✍️ कलानिधि दाहाल
तीसको वय यो तिम्रो चकाचौध छ मर्करी
वासन्ती पहरामा झैँ फुलेका छौ सुनाखरी !
झरना झर्दछन् सङ्ला इन्द्रेणीमय माधुरी
कविता कविका जस्ता जनताका सुनाखरी !!
तिम्रो आँत प्रजातन्त्र प्रजाका तिमी आँतमा
स्वतन्त्रका तिमी सच्चा दैनिकका प्रभातमा !
राजनीति तिमी खुल्छौ शिक्षा अपार पारमा
साहित्यमा अझै धक्का जस्तो समुद्रज्वारमा !!
लहरा फैलिए जस्तै फैलिएर कता कता
नेपाली वनपाखाका चेतभित्र जतातता !
सभ्यताका सबै दीप ज्योतिज्वाला जलाउन
दिलका दिलरेसामा प्रेमप्याला पिलाउन !!
जन्मिदै टुक्टुकाएर भयौं मस्त जवानका
हुनुपर्छ अझै बास्ना चल्ने उद्यान फूलका !
जोशमा होसको हात पाउ संयमका चली
विपरीत भए कोही समको गरी खल्बली !!
उठ, फैल अझै लम्क दुर सुदूर मञ्जिल
विश्राम नगरी यात्रा प्रकाशपुर उज्वल !
अक्षरका सजाएर पाना पाना महानमा
घरदैला उघारेर प्रजातन्त्र बिहानमा !!
पक्षीका तनमा प्वाँख कलरव लिई ध्वनि
धरा धौम्य धमाकामा परे जीवनका मुनि !
समको गीत छम्केर शीत सौरभ सुन्दर
प्रकाश पुरका फाँट बन उर्वर उर्वर !!
उत्ताल तालमा ताल चाल विद्युतका चली
वासन्ती पालुवा प्यारा प्यारमा नै ढलीमली !
उदास चेहरा चम्क झर्ना अमृतका झरी
सप्तरंगी बनी पाउ चलाऊ बैँसकी परी !!
संयमी आँतले नित्य लुम्बिनी ओर्ल बुद्धको
जति बाधा झरून् ठेस बनाऊ शुद्ध शुद्धको !
यात्रा अनन्त आँखाले हिँड्नु पर्दछ अक्षर
विचार नुहुने बाला तला ताल सबै घर !!
उतुंग तुंगमा तुंग चेतना बमका झर
धुवाँ विनाशका नाश दियालो दिलमा भर !
पहाड उठ उफ्रेर ओढ तराई घाममा
उपत्यका तिमी राख हरेक नाम गाममा !!
कृतज्ञतासहित शुभकामना
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच