
सामाजिक सुरक्षाका नाममा ज्येष्ठ नागरिकलाई वितरण हुने ज्येष्ठ नागरिक भत्ता किन दिने ? यसको परिभाषाभित्र विपन्नता नै अनिवार्य शर्त हुनुपर्छ । यो विपन्न र सम्पन्न वर्गको विभेदले उत्पन्न समस्या भएकाले यसको समाधानमा विभेदकारी उपायको अवलम्बन अपरिहार्य छ । ज्येष्ठ नागरिकलाई दुई वर्गमा विभाजित गरेर यसको समाधान विपन्न वर्गलाई आर्थिक लाभ दिनु एकमात्र ध्येय हुनुपर्छ । सरकारका सम्पूर्ण कामकारबाहीमा सकारात्मक/नकारात्मक प्रभाव के-के हुनसक्छन् भन्ने विषयमा पूर्वअध्ययन जरुरी हुन्छ । ज्येष्ठ नागरिक भत्तामात्रै भन्ने हो भने त्यस भत्ताको दाबेदार सबै ज्येष्ठ नागरिक हुन्छन् । तर, राज्यको ज्येष्ठ नागरिक भत्तासम्बन्धी लक्ष्य सबै ज्येष्ठ नागरिकलाई ज्येष्ठ नागरिक भत्ता वितरण गर्ने नीति पक्कै नहुनुपर्छ ।
ज्येष्ठ नागरिक भत्ताको अर्थ हो विपन्न ज्येष्ठ नागरिक भत्ता । नेपाल जस्तो गरिब देशले सबै ज्येष्ठ नागरिकलाई भत्ता दिन किमार्थ सम्भव छैन । यो देशको ढुकुटीले धान्न सक्दैन । निर्णयको प्रभाव-मूल्यांकन जुन देशमा हँुदैन त्यहाँ साधनस्रोतको दुरुपयोगको उच्च सम्भावना हुन्छ । सरकारको ढुकुटीबाट हुने खर्चका शीर्षक के ठीक छन् भन्ने विषयमा निर्णायक तहमा रहने जिम्मेवार सधैं चनाखो हुनुपर्छ । हचुवाका भरमा यदि राज्यको ढुकुटी खर्च गर्ने परिपाटी बस्यो भने खर्च गर्नुपर्ने ठाउँमा खर्च नगर्ने र खर्च नहुनुपर्ने शीर्षकमा यदि खर्च भयो भने त्यो कुशासनको लक्षण हो । तसर्थ निर्यण गर्ने सबै जिम्मेवारले के मेरो निर्णयले जनता र देशको अहित त हुँदैन भन्ने प्रश्न महत्वपूर्ण हुन्छ ।
ज्येष्ठ नागरिक भत्ता वितरण यदि आर्थिक रूपमा कमजोर ज्येष्ठ नागरिकलाई मात्रै दिने हो भने यसलाई विपन्न ज्येष्ठ नागरिक भत्ता भन्ने नामकरण हुनुपर्छ । विपन्न ज्येष्ठ नागरिकको पहिचान गरेर ज्येष्ठ नागरिक तर विपन्न ज्येष्ठ नागरिकलाई मात्रै उक्त भत्ता वितरण गर्ने व्यवस्था नहुँदासम्म सामाजिक न्याय कसरी हुन्छ ?
नेपाल सरकारबाट वितरण हुँदै आएका विविध भत्तामध्ये ज्येष्ठ नागरिक भत्ता प्राप्त गर्नेहरूको संख्या उल्लेख्य छ । भत्ताको ध्येय विपन्न ज्येष्ठ नागरिकलाई आर्थिक राहत दिने हो । उमेर ६८ पुग्ने बित्तिकै हचुवाको भरमा सबैलाई भत्ता दिने परिपाटी यसको ध्येयविपरीत हुन्छ । ज्येष्ठ नागरिक भत्ता के उमेरलाई मात्रै आधार मानेर दिने विषय ठीक हो ? यो भत्ताको आवश्यकता विपन्न ज्येष्ठ नागरिकलाई छ । तसर्थ सो भत्ताको दाबेदार विपन्न ज्येष्ठ नागरिकमात्रै हुनुपर्छ नकि सबै ज्येष्ठ नागरिक । ज्येष्ठ नागरिक भत्ता लिने योग्यता फगत उमेर पुगेका सबैलाई दिने कि सो उमेर समूहका विपन्न ज्येष्ठ नागरिकलाई मात्र दिने ?
सामाजिक भत्ताका नाममा सम्पन्न ज्येष्ठ नागरिकलाई समेत भत्ता वितरण गर्नु सर्वथा गलत हो । भत्ता आर्थिक विपन्न ज्येष्ठ नागरिकले मात्रै पाउनुपर्ने हो नकि सबै ज्येष्ठ नागरिकले । तसर्थ आर्थिक रूपमा कमजोर ज्येष्ठ नागरिकहरूलाई मात्रै दिने हो भने यसलाई विपन्न ज्येष्ठ नागरिक भत्ता भन्ने नामकरण हुनुपर्छ । विपन्न ज्येष्ठ नागरिकको पहिचान गरेर ज्येष्ठ नागरिकलाई मात्रै सो भत्ता वितरण गर्ने व्यवस्था नहुँदासम्म सामाजिक न्याय कसरी हुन्छ ? यो भत्ता प्राप्त गर्ने आधार उमेरलाई मात्रै बनाउँदा सामाजिक न्यायको उपहास भएको छ । यो पद्धति नै गलत छ ।
त्यसलाई सच्याउनुको विकल्प छैन । व्यक्तिको उमेरका कारणमात्र भत्ताको दाबेदार बन्ने वर्तमान व्यवस्था खारेज हुनुपर्छ । ज्येष्ठ नागरिक भत्ता पाउन उसको उमेर ६८ र ऊ विपन्नसमेत हुन अनिवार्य हुनुपर्छ । यो सुविधा लिने व्यक्ति वृद्ध र विपन्न दुवै हुनुपर्छ । यदि उमेरलाई मात्रै आधार मान्ने हो भने त्यो उमेर समूहका सबैलाई किन नदिने ? लाखौं लाखको मासिक आम्दानी हुनेहरूलाई समेत उमेरको आधारमा ज्येष्ठ नागरिक भत्ता यदि दिने हो भने निवृत्तिभरणको सीमित आयले मात्रै कठिनाइका साथ एनकेन गुजारा गर्नेलाई ज्येष्ठ नागरिक भत्ता किन नदिने ?
विदेशका सरकार वा विदेशी संस्थाबाट पेन्सन खानेले ज्येष्ठ नागरिक भत्ता बुझ्न गैरकानुनी नहुने तर नेपाल सरकार वा नेपालभित्रका अन्य संघसंस्थाबाट पेन्सन प्राप्त गर्नेहरू भने ज्येष्ठ नागरिक भत्ता लिन किन अयोग्य हुने ? विभेदको पनि हद हुन्छ । राष्ट्रको ढुकुटीबाट हुने जुनसुकै खर्चको औचित्य पुष्टि हुनुपर्छ । जहाँसम्म ज्येष्ठ नागरिक भत्ताको सबाल छ आर्थिक रूपमा विपन्न ज्येष्ठ नागरिकलाई मात्र दिनुपर्ने हो । उमेरलाई मात्रै आधार मानेर ज्येष्ठ नागरिक भत्ता दिँदा त्यो धनराशि न गाईको थुनमा न बाच्छाको मुखमा भन्ने उखान चरितार्थ भएको छ । भत्ताको लक्ष्य ज्येष्ठ नागरिकको सहारा सरकार बन्नुपर्छ भन्ने हो, सबै ज्येष्ठ नागरिकलाई समान दरमा भत्ता वितरण गर्ने भन्ने ?
हाम्रो समाजमा नैतिकताको र इमानदारीको खडेरी राजनीतिमा मात्रै नभएर यत्रतत्र सर्वत्र छ भन्ने विषयलाई यो भत्ताले प्रमाणित गरेको छ । यहाँ सम्भ्रान्तसमेतले ज्येष्ठ नागरिक भत्ता बुझ्छन् । किनकि, ज्येष्ठ नागरिकहरूको सहारा बन्ने सरकारको लक्ष्य नराम्रो होइन । आर्थिक रूपमा असहाय अर्थात् विपन्न वर्गको अभिभावक सरकार हुनैपर्छ । तर, उमेरको मात्रै आधार हुँदा सम्पन्नको हातमा अधिकांश हिस्सा जान्छ । ढुकुटीबाट ज्येष्ठ नागरिकमा हुने खर्च, आर्थिक रूपमा विपन्न वृद्धमात्रै लाभग्राही हुनुपर्छ नकि सबै ज्येष्ठ नागरिक ।
हाम्रो समाजसँग इमानदारी र नैतिकता भएको भए मासिक लाखौंको आम्दानी हुनेसमेतले राज्यले विपन्न वृद्धको सहारा बन्ने उद्देश्यले वितरण हुने वृद्धभत्ता धनाढ्य वृद्धले लिनु नपर्ने तर यहाँ राज्यले वृद्ध तर आर्थिक रूपमा विपन्नलाई लक्षित गरेर वितरण गरेको वृद्धभत्ता म, हामी विपन्न होइनौं त्यसैले लिनु हुँदैन भन्ने नैतिकता र चेतना नदेखिनु लज्जास्पद विषय हो । मैले अष्ट्रेलिया भ्रमणको क्रममा ८०÷९० वर्षका वृद्धहरूले सपिङमलमा काम गरेको देखेँ ।
केही वृद्धहरूसँग मेरो अन्तर सम्वाद पनि भयो । तपाईंको सरकारले वृद्धहरूलाई बसेर खान वृद्धभत्ता दिएको छ कि ? तपाईं यो उमेरमा पनि काम गर्नुहुन्छ भनेर सोध्दा एकजना वृद्धले के जवाफ दिए भने म अझै स्वस्थ छु । म काम गरेर आफ्नै कमाइमा बाँच्न सक्छु सरकारले दिने भत्ता मैले किन लिने ? मसँग आत्मनिर्भर हुनसक्ने शारीरिक सामथ्र्य छ भने किन परनिर्भर हुन्छु भन्ने उत्तर आयो । वृद्धभत्ता आर्थिक रूपमा अशक्तहरूका लागि हो जोसँग बाँच्ने अन्य उपाय छैनन् । हामीले ६८ वर्ष पुग्ने बित्तिकै देशका धनाठ्य वृद्धलाई समेत ज्येष्ठ नागरिक भत्ता वितरण गर्नु वृद्धभत्ताको धर्म र मर्मविपरीत छ ।
भत्ता जसलाई जीवन धान्न जरुरी छ त्यसले मात्र वृद्धभत्ता पाउनुपर्छ नकि सबै वृद्धले । सत्ता र शक्तिमा हुनेले जताभावी खर्च गर्न हुने र पुग्ने ज्येष्ठ नागरिकलाई सजिलोसँग जीवन धान्ने, औषधोपचार आदिको खर्चको समुचित व्यवस्था गर्न किन नपुग्ने ?
सरकारले अविलम्ब पुनर्विचार गरेर सच्याउन जरुरी छ । सरकारले दिने ज्येष्ठ नागरिक भत्ता ती वृद्धका लागि हो, जो शारीरिक रूपमा श्रम गरेर बाँच्न सक्दैनन् र आफ्नो आयले जीवन निर्वाह गर्न पुग्दैन । सरकारले दिएको ज्येष्ठ नागरिक भत्ता विपन्न ज्येष्ठ नागरिकलाई हो भन्ने जान्दाजान्दै सम्पन ज्येष्ठ नागरिकले भत्ता बुझ्नु अनैतिकता हो । सरकारले लक्षित वर्गले मात्रै पाउने व्यवस्था गर्नुपर्छ । सरकारले दिएको वृद्धभत्ता विपन्न समुदायमा सीमित हुनुपर्छ जसलाई त्यो भत्ताबाहेक अन्य आधार छैन । वितरण हुँदै आएको ज्येष्ठ नागरिक भत्तामा पुनर्विचार गर्ने हो भने ७० प्रतिशत भन्दा बढी ज्येष्ठ नागरिक सम्पन्न ज्येष्ठ नागरिकभित्र पर्दछन् । जसलाई वृद्धभत्ताको आवश्यकता छैन, तिनीहरूलाई वृद्धभत्ता वितरण गरेर राज्यले ढुकुटीको चरम दुरुपयोग गरेको छ । त्यसैले त्यो वृद्धभत्ता पाउने आधार उमेर होइन विपन्नता हुनुपर्छ ।
भत्ता जसलाई जीवन धान्न जरुरी छ त्यसले मात्र वृद्धभत्ता पाउनुपर्छ, सबै वृद्धले । सत्ता र शक्तिमा हुनेले जताभावी खर्च गर्न हुने, पुग्ने ज्येष्ठ नागरिकलाई सजिलोसँग जीवन धान्ने, औषधोपचार आदिको खर्चको समुचित व्यवस्था गर्न किन नपुग्ने ? सरकारले गर्दै आएको फजुल खर्चलाई कटौती गर्ने र सरकार यदि मितव्ययी हुने हो भने यस्ता लोककल्याणकारी शीर्षकमा खर्च गर्न किन पुग्दैन ? एकपटक राष्ट्रपति भयो भने उसको सबै खर्च राज्यले सधैं किन व्यहोर्ने ? यस्तोमा भएगरेका खर्च अब रोक्नुपर्छ । सत्तामा बस्नेले प्रयोग गर्ने सवारीसाधनको अन्धाधुन्ध खर्च कटौती गर्ने हो भने त्यसले विपन्न वर्गका सबै ज्येष्ठ नागरिकलाई आर्थिक राहत दिन सकिन्छ ।
राज्यले आँट र साहस गर्न किन सक्दैन ? देशको साधनस्रोतको चरम दुरुपयोग प्रदेशहरूको संरचनामा भएको छ । नेपाली भूगोलको र जनसंख्याको आकारको हिसाबले यदि हेर्ने हो भने प्रदेश संरचना एक प्रकारको अनावश्यक फजुल खर्च हो । राज्यलाई टाट उल्ट्याउने षड्यन्त्र हो । राजनीतिक कार्यकर्तालाई व्यवस्थापन गर्ने फटाहा र देशद्रोही रणनीति हो । प्रदेशको नाममा राज्यको स्रोतसाधनको दुरुपयोग गर्नु देशद्रोही काम हो । अनावश्यक संरचनालाई खारेज गर्न कांग्रेस, एमाले जस्ता जिम्मेवार पार्टीका नेताहरूमा सचेतना किन आउँदैन ?
अनावश्यक खर्च गर्नसक्ने तर आवश्यक खर्च पुग्दैन र सक्दैनौं भन्नेले आवश्यक खर्च जुटाउन, फजुल खर्च बन्द गर्ने उपाय पत्ता लगाउनुपर्छ अन्यथा प्राप्त जिम्मेवारी छोड्नुपर्छ । पदीय जिम्मेवारी पूरा गर्ने आँट र क्षमता नहुनेलाई जिम्मेवार पदमा बस्ने नैतिक हक छैन । आरक्षण पनि जातीय आधारमा गर्ने कि वर्गीय आधारमा ? ज्येष्ठ नागरिक भत्ता, आरक्षण र समानुपातिक जस्ता वर्गीय उत्थान गर्ने विषय वर्ग केन्द्रीकृत नभएर पहुँचमा केन्द्रीकरण हुँदा राजनीति गर्नेहरू र निर्णायक तहमा हुनेले यसलाई आफू सत्तामा बस्ने र आफ्नालाई पोस्ने अस्त्र बनाएका छन् । विकृति सुधार्दैनौ भने वर्तमान राजनीतिका जिम्मेवार अब सक्किन्छौं । सक्किने र सुध्रने तिमीहरूकै हातमा छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच