
धरान । यही फागुन २९ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘अञ्जिला’को धरानमा भव्य रेड कार्पेट प्रिमियर सम्पन्न भएको छ । धरानको फ्रेन्ड्स सिनेमाजमा आयोजित प्रिमियरमा चलचित्र टिम, चलचित्रकर्मी, खेलाडी, पत्रकारहरू, र स्थानीय दर्शकहरूको उत्साहजनक उपस्थिति थियो ।
नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित यो चलचित्रको हङ्कङ, कोरिया र बेलायतमा सफलतापूर्वक प्रिमियर भइसकेपछि नेपालमा पहिलोपटक धरानमा गरिएको यो प्रिमियरले चलचित्रप्रति दर्शकहरूको उत्सुकतालाई थप बढाएको छ । भव्य सजावट र रेड कार्पेटले सजिएको हलमा दर्शकहरूले चलचित्रको प्रतीक्षा गरिरहेका थिए ।
प्रिमियरमा निर्माता तथा कलाकार प्रेमकुमार श्रेष्ठ, सहनिर्माता विनोद अग्रवाल, राजेश बगडिया र निर्देशक मिलन चाम्सको उपस्थिति थियो । यद्यपि, चलचित्रकी मुख्य अभिनेत्री एञ्जिला तुम्बापो सुब्बा र अन्य प्रमुख कलाकारहरू भने कार्यव्यस्तताका कारण उपस्थित रहेनन् । तर, कलाकार प्रकाश सुब्बा र बालकलाकार नमिक्षा मगरको उपस्थिति भने उल्लेखनीय थियो । यस चलचित्रमा एञ्जिलाको साथमा, प्रेमकुमार श्रेष्ठ, दयाहाङ राई, सुनिल थापा, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ र बुद्धि तामाङको प्रमुख अभिनय छ ।
चलचित्र हेरेपछि दर्शकहरू भावुक बनेका थिए । चलचित्र हेरिरहेका दर्शकहरू हलभित्र रोइरहेका देखिन्थे । विशेषगरी एञ्जिलाको संघर्षको कथाले सबैको मन छोएको प्रतिक्रिया प्राप्त भएको छ । दर्शकले चलचित्रको प्रशंसा गर्दै निर्देशक मिलन चाम्सको उत्कृष्ट निर्देशनको सराहना गरे ।
धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले चलचित्रले नेपाली खेलाडीहरूको वास्तविक संघर्षलाई चित्रण गरेको बताउनुभयो । युवा दर्शकहरूले चलचित्र हेर्दा आफ्नो परिवार र आफूलाई नै देखेको प्रतिक्रिया दिए । चलचित्रकी बालकलाकार नमिक्षा मगरले एञ्जिलाको संघर्ष देखेर आफू पनि रोएको बताउनुभयो ।
दर्शकहरूको सकारात्मक प्रतिक्रियाले निर्माण टिमलाई उत्साहित देखियो । निर्माता श्रेष्ठले दर्शकहरूको माया र समर्थनले आफू भावुक भएको बताए भने निर्देशक चाम्सले दर्शकहरू रुँदा आफू पनि भावुक भएको अनुभव सुनाउनुभयो । चाम्सको यो तेस्रो बायोपिक चलचित्र हो । उहाँले यसअघि बायोपिकहरू ‘ब्लाइन्ड रक्स’ र ‘बोबी’ निर्देशन गर्नुभएको थियो ।
चलचित्रको छायांकन एञ्जिलाको जन्मथलो इलामको आइतबारे, झापा र काठमाडौंमा गरिएको छ । चलचित्रको छायांकन सुदीप बरालले गर्नुभएको छ भने सम्पादन मिलन श्रेष्ठले गर्नुभएको छ । मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित यस चलचित्रका निर्माता प्रेमकुमार श्रेष्ठ हुनुहुन्छ । कार्यकारी निर्माता विनोद अग्रवाल हुन् भने टुबेन्द्र लिम्बु र राजेश बगडिया सहनिर्माता हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच