
पूर्वराजा ज्ञानेन्द्र शाहले धमिलो पानीमा माछा मार्न खोजेकै हो भन्ने कुरामा दुई मत छैन । राजनीतिक नेतृत्व पक्ष-विपक्ष जता भए पनि नेपाललाई सही दिशा प्रदान गर्न सकेका छैनन् भन्ने सत्य हो । सबैभन्दा कहाली लाग्दो विषय भएको छ भ्रष्टाचार । अनि नेपालको परराष्ट्र नीति । विश्व-व्यवस्थामा देखापरेका चलायमान सूचकहरुलाई समीक्षा गर्न नसकेर अराजक विचार प्रवाह गर्ने, उत्तेजना फैलाउने र चरम विकृतिको विस्तार गर्ने बुद्धिविलास झन् खतरानक देखिएको छ । सुशासन, राष्ट्रको स्वतन्त्र र परस्परनिर्भर जीवन विकास गर्ने सोचभन्दा पनि तत्क्षणको संकीर्ण उपलब्धिको खोजी राजनीति भएको हुनाले तत्कालीन राजाले आफूलाई विकल्प ठहराएका हुनसक्छन् । तर उहाँले सोचे वा भने जस्तो अवस्था छैन । तर उहाँको अभिव्यक्तिबाट दलहरू त्रसित बनेको देखिन्छ । यस सम्बन्धमा माओवादी केन्द्रले पनि निकै ढिलो गरी मुख खोलेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ज्ञानेन्द्र अभिव्यक्तिबाट आफू कत्ति पनि नडराएको सार्वजनिक जानकारी दिनुभएको छ । उहाँले आफू कत्ति पनि डराएको छैन भन्नुको अर्थ साँच्चै डराएको लाग्दछ । किनकि न डराउनेहरुले आफूलाई डर नलागेको भनिरहनु पर्दैन । परिस्थितिको मिहीन समीक्षा गर्दा पर्याप्त हुन्छ । अहिले पूर्वराजाको अभिव्यक्तिको प्रतिक्रिया माओवादी केन्द्रबाट ढिलो गरी आउनुले त अरू अनेक प्रश्न जन्म सक्छन् । अहिले ती प्रश्नहरु केलाउनु जरुरी छैन ।
विगतको चर्चा र यथार्थका बीच सामान्जस्य हुने हो भने माओवादीका पछडि दरबार थियो र त्यसलाई आरम्भमा मलजल गर्ने दरबारियाहरु नै थिए भन्ने धेरैको विश्वास पनि थियो । तत्कालीन राजा वीरेन्द्रको शालीन र भद्रतापूर्वक राज्य गर्ने शैली मन नपराएका भाइ भारदारहरुबाट नै राजाको शासनशैलीको विरोधमा विद्रोही शक्तिलाई उचालेको हो भन्ने चर्चा असत्यमा आधारित थिएन पनि । समयक्रममा माओवादी हिंसालाई छिमेकी भारतको तत्कालीन कांग्रेस सत्तादेखि धार्मिक परिवर्तन र सांस्कृतिक अतिक्रमण गर्ने पश्चिमाहरुको बलियो समर्थन रहेकोमा दुईमत छैन ।
तर ०६३ को जनआन्दोलन र पृष्ठमा रहेको हिंसाका कारण ज्ञानेन्द्रले जनताको नासो जनतालाई भन्दै श्रीपेच फुकालेका हुन् । राजाले बेलायतको गौरवमय क्रान्तिजस्तै गरी नेपालको राजनीति परिवर्तीत भएको हो । माओवादी सशस्त्र विद्रोहका बेला जति हिंसा भए पनि राजाले गद्दी त्याग गर्ने बेलामा ठूलो हिंसा भएन । त्यसकारण यो बेलायतको गौरवमय क्रान्ति जस्तै बन्न पुग्यो । तर अहिले दुई दशक निकटको समयसम्म चौबाटोमा उभिएर रमिता हेर्दै विभिन्न दलको नारी छामेका ज्ञानेन्द्रले राजनीतिक दल र नेताहरुको सामथ्र्य थाहा पाएपछि केही सानातिना घुयत्राहरू बेलाबेलामा फाल्ने गर्नुभएको छ । जमेको पोखरीमा सानो डल्लोले पनि तरंग पैदा गर्छ, त्यस्तै भएको छ ज्ञानेन्द्रको शब्द ।
प्रजातन्त्र दिवस २०८१ को सन्दर्भ पारेर पूर्वराजाबाट अब बेला आएको छ..., हामीलाई साथ दिनुस्...जस्ता केही अभिव्यक्तिहरू आए । पूर्वराजाको यत्ति भनाइले अहिले नेपाली राजनीतिक वृत्त दुई भागमा विभाजित बन्दै गइरहेको छ । राजाले कुनै गल्ती गर्दैन, राजा ईश्वरको प्रतिनिधि हो, राजाबाट भएका कामकारबाहीहरू ईश्वरको निर्देशनमा भएका हुन्छन् भन्ने जस्ता पश्चिमा राजनीतिमा समेत प्रचलित भनाइहरू हुन् । नेपाली समाज पनि त्यसको अपवाद छैन । आफ्नो राजनीतिक आस्थाको व्यक्ति र पार्टीबाट भएका जे जस्ता कार्य छन् तिनको असल खराबको छ्यानविचार नगरी तिनलाई अन्ध समर्थन गर्नेहरूको बाहुल्य नेपाली समाजमा छ । अहिले पनि राजाको भनाइको अन्ध समर्थन एक पक्षबाट हुँदै आएको छ ।
नेपाली कांग्रेस नेकपा एमाले र माओवादी केन्द्रका त्यति धेरै सांसदहरू सघीय संसद्को प्रतिनिधि सभामा हुनुहुन्छ । तर राप्रपाका ज्ञानेन्द्र शाही एक्लैको आवाज ठूलो सुनिने गरेको छ । यसको कारण स्पष्ट छ दलहरूले राम्रो गर्न सकेका छैनन्, त्यसैले प्रतिगमनकारी शक्तिहरूको आवाज चर्को बन्दै गएको हो । निर्धाको मुख छिटो चल्छ भनिन्छ, अहिले निर्धो बन्दै गएका दलहरू पूर्वराजाले गत सात गतेको प्रजातन्त्र दिवस सन्दर्भ पारेर छ गते साँझ नेपाली जनतालाई शुभकामना दिने क्रममा भनेका कुराको चर्को खण्डन गरिरहेका छन् । यस क्रममा माओवादीले पूर्वराजालाई कसैले बोल्न लगाएको भन्ने प्रतिक्रिया दिएको छ ।
माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजालाई कसैले बोल्न लगाएको हो भन्नुभएको छ । उहाँले हर्क साङ्पाङ र बालेन साहको प्रशंसा पनि गर्नुभएको छ । यसको कारण अब उहाँ यस प्रकारका राजनीतिक शक्तिहरूलाई फकाएर आफ्नो पक्षपोषण गर्ने चाहना राख्न थाल्नुभएको छ भन्न सकिन्छ । पूर्वराजाको भनाइलाई आफूले कुनै महत्व नदिएको भन्ने उहाँको प्रतिक्रिया छ । पटक-पटक त्यही कुरालाई खोतलिरहने, बल्झाइरहने तर आफूले यसलाई कुनै महत्व नदिएको भनेर प्रतिक्रिया दिने गर्नाले जनमानसमा त्यो पत्यारलाग्दो बन्न सक्दैन । बरू माओवादीको तुलनामा नेपाली कांग्रेस र नेकपा एमालेले चाहिँ पूर्वराजाको भनाइलाई त्यति महत्व दिएका छैनन् । यो लोकतान्त्रिक राज्यप्रणाली हो । लोकतन्त्रमा सबैले आफूलाई लागेको कुरा बोल्न पाउँछन् र पाउनुपर्छ पनि । पूर्वराजाले गरेको पनि त्यही हो । उहाँले आफूलाई लागेको कुरा बोल्नुभयो । यसलाई गम्भीरतापूर्वक लिनुपर्ने आवश्यकता होइन । यदि यो गम्भीर विषय हो भने त्यसमा के कति कारणले कुन्-कुन् सन्दर्भ गम्भीर छन् भन्न र विश्वेषण गर्न सक्नुपर्छ । यहाँ इतिहासको एउटा सन्दर्भ स्मरणाीय हुन आउँछ । २०४७ सालको संविधान बनाउने जिम्मेबारी पूरा गरी संविधान सुझाव आयोगले तयार पारेको संविधान लुकाएर राजदरबारले अर्को संविधानको खेस्रा देखायो । त्यो थाहा पाएर नेपाली जनता दरबारप्रति आक्रोशित भए । पत्रकारले प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई प्रश्न गरेपछि उहाँले दरबारलाई पनि त संविधानप्रति सुझाव दिने अधिकार छ नि त भनेर पत्रकारको मुख टाल्नुभयो । जीवनमा कहिल्यै पनि उदास नहुने भट्टराईको अनुहार त्यसदिन चाहिँ मलीन र उदास थियो । जनताले दिएको जिम्मेवारी पूरा गर्न सक्दिन कि भन्ने भय उहाँमा थियो । हाल त्यस प्रकारको जिम्मेवारी कुनै पनि नेताहरूमा देखिँदैन । सबैजना स्वार्थको विशाल गर्तमा भासिनुभएको छ र बृहत् रूपमा राजपाठ सम्हालेर अन्ततः नागरिक भएका पूर्वराजाको छायाले नै तर्सिरहेका छन् । राजनीतिक दल र नेताहरूका लागि पूर्वराजा ज्ञानेन्द्र बालकहरूका ‘हाउगुजी’ जस्ता बनेका छन् । यसलाई हास्यास्पदबाहेक अरू केही भन्न सकिँदैन ।
सबै पार्टीका आ-आफ्नै आन्तरिक समस्या छन् । तर, आन्तरिक समस्या मिलाउन नसकेर पार्टी कमजोर बन्दै गएको अवस्थामा पूर्वराजाले राजनीतिक दलहरूतिर ताकेर प्रहार गरेको मट्यांग्राले सबैको सातो गएको छ । र, सबैभन्दा बढी माओवादी केन्द्र नै अतालिएको छ तर उसले त्यो बाहिर देखाउन चाहेको छैन । यसको कारण हिजो माओवादी पार्टीको हिंसात्मक राजनीति नै हो । वामदेव गौतमले भोलि कथंकदाचित राजा आएकाखण्डमा हामी सब जेलमा हुन्छौं भने झैँ माओवादीको चिन्ता पनि त्यही हो । तर चिन्ता होइन चिन्तन गर्ने हो भनेमात्र भोलिका दिनमा पनि हिजो जस्तै दलहरूलाई जनताको साथ मिल्न सक्छ नत्र कुन हावाले कसलाई कता उडाउने हो त्यो अनिश्ति नै छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच