सर्वे भवन्तु सुखिनः
मान्छेका आधारभूत आवश्यक्ता भनेका खाना, नाना र आवास हुन् । यति तीनवटा कुरा राज्यले नपुर्याउने हो भने त्यो राज्यलाई राज्यका रूपमा आजको सभ्य विश्वमा रहन नदिए पनि हुन्छ । व्यक्ति र व्यक्ति समूहको अभिभावक बनेर राज्यको उत्पत्ति भएको हुनाले यसले यति दायित्व बोक्नैपर्छ । बस्नका लागि उपयुक्त घर होओस् । यो उपयुक्त भन्नाले स्थानीय सामग्रीलाई थोरै सुधार गरेर प्रयोग गरी बनाएको वातानुकूलित घर हो । घर भारी भड्कम भए भने साधारण मान्छेका लागि उपयुक्त हुँदैनन् । अमेरिकामा माटामुनिमात्रै रड, सिमेन्ट र इँट प्रयोग गरेर काठका घर बनाइन्छन् । ती घर सस्ता, राम्रा र उपयुक्त पनि रहेका मैले भेटेँ । बरू उनीहरूले समाजवादी सिद्धान्त अनुकूलका घर बनाएका रहेछन् ।
भिरालो परेको जमिन छ भने त्यसलाई खारेरसम्म बनाएर चिटिक्क परेका काठेघर जसलाई हामीले सिरकलाई खोल हाले झैँ प्रोफेक्सको खोल ओडाएर आकर्षक बनाइँदोरहेछ । हामी गरिब मुलुकका चाहिँ बडेमाका सौधघरमै बस्न विवश बनाइएछौं । हाम्रा शासक बेलायतका दास भएका हुनाले र भारतमा बेलायती उपनिवेश भएको हुनाले सस्तो किफायती र हलुका अनि सुविधातिर भन्दा फोस्रो ढाचा पार्न र प्रदर्शन गर्नतिर लागेछौं । यस कुरालाई विचार गरेको भए माटोलाई जोरन सामग्री बनाएर हामी पनि घर बनाउन सक्ने थियौं । लिस्याइलो माटाले आकार मिलेका ढुंगालाई च्यप्प समाउँथ्यो । बीच भागमा लस्करै तीनवटा बलिया काठका धुरी खाँबा पाँच हात जमिनमुनि गाडिएका र उत्तरदक्षिणतिर फेर खाँबा पनि तीन-तीनैवटा पाँच-पाँच हात जमिनमुनि गाड्दा धुरी खाँबाभन्दा दुई हात होचा बनाएपछि छानु करेली पर्दोरहेछ ।
नेपालको पर्वतीय भूभागमा पाइने अल्लो, सिस्नु, हर्रो, बर्रो, लोक्ता, फिर्रे, ओदाल, भोर्लो, बाबियो, सालिम्मो खेती गरेर औद्योगिक उपयोगमा ध्यान दिने हो भने, खेतीयोग्य जमिनलाई चक्लाबन्दी गरेर खेतीहर किसानलाई जमिनको मालिक बनाउने काम गरे आज पनि नेपाल खाद्यान्न निकासी गर्नसक्ने मुलुकमा रूपान्तरित हुनसक्छ ।
थाकल, ढाल्नेका सेउला र सालिम्मो नामका खरले छाउँदा पनि पानी सलल बगेर बलेसीमा झर्ने हुँदो रहेछ । पाग्री या घुमाउने नामका ती घरमा धुरीदेखि तलसम्म लामा दुवै छानामा भ्याल्सी प्रयोग गरेर बनाएका नेपाली घर पनि भावर प्रदेश कमला खुँज, झार्लाङटार भीमथानतिर मैले देखेको थिएँ । भ्याल्सीले डाँडा र डाँडाले भाटालाई थेग्दोरहेछ । यस प्रकारको घरको भुइँ तलामा ढुंगामाटाको गारो लाएर मूल ओछयान, त्यसै छेउमा अँगेनु अँगेनामाथि सरङ राख्ने जाल, मझेरी, लिस्नु र त्यसका छेउमा गग्रेटो, बीचमा आँट, अनि भान्सा र भान्सामाथि दियोघर बनाएर पूर्वमूल ढोका, दक्षिण जस्केलो र पश्चिमतिर सहायक ढोका बनाउने चलन हाम्रो पनि त रहेछ ।
घरको वरिपरि पेटी जसमा पाली गाँसेर सिँयाल ताप्ने, हावा खाने र घाम ताप्ने काम गरिँदोरहेछ । यस प्रकारले बनेका घर हुरी बतासबाट पनि नउड्ने, भुइँचालाले पनि लडाउन नसक्ने हुनेरहेछन् उडाइ भत्काइहाले पनि हलुका सामग्रीका कारणले मानवीय क्षति हुँदोरहेनछ । भइहाले पनि अत्यन्त न्यून । अहिले पनि खुँजतिर यसरी बनाइएका घर केही देख्न पाइन्छन् । मैले प्रा.डा.जीवराज पोखरेलले बनाएका आगो नलाग्ने घर तथा भूकम्प धान्ने घरका नमुना पनि हेरेँ तीभन्दा यो हाम्रो पारम्परित शैलीका घर नै सुविधायुक्त र बलिया पनि होलान् भन्ने लाग्यो मलाई ।
घरका गाराका ठाउँठाउँमा खडप्वाल, खोपा र झ्याल हुने भएका हुनाले र आज पाइने सुधारिएको चुलो बाल्दा त स्वर्गीय घर हुनेरहेछन् । चीन, बेलायत र अमेरिका गएर पढेका इन्जिनियरभन्दा गाउँघरका सिकर्मी डकर्मीलाई प्रा.डा.जीवराज पोखरेल जस्ता इन्जिनियरले अलिकति सिकाएर सुधारे वातानुकूलित घर बनाउन सकिनेरहेछ । यतातिर बीपीले सोचेर नै सानो वातानुकूलित घरको कुरो गरेका रहेछन् जस्तो मलाई लागेको छ ।
सर्वे सन्तु निरामयाः
धूमरहित घर, गाईभैंसी र बाख्राका मलमूत्रको मल हालेर उब्जाएको शुद्ध सफा र पोषण गुणले भरिएको खाद्यान्नका कारणले मान्छे निरोगी हुनेथिए । हाम्रा शासक हीन मतिका भएका कारणले बेलायतको कंक्रिट ढलाने शैलीका घर बनाउने प्रथामा मान्छेलाई फसाएर अधरमरा बनाएका छन् । पहाड र हिमाली प्रदेशमा पनि त्यहीँका काठपात प्रयोग गरेर भूकम्पले धेरै नोक्सान नगर्ने घर पनि बनाउन सकिन्छ । अन्न पनि पोषणकारी उब्जाउन सकिन्छ । हाम्रा विश्ववद्यिालयका पठ्यक्रम नै देश, देशको वातावरण, संस्कार संस्कृति अनुकूल हामीले बनाउन सकेनौं । या शासकवर्गको ध्यान यता गएन र बौद्धिक समुदाय पनि मौलिक चिन्तनतिर भन्दा लर्ड मेकाले पढेर घोकन्ते पाठ्यक्रम निर्माण गर्नतिरै लागे ।
एकातिर हेनरी फोर्डको विकास मोडेल र लर्डमेकाले शिक्षा योजनाले आज हामी एक पाखो डढेलाले खाएर एक पाखाको माटो पहिरो लडेर किक्रिक्क परेर रहेको रूख या बोटजस्तो जीवन जिउन विवश पारिएका छौं । जहाँको दुवाली उहीँको चपरीको सिद्धान्तका पक्षमा थिए बिपी त्यसैले आयात गर्नेमा भन्दा उत्पादन गर्ने कुरामा उनले जोड दिएका कुरालाई उनले भनेको एक लिटर दूध समानताका नाममा एकेक चम्चा बाँड्नु भनेको सामग्रीको दुरुपयोग हो भने उत्पादक्तव बढाएर सबैलाई एकेक लिटर दिनसक्ने राज्य बनाउनु चाहिँ समाजवादको लक्ष्य हो भनेका थिए । आज नेपालमा खेतीयोग्य जमिन कंक्रिट चट्टानले भरिन थालेका छन् । वन त्यसैगरी डोजरे विकास र बस्ती विकासका नाममा समाप्तीकृत हुनलागेका छन् ।
नेपालको पर्वतीय भूभागमा पाइने अल्लो, सिस्नु, हर्रो, बर्रो, लोक्ता, फिर्रे, ओदाल, भोर्लो, बाबियो, सालिम्मो खेती गरेर औद्योगिक उपयोगमा ध्यान दिने हो भने, खेतीयोग्य जमिनलाई चक्लाबन्दी गरेर खेतीहर किसानलाई जमिनको मालिक बनाउने काम गरे आज पनि नेपाल खाद्यान्न निकासी गर्नसक्ने मुलुकमा रूपान्तरित हुनसक्छ । नेपालको भूबनावट अनुसार बडेमाका फराकिला अलकत्रे सडकभन्दा मध्यमतहका खण्डास्मिथ सडक भए र कुलेसो राम्ररी बनाएर शताब्दीयौंदेखि बोटबिरुवाका जराले बाँधेको माटो नखल्बल्याइकन विकास निर्माणका काम गर्ने हो भने नेपालको मध्यपहाडी र हिमाली भू-भागमा अलकत्रे सडक बनाएर नचाहिँदो फुर्ति प्रदर्शन गर्नैपर्दैन ।
जमिनको अवस्था अनुसार प्राकृत चट्टानीभूत जमिनलाई सामान्य सम्याएर नाला बनाउने, गरेर ढुंगोमाटो र बोटबिरुवा नचलाईकन धेरै ठाउँमा बाटो बनाउन सकिने स्थितिको अध्ययन बेगरै डोजर लाएर पहाड भत्काउने पुरुषार्थ प्रदर्शन गर्नाले रोसी, कोसी बहुलाए । पहाडको ढुङ्गोमाटो सकिएका कारणले । यी सबै कुराको उदाहरणबाट पनि स्थानीयताको संरक्षण र प्रबद्र्धनमा बिपीले जोडदिएको कुरो सही रहेछ भन्न सकिन्छ । समाजतिर नफर्केसम्म प्रकृतिमैत्री जीवन बन्दैन ।
सर्वे भद्रणि पश्यन्तु
सबैले कल्याणकारी जीवन जिउन र भोग्नका लागि जुन स्थानमा जे छ त्यसको उपयोग, संरक्षण र विकास नै एकमात्र उपाय हो । लंकामा भएका सुनको कल्पना गरेर कान छामेर कोही पनि सुखी हुँदैन । सानासाना कुरामा अपार आनन्द लुकेर बसेको हुन्छ । सबैले भद्र कुरो भोग्न पाउनु भनेको पनि योजना र कार्यमा निभर रहने कुरो नै हो । बचत र कमाइका बीचको सन्तुलन भएन भने पनि मानवले कल्याणकारी कुरो देख्न र भोग्न पाउँदैन व्यक्तिले जति कमाउँछ त्यसबाट केही बचत गर्ने बानी बसाल्न हाम्रा पुर्खाले मुठीदानको प्रथा चलाएका थिए । प्रत्येक घरघरमा बिहान बेलुका घरका जहानलगायत परपाहुनाका लागि सामल अडकल्दा नै त्यसबाट एक मुठी झिकेर एउटा भाँडामा राख्दथे र त्यसको महिना सप्ताहपछि सम्बद्ध व्यक्ति संस्था आदिले उपयोग गर्दथे ।
कतिपय खान नपुग्ने गरिबलाई दिनका लागि पनि यो कोषको उपयोग हुन्थ्यो । उत्तर वैदिक कालमा धान पाकेपछि एक वर्षका लागि छानिएका राजाको आदेश अनुसार अतिथि र गरिबगुरुवाका लागि सहकारी अन्नकोषको व्यवस्था हुन्थ्यो । कोही आए खान नपाउने भने त्यसै भकारीबाट ग्रामणीले दिन्थे उत्तर वैदिक कालमा गाई र कृषि नै धन थिए । मुद्राको प्रचलन आरम्भ भएको थिएन । त्यसबेला स्थानीय सरसामग्रीको संरक्षण, प्रवद्र्धन र उपयोग अति धेरै हुनेगरेका तथ्य भेटिन्छन् । भन्न सकिन्न सुमेकरले पूर्वको यो प्रथा परम्परा पढेर सानो राम्रो भनेका थिए या उनको मौलिक चिन्तन थियो ? भामहका काव्य चिन्तन र अरस्तु या जर्ज लुकाजका काव्य चिन्तन मिलेजस्तै छ यो पनि ।
जे होस् हाम्रै वैदिक परम्पराको कुरो सुमेकरले गरेका रहेछन् र बीपीले त्यसलाई मन पराएका थिए । विष्णुगुप्त चाणक्यले पनि राज्यले कर संग्रह गर्दा फल व्यापारीले जसरी बोटमा पाकेका या पाक्न लागेका र अधपक्कु फल टिपेर काँचा कलिला फललाई छिप्पिन र पाक्नका लागि बोटैमा छाड्छ त्यसैगरी राज्यले नसक्नेलाई सहयोग गर्ने र सक्नेबाट बत्तीका सलेदाले तेल शोषे झैँ प्रत्यक्ष शोषेको चाल नपाउने गरी लिनुपर्छ भनेका छन् । वैयक्तिक स्वतन्त्रता र आर्थिक उपार्जनमा तीव्रउन्नति नै बीपीको प्रजातान्त्रिक समाजवादको आर्थिक कार्यक्रमसँग चाणक्यका सप्तंगी राज्यका कुरा निकै मिलेका देखिन्छन् ।
विष्णुगुप्त चाणक्य भन्दा २,२०० वर्षपछि यस भू-भागमा फेरि त्यस्तै उद्भट चिन्तकका रूपमा बीपी आएछन् पनि भन्न सकिन्छ । यसै कारण बीपीले घर कसको ? भन्दा पोत्नेको । र जमिन कसको ? भन्दा जोत्नेको भनेका थिए ।
गीताले भनेको दर्शनका आधारमा आत्मालाई अजरामर मानेरभन्दा विष्णुगुप्त चाणक्य भन्दा २,२०० वर्षपछि यस भूभागमा फेरि त्यस्तै उद्भट चिन्तकका रूपमा बीपी आएछन् पनि भन्न सकिन्छ । यसै कारण बीपीले घर कसको ? भन्दा पोत्नेको । र जमिन कसको ? भन्दा जोत्नेको भनेका थिए । जुन दिनसम्म पोत्नेका स्वामित्वमा घर र जोत्नेका स्वामित्वमा जमिन हुँदैन त्यस दिनसम्म प्रजातान्त्रिक समाजवादको कल्पना शशकशृंगबत् हुन्छ भन्ने कुरो अबका कांग्रेस सभापतिले बुझेर कदम चाल्नु आवश्यक छ ।
मा कश्चिद् दुःखभाग्भवेत्
गोरखामा पृथ्वीनारायण शाहको जन्मघरभन्दा अलि तल राम शाहको चौतारो छ । यिनी पृथ्वीनारायणका पनि पुर्खा थिए । उनी राजा भएका बेलामा आफ्ना राज्यमा बसेका सबैले खान पाए कि पाएका छैनन् भनेर त्यो चौतारामा आएर हरेक घरको धुरी नियाल्थे रे । यदि कुनै घरका धुरीबाट धुवाँ निक्लेको देखिएन भने दूत पठाएर कारण जानेपछि मात्रै आफू भान्सा गर्न बस्थे रे । अरूले दिएका कोट छवटा भए छन् । ६–६ वटा कोट मलाई के काम ? लाओ तिमीहरू पनि कोट लाओ भनेर सुरक्षागार्डका कमाण्डरलाई पाँचवटा कोट उपहार दिने बीपी कोइराला र सबै सुख खोज्छन् त्यो सुख कहाँ हुन्छ भनेर प्रश्न गर्ने साधारण जनसमुदायलाई ‘आफू मिटाई अरूलाई दिनु जहाँ छ’ भन्ने महाकवि लक्ष्मीप्रसाद देवकोटा पनि त यसै देशका स्रष्टा थिए नि ।
स्रष्टाका रूपमा मान्छे अनेक थरीका हुन्छन् ‘ठूलो मान्छे होइन असल मान्छे बन’ भनेर मोदीआइनका मुखबाट मानवजातिलाई बीपीले असल बन्ने सन्देश दिएका थिए । आज कम्बोडियामा लगानी गरेको तथ्य बाहिर आउँदा मेरो सही मिलेको छैन भनेर डोकाले छोपिने प्रयत्न गर्ने पनि प्रधानमन्त्री उपहारमा आएका कोट आफूलाई एउटा राखेर पाँचवटा सुरक्षागार्डलाई उपहार दिने पनि यसै देशका प्रधानमन्त्री थिए ।
अतः नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट राजाको दरबारबाट निक्लेको बाटो गरिबका झुप्रामा पुगेर आँगनमा टुंगिने र झुप्राबाट निक्लेको गरिबका घरबाट आरम्भ भएको गोरेटो राजद्वारमा पुगेर अडिने समाजको स्वरूप निर्माण मेरो लक्ष्य हो भन्ने बीपी जस्ता नेताको आदर्श बोकेर गाउँ, शहर, घरघर पुगेर पनि नवप्रवर्तन र नव काँचुली फेराइको स्वप्निल संघर्षको सन्देश लिएर आएका डा.शेखर कोइरालाका पक्षमा प्रजातन्त्रको सुरुचिपूर्ण अनुहार हेर्न चाहने प्रजातन्त्रवादी नेपाली उभिन सक्नुपर्दछ । अनिमात्र कोही दुःखी नहुने सबैले आ-आफ्नो योग्यता र काम अनुसारको दाम र माम पाउने अवस्था सिर्जना गर्न मुलुक अघि बढेको देख्न पाइनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच