
काठमाडौं । नेपालमा सञ्चालित अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) स्थगित भएको छ । जनवरी २० मा राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको कार्यकारी आदेशसँगै नेपालमा एमसिसीका परियोजना स्थगित भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । यसअघि अर्थ मन्त्रालयले एमसिसी प्रभावित नहुने भनेर औपचारिक रूपमा सूचना जारी गरेको थियो । अहिले आफ्नै सूचनालाई काट्दै उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलको सचिवालयले तीन महिनाका लागि एमसिसी नेपाल कार्यक्रम पनि स्थगित भएको औपचारिक जानकारी दिएको छ ।
अर्थ मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरेर अमेरिकी सहायता सञ्चालित एमसिसी परियोजना ९० दिनका लागि स्थगित भएको जानकारी दिएको छ । ‘अमेरिकी सहायता संस्था एमसिसीले फागुन २ मा पठाएको इमेलमा नेपाल सरकार र उक्त निकायबीच २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्टअन्तर्गत कार्यान्वयन भइरहेका आयोजनासँग सम्बन्धित एमसिसी कोषबाट भुक्तानी हुने क्रियाकलापहरू अमेरिकी राष्ट्रपतिको २० जनवरी २०२५ मा जारी ९० दिनको स्थगनसम्बन्धी कार्यकारी आदेशानुसार रोकिएको व्यहोरा सरोकारवालालाई जानकारी गराइन्छ,’ अर्थमन्त्री पौडेलको सचिवालयद्वारा जारी सूचनामा भनिएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले २० जनवरीमा शपथ लिएसँगै वैदेशिक सहायता ९० दिनका लागि निलम्बन गर्नेसम्बन्धी कार्यकारी आदेश जारी गरेको थियो । सो आदेशससँगै अमेरिकी सरकारको सहयोगमा सञ्चालित नेपालका सबै परियोजनाहरू स्थगित भएका छन् ।
एमसिसी सम्झौतामा के छ ?
सरकारले संसद्मा प्रस्तुत गरेको चालु आर्थिक वर्षको पहिलो ६ महिनाको विवरणअनुसार मिलेनियम च्यालेञ्ज कर्पोरेसन अन्तर्गतको कार्यक्रममा विनियोजित बजेटको जम्मा आठ प्रतिशत बजेट खर्च भएको देखिन्छ । उसो त एमसिसीको सञ्चालक समितिले गत पुसमा नेपाल कम्प्याक्टका लागि ५० करोडमा थप पाँच करोड अमेरिकी डलर सहयोग स्वीकृत गरेको थियो । यसले कम्प्याक्टको कुल बजेटलाई ७४७ मिलियन अमेरिकी डलरसम्म पुर्याउने नेपालस्थित अमेरिकी दूतावासको भनाइ थियो । सम्झौतामा विद्युत् प्रसारण लाइन निर्माण तथा सडक मर्मतसम्भार समेटिएको छ । सम्झौतादेखि पाँच वर्षको अवधिमा मिलिनियम च्यालेन्ज एकाउन्ट नेपालले ७४.७ करोड अमेरिकी डलर अर्थात् ९२ अर्ब रुपैयाँ बराबर खर्च गर्नुपर्ने थियो । जसमा अमेरिकी सरकारले कुल ५५ करोड अमेरिकी डलर अनुदान र १९.७ करोड डलर नेपाल सरकारले लगानी हुनुपर्छ । एमसिसीमा विद्युत् प्रसारण लाइन निर्माणका लागि ५८.२४ अर्ब रुपैयाँ र सडक सुधारको लागि ५.४९ करोड डलर खर्च गर्ने गरी काम भइरहेको थियो । यी सबै आयोजना मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसीए-नेपाल)ले अगाडि बढाइरहेको थियो ।
काठमाडौंको उत्तरपूर्व अवस्थित लप्सीफेदीबाट काठमाडौंको पश्चिममा रहेको नुवाकोटको रातमाटेसम्मको खण्ड, रातमाटेबाट हेटौँडासम्मको खण्ड, रातमाटेबाट दमौलीसम्मको खण्ड, दमौलीबाट बुटवलसम्मको खण्ड र बुटवलबाट भारतको सिमानासम्मको खण्डमा चार सय केभी क्षमताका प्रसारण लाइन बनाइनेछ । रातमाटे, दमौली र बुटवलमा तीनवटा सबस्टेसन बन्नेछन् । सडकतर्फ पूर्व-पश्चिम राजमार्गको कपिलवस्तु चन्द्रौटाबाट लमही हुँदै बाँके र दाङमा पर्ने शिवखोलासम्म ३०५ किलोमिटर स्तरोन्नतिमा करिब ५.२ करोड डलर खर्च गरिनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच