भने पर्दामा महिला पात्रलाई पुरुषको सपनामा आउने, संघर्षमा आउने र द्वन्द्वको कारणको रूपमा प्रस्तुत गरिएको छ । उनै मुल्बेलाई फेरि एकपटक सुन्ने हो भने-सक्रिय पुरुषलाई सञ्चालन गर्न एउटा निष्क्रिय महिलाको क्रियापूर्ण सुन्दरता जरुरी छ । सायद यही मान्यताबाट प्रायजसो सिनेमाहरू निर्माण हुने गर्दछन् ।
भनिन्छ, चलचित्र खाली पानामा अक्षरहरू भरेर निर्माण सुरु गरिन्छ । ती खाली पानामा अक्षरहरू भर्ने पात्र अर्थात् फिल्ममा लेखक, निर्माता र निर्देशकको रूपमा सशक्त महिला नहुनु र भएका महिलाहरूले पनि आफ्नो उपस्थितिलाई सशक्त रूपमा अगाडि सार्न नसक्नु पनि सिनेमामा महिला पात्रमाथि गरिने अन्यायको अर्को महत्वपूर्ण कारण हुन सक्दछ ।
केही समयअघिसम्म महिलालाई शृंगारिक पात्रका रूपमा प्रस्तुत गर्ने गरिन्थ्यो । नेपाली सिने जगतको आधा शताब्दीको इतिहासमा चलचित्रमा नायक भन्ने बित्तिकै हृष्टपुष्ट पुरुष पात्रलाई झट्ट सम्झने गरेको हाम्रो सामाजिक मानसिकतालाई चिर्दै पछिल्लो समयमा नायक पुरुषमात्र हँुदैनन् भन्ने मान्यताको सुरुवात हुनु सुखद् पक्ष हो । यो मान्यताको सुरुवात गर्ने श्रेय केही हदसम्म नेपाली सिने जगतकी बोल्ड नायिका रेखा थापालाई जान्छ । पछिल्लो समयमा निर्माण भएका सिनेमाहरूमा विज्ञापनका लागि पोष्टरदेखि प्रचारसम्ममा समेत महिला पात्रलाई बोल्ड बनाएर प्रस्तुत गर्ने होडबाजी जस्तै चलेको छ ।
संस्कृतमा एउटा प्रचलित श्लोक छ-नारीणां गुणकथनं परमं श्रेयस्करं स्मृतम् । धर्मार्थकाममोक्षेषु नारीणां सह कार्यत । अर्थात् नारीका गुणहरूको वर्णन गर्नु परम श्रेयस्कर मानिन्छ । धर्म, अर्थ, काम र मोक्ष प्राप्तिका लागि नारीहरूको सहभागिता महत्वपूर्ण छ । यो श्लोकले भनेको जस्तै निर्माता/निर्देशकले आर्थिक मुनाफाका लागि मात्र महिला पात्रलाई शसक्त नायकको भूमिकाको रूपमा प्रस्तुत गरेका त होइनन् ? दैनिक घर व्यवहारमा गृहलक्ष्मी र कार्यालयमा स्मार्ट सहायकभन्दा माथिल्लो दर्जामा महिलालाई हेर्दा हाम्रो आँखा टट्टाउने यो समाजमा नेपाली चलचित्रमा पछिल्लो समयमा भने नारी पात्रलाई दर्शकले मज्जाले ताली पिटी पिटी रुचाएर हेर्ने गरेका छन् ।
‘घैँटोभित्र घाम लागे मात्र–आइमाईले संसार देख्न पाउँछन्’ नेपाली सिनेजगतले आज लगभग ५० वर्ष पार गरिसक्दा पनि सिनेमाभित्र महिला पात्रको अवस्था चलचित्र माइतिघरको यो डाइलगको अवस्थाभन्दा खासै पर पुग्न सकेको देख्न पाइएको छैन । ‘बत्तीमुनिको पिँध अँध्यारो हुन्छ’ तुलसी घिमिरेको चर्चित फिल्म दक्षिणामा बोलिएको डाइलग जस्तै समाजलाई सकारात्मक परिवर्तन गराउने, समाजको संवाहक रूपी कलाकारहरूले जबसम्म आफूलाई प्रज्ज्वलित गराएर समाजलाई उज्यालो प्रदान गर्ने साहस राख्दैनन् तबसम्म समाजमा परिवर्तनको उज्यालो किरण देखापर्न गाह्रो हुन्छ ।
हाल नेपाल सरकारले समान कामको समान ज्याला निर्धारण गरेको छ तर पनि श्रव्यदृश्यमा सशक्त भूमिका निर्वाह गरेर समाजलाई सकारात्मक सन्देश प्रदान गर्न सक्ने महिला पात्र स्क्रिनमा मात्र पछाडि छैनन् कामको ज्यालाको विषयमा अझ पनि तल्लो दर्जामा छन् ।
चलचित्र समाजको ऐना हो । यसका सकारात्मक पाटाहरूले समाजलाई सही दिशा प्रदान गर्न सहयोगी भूमिका खेल्दछ । जसरी रक्सी चुरोट सेवन गरेका फिल्मका दृश्यहरूमा धूम्रपान मद्यपान स्वास्थ्यका लागि हानिकारक छ भनेर लेख्ने गरिएको पाइन्छ जुन अत्यन्तै सकारात्मक कुरा हो । तर, श्रीमती कुटिरहेको दृश्य पर्दामा देखिँदाखेरि महिला हिंसा कानुनी रूपमा अपराध हो अथवा लैंगिक हिंसा निन्दनीय छ भनेर ब्यानरमा २/४ अक्षर लेख्नका लागि हामी किन कन्जुस्याइँ गरिरहेका छौँ ?
द सेन्टर फर द स्टडी अफ वुमन इन टेलिभिजनले केही समय अगाडि गरेको एक अध्ययनका अनुसार-अधिकांश चलेका चर्चित चलचित्रहरूमा प्रमुख पात्रको रूपमा २९ प्रतिशत चलचित्रमा महिला पात्रलाई प्रस्तुत गरिएको थियो । यही तथ्यलाई आधार मानेर विश्लेषण गर्दा महिला कलाकारको जीवन्त अभिनयको कारण चलचित्र क्षेत्रले महत्वपूर्ण फड्को मारेको छ भन्न गाह्रो मान्नु हुँदैन । लामो समयपछि नेपाली दर्शकहरूलाई हलसम्म तान्नका लागि नेपाली सिनेमाहरू पनि सफल हुन थालेका छन् तर गम्भीर भएर हेर्ने हो भने त्यही महिला कलाकारमाथि पारिश्रमिकलाई लिएर अत्यन्त ठूलो विभेद गरिएको छ । पछिल्लो समय विज्ञापनदेखि पोष्टर पम्पलेट र चलचित्रको बजारीकरणमा समेत महिलाको उपयोग गर्ने ट्रेण्ड बढेको छ तर नेपाली सिने जगतमा नाम चलेका महिला कलाकारहरू पनि पुरुष कलाकारको तुलनामा अत्यन्त कम पारिश्रमिकमा काम गर्न बाध्य छन् ।
हामी सानो छँदा गाउँघरतिर पुरुषले मलको डोको बोके १२ रुपैयाँ र त्यही मलको डोको महिलाले बोके ८-१० रुपैयाँ ज्याला दिने चलन थियो । मेरी आमाले समान कामको समान ज्याला दिनुपर्दछ भन्दै महिलालाई पनि १२ रुपैयाँ ज्याला दिएपछि ज्याला बढाएको भनेर गाउँभरिका साहुजन मानिसहरू मेरी आमासँग रिसाएका थिए तर आमाले प्रतिवाद गर्नुभयो । कामदार महिलाहरूले आमाको कुरामा खुशी भएर साथ दिएपछि गाउँमा १२ रुपैयाँ ज्यालाको सुरुवात भएको थियो । हाल नेपाल सरकारले पनि समान कामको समान ज्याला निर्धारण गरेको छ तर पनि श्रव्यदृश्यमा सशक्त भूमिका निर्वाह गरेर समाजलाई सकारात्म सन्देश प्रदान गर्नसक्ने महिला पात्र स्क्रिनमा मात्र पछाडि छैनन् कामको ज्यालाको विषयमा अझ पनि तल्लो दर्जामा छन् ।
पचास वर्षभन्दा लामो इतिहास भएको नेपाली सिनेजगतभित्र सामान्यतया पुरुष कलाकारको ज्याला १२-१५ लाख देखि सुरु भएको देखिन्छ भने महिला कलाकारको ज्याला २-४ लाखबाट मात्र सुरु भएको पाइन्छ । यहाँ राज्यको श्रम ऐनले किन काम गर्न नसकेको होला ? अरूलाई समाजको प्रतिबिम्ब देखाउने सिने जगतले आफूभित्रको यो असमानतालाई आत्मसात गरेर आफूलाई परिवर्तन गर्न जरुरी छ । तबमात्र समतामूलक समाज निर्माणमा नेपाली सिने जगतको भूमिकालाई मुक्त कण्ठले प्रशंसा गर्न सकिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच