विश्वकै दुर्लभ मानिएको कालीगण्डकीको शालिग्राम शिला अयोध्या लगेर भगवान् रामको प्रतिमा बनाइने

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 7 mins

म्याग्दी । भारतको उत्तर प्रदेशमा पर्ने फैजावाद जिल्लाको अयोध्यामा निर्माणाधिन राम मन्दिरमा राखिने भगवान् रामको प्रतिमा नेपालको कालीगण्डकी नदीमा मात्र पाइने शालिग्राम शिलाबाट निर्माण गरिने भएको छ ।

नेपालमा यही पुस ३ गते बसेको निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्री परिषदको वैठकले रामको प्रतिमा निर्माणका लागि प्रयोग गरिने शालिग्राम शिलाको खोजीका लागि स्वीकृत दिएपछि अहिले कालीगण्डकी नदीमा अयोध्या लैजानका लागि २ थान शिलाको खोजी भइरहेको छ । त्यसका लागि नेपाल सरकारको तर्फबाट सरकारी टोली म्याग्दीमा आएर कालीगण्डकी नदीमा शिलाको खोजि गरिरहेको छ ।

विश्वकै दुर्लभ मानिएको शालिग्राम शिला बेनी नगरपालिकाले जनकपुरधामस्थित जानकी मन्दिरलाई उपलब्ध गराउने छ भने त्यहाँबाट प्रक्रिया पूरा गरी अयोध्यामा लैजाने बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताउनु भयो ।

विश्वमै कालीगण्डकी नदीमा मात्र पाइने शालिग्राम शिलाको खोजी र उत्खनन्का लागि सरकारी निकायका प्रतिनिधि सहितको टोलीले कालीगण्डकीमा शिलाको खोजी गरिरहेको नगरप्रमुख केसीले जानकारी दिनुभयो।

मन्त्रालयबाट आएका प्राविधिक सहितको टोलीले म्याग्दी र कालिगण्डकी नदीको दोभानमा रहेको शालिग्रामको विशाल शिला छनोट गरेको थियो । तर, त्यो शिला निकाल्न सम्भव नभएपछि गलेश्वर आसपासका क्षेत्रबाट उत्खनन् गरिने केसीले बताउनु भयो । ‘विश्वमै बहुचर्चित अयोध्यामा निर्माणाधिन राम मन्दिरमा पुग्ने शिलाले बेनी नगरकै प्रचार–प्रसार हुन्छ,प्रदेश सरकारको अनुरोधमा खोजीमा सघाएका छौँ’ नगरप्रमुख केसीले भन्नुभयो । उत्खनन् गर्दा नदीबाट हुनसक्ने क्षतीका बारेमा समेत टोलीलाई सचेत बनाइएको मेयर केसीको भनाइ छ ।

शालिग्राम शिला बेनीको देभानदेखि गलेश्वर आसपासको कालीगण्डकी क्षेत्रबाट निकालिने उहाँले बताउनु भयो । तीनदशक अगाडिसम्म कालिगण्डकी नदीमा अत्याधिक पाइने शालिग्राम शिला अहिले सडक सञ्जालको विस्तार, नदीमै राखिएको क्रसर उद्योगको अवैध उत्खनन् लगायत विभिन्न किसिमका मानवीय र प्राकृतिक कारणले लोप हुँदै गएको छ । शालिग्रामलाई हिन्दू धर्मावलम्बीले विष्णुको अवतारका रुपमा पुज्ने गर्छन् । कालिगण्डकी नदीमा मात्र पाइने शालिग्राम हिन्दू धर्मावलम्बीका लागि निकै बहुमुल्य शिला भए पनि नदी दोहनका कारण शिला पाउन मुस्किल भएको टोलीका प्रतिनिधिहरुको भनाई छ । शालिग्राम शिला पाइने मुस्ताङ, म्याग्दी र पर्वत खण्डको नदी आसपासमा हुने अवैध उत्खनन् तिब्र छ ।

यसरी बन्यो शालिग्राम शिला अयोध्यामा लैजाने वातावरण

गत साउनमा अयोध्या भ्रमणमा गएका नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले अयोध्याको राम मन्दिर निर्माण समितिका अध्यक्ष नृपेन्द्र मिश्र, श्रीराम जन्मभूमि तीर्थ क्षेत्रका महामन्त्री चम्पत राय र भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालसँग भेट गर्नुभयो ।

आफ्नो अयोध्या भ्रमणको बारेमा जानकारी गराउँदै निधीले त्यहाँको निर्माणाधीन राम मन्दिरमा जनकपुरधामको जानकी मन्दिर तथा मिथिलाबासीको तर्फबाट धातुको धनुष नेपालमै निर्माण गरी राख्ने र राम मन्दिरमा राखिने रामको प्रतिमा नेपालको कालीगण्डकी क्षेत्रको शालिग्राम शिलाबाट निर्माण गर्ने प्रस्ताव राख्नुभयो ।

निर्माणाधीन राम मन्दिरमा जनकपुरधामको जानकी मन्दिरको तर्फबाट धनुष राख्ने रामको प्रतिमा नेपालको कालीगण्डकी क्षेत्रको शिलाबाट बनाउने निधिको प्रस्तावमा भारतीय पक्ष सहमत भयो ।

नेपाल फर्के पछि निधीले नेपाल सरकारलाई भारतीय पक्ष नेपालका दुवै प्रस्तावमा सहमति भएको जानकारी दिनुभयो । त्यसपछि पुस ३ गते बसेको तत्कालिन सरकारको मन्त्री परिषदको वैठकले कालीगण्डकी क्षेत्रमा मात्र पाइने दूर्लभ शालिग्राम उत्खनन् गरेर जनकपुरसम्म पु-याउने अनुमति दियो । त्यस लगत्तै सरकारी प्रतिनिधि सहितको टोली अयोध्या लैजाने शालिग्राम शिलाको खोजिका लागि म्याग्दीमा आएको हो ।

मन्त्रिपरिषदको निर्णयसँगै म्याग्दी कालीगण्डकी नदीमा मात्रै पाइने शालिग्राम शिलाको खोजी सुरू भएको हो । यहाँबाट शालिग्राम शिला जनकपुरधामस्थित जानकी मन्दिरमा लगिने भएको छ । जनकपुरबाट शालिग्राम शिला र धातुको धनुष सँगै अयोध्या लगिने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?