
नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले लामो समयदेखि अलपत्र परेको हुलाकी सडक निर्माण कार्यले गति नलिएपछि सशक्त आन्दोलनको घोषणा गरेको छ । यसअघि पटक-पटक अनशन, धर्ना र सहमति भए पनि निर्माण कार्य अघि नबढेपछि गाउँपालिकाले पुनः आन्दोलन गर्ने निर्णय गरेको हो । प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले एक प्रेस विज्ञप्ति जारी गर्दै २०७९ सालमै सम्पन्न हुनुपर्ने हुलाकी सडक अझै अलपत्र रहेको भन्दै फागुन २६ गते हुलाकी सडक निर्देशनालय कपिलवस्तु घेराउ गर्ने घोषणा गर्नुभएको छ । यदि त्यसपछि पनि माग सम्बोधन नभए, काठमाडौं केन्द्रित आन्दोलन गरिने उहाँले बताउनुभयो ।
यसअघि, भदौ २७ गते अनशनमा बसेका जनप्रतिनिधि, स्थानीय बासिन्दा र राजनीतिक दलका प्रतिनिधिसँग ठेकेदार कम्पनी बज्रगुरु महालक्ष्मीले असोज महिनाबाट काम सुरु गर्ने सहमति जनाए पनि हालसम्म कार्यान्वयन नभएपछि थप आन्दोलन गर्न बाध्य भएको गाउँपालिका अध्यक्ष यादवको भनाइ छ ।
हुलाकी सडक निर्देशनालयअन्तर्गत गोपीगञ्जदेखि बेलाटारीसम्मको ६ दशमलव ५ किलोमिटर सडक निर्माण सुरु भएको ६ वर्ष बितिसक्दा पनि सम्पन्न नभएपछि स्थानीय नागरिक आक्रोशित छन् । सडक निर्माणमा भएको ढिलाइका कारण वर्षायाममा हिलाम्य र हिउँदमा धुलाम्य सडकले यातायातमा कठिनाइ भोग्दै आएका छन् ।
यसैबीच, नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व-स्वास्थ्यमन्त्री गगन थापा, लुम्बिनी प्रदेशका मन्त्री भूमिश्वर ढकाल लगायतले आमरण अनशनमा सहभागी भएर स्थानीयसँग ऐक्यबद्धता जनाउनुभएको थियो । तर, पनि काम हुन सकेको छैन । सडक निर्माणमा भएको ढिलाइबारे प्रतिनिधिसभा सदस्य सरिता भुसालले पनि सदनमा सरकारको ध्यानाकर्षण गराइसक्नु भएको छ । तर, हुलाकी सडक निर्देशनालय कपिलवस्तुले ४२ प्रतिशत काम सम्पन्न भएको दाबी गर्दै आएको छ । स्थानीयवासीले भने निर्देशनालयले ठेकेदारको पक्षपोषण गरेको आरोप लगाएका छन् ।
हिमालय टाइम्ससँगको कुराकानीमा हुलाकी सडक निर्देशनालय कपिलवस्तुले यदि अब पनि काम सुरु नभए, ठेक्का सम्झौता तोड्ने प्रक्रिया अघि बढाइने जानकारी दिएको छ । प्रतापपुर गाउँपालिकाको कठहवादेखि सुस्ता गाउँपालिकाको बेलाटारीसम्म २७ करोडको लागतमा निर्माण हुन लागेको सडक निर्माणले गति लिन नसकेको हो । ठेकेदार कम्पनीले भने नदीजन्य पदार्थको अभावको बहाना बनाउँदै काममा ढिलाइ गरेको छ । कोरोनाको बेला ठेक्का लागेको कारण सुरुका वर्ष काम गर्न नपाएको र गत वर्ष नवलपरासीमा नदीजन्य पदार्थ उत्खनन निकै छोटो समय मात्रै भएका कारण समयमै काम सम्पन्न हुन नसकेको ठेकेदार कम्पनीले जनाएको छ ।
सडक निर्माणको जिम्मा बज्रगुरु महालक्ष्मी जेभी कम्पनीले लिएको छ । यसैगरी, जिल्लाको सदरमुकाम परासीदेखि गोपीगञ्ज सम्मको ११ किलोमिटर हुलाकी सडक निर्माणको काम पनि नौ वर्ष हुँदासमेत सम्पन्न हुन सकेको छैन । विभिन्न स्थानमा निर्माण सामग्री राख्ने र कल्भर्ट निर्माणका लागि सडक भत्काएर नपुर्दा हिलो र धुलोले आवतजावतमा समस्या आएको स्थानीयको गुनासो छ ।
नवलपरासी जिल्लास्थित हुलाकी सडक विस्तारका लागि २०७६ सालमा छुट्टाछुट्टै गरी तीन खण्डमा ठेक्का लगाएर काम सुरु गरिएको थियो । पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल-नारायणगढ खण्ड विस्तार थालिएपछि हुलाकी सडकलाई विकल्पका रूपमा प्रयोग गर्न थालिएको छ । जसले गर्दा हुलाकी सडकमा सवारी चाप बढेर थप समस्या सिर्जना गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच