
मणिरत्न शाक्य
नेपालमा डिसेम्बरदेखि फ्रेबररी सम्म अर्थात् सामान्यतया मसिरको मध्यदेखि फागुनको मध्यसम्म तीन महिना हिउँदेयामको रूपमा लिने गरिन्छ । यस वर्षको हिउँद समाप्त भइसकेको मौसम विभागले जनाएको छ भने गएको हिउँद औसतभन्दा धेरै कम वर्षा भई सुख्खा रहेको उल्लेख छ । हिउँदेयामको सुरुवातसँगै गएको मंसिरको अन्त्यतिर राजधानी काठमाडौंलगायत विभिन्न स्थानमा वर्षा र उच्च पहाडी भेकमा हिमपात भएर समयमै हिउँदे वर्षा सुरु भएको भए पनि पछिल्ला दिन पुस र माघमा वर्षा तथा हिमपात न्यून हुन पुग्यो ।
वर्षामा कमी र प्रायः सफा मौसमका कारण वायुमण्डलीय तापमान बढ्न थालेको छ । जसले गर्दा राजधानी काठमाडौंमा माइनस तीन डिग्री सेल्सियससम्म मापन भएको न्यूनतम् तापमान शून्य भन्दामाथि हुनथालेको छ । र, यस्तो मौसमी गतिविधि विगत केही वर्षदेखि देखा पर्न थालेको मौसमी आंकडाबाट स्पष्ट हुन्छ । साथै देशको विभिन्न स्थानमा वायुमण्डलीय तापमान बढ्न थालेको छ । मौसम विभागका अनुसार नेपालमा प्रत्येक वर्ष न्यूनतम् तापमान ०.०२ डिग्री सेल्सियस र अधिकतम तापमान ०.०५ डिग्री सेल्सियसका दरले वृद्धि भइरहेको छ । यसले हिउँद विस्तारै न्यानो हुन थालेको आभास हुन्छ ।
नेपालमा प्रत्येक वर्ष हिउँदे वर्षा तथा चिसो मौसमी गतिविधि पश्चिमी वायुको आगमनसँगै हुनेगर्छ । नेपालमा गर्मीयाममा पूर्वी दिशाबाट भित्रिने मनसुनी वायुको अन्त्यसँगै पश्चिमी दिशाबाट हावा चल्न थाल्छ । र, यसलाई पश्चिमी वायु भनेर भनिन्छ । नेपालको भौगोलिक स्थिति र भू-वनौटको कारण गर्मी तथा हिउँदयाममा एकअर्काको विपरीत दिशाबाट हावा चल्ने गर्छ जसले मौसममा व्यापक फेरबदल ल्याउनेगर्छ ।
वर्षा तथा हिमपातमा ह्रास वास्तवमा मानव जीवनका लागि खतराको संकेत हो । यसले मानव जीवनको रहन सहनको साथै कृषि जगत्मा नराम्रो प्रभाव पर्नेगर्छ । साथै यसले पृथ्वीको अस्तित्वमा समेत असर गर्ने हुँदा यसप्रति सचेत हुन आवश्यकता छ ।
पश्चिमी वायुको उदगम् स्थल युरोप महादेश र यससँग जोडिएको भूमध्यसागरीय क्षेत्र मानिन्छ । हिउँदको सुरुवातसँगै उत्तरी गोलाद्र्ध सूर्यबाट टाढिने हुँदा युरोप महादेशको भ–ूभाग अत्यधिक चिसो हुनथाल्छ जसले गर्दा त्यहाँ वायुमण्डलीय चापमानमा वृद्धि हुनगई उच्चचापीय क्षेत्र युरोप महादेशबाट तुलनात्मक रूपमा न्यूनचापीय क्षेत्र रहेको दक्षिण एशियाको पूर्वी भेकतिर हावा वहन थाल्छ । जसअनुसार यो हावा युरोपबाट इरान, इराक, अफगानिस्तान, पाकिस्तानको उत्तरी भेक र उत्तर पश्चिम भारतको बाटोहुँदै नेपाल प्रवेश गर्छ । यसलाई हिन्दकुश पर्वतको हिमशृंखलाले मार्ग निर्देश गर्दै अन्तत्वगत्वाः यो हावा बंगलादेश प्रवेश गर्छ ।
युरोपको चिसो भू-भागबाट नेपाल भित्रिने पश्चिमी वायु अत्यन्त चिसो हुन्छ भने हिमशृंखलाको बाटो हुँदै वहने भएकाले यसले ठन्डी र कठ्यांग्रिने जाडो निम्त्याउँछ । तसर्थ यो हावा चल्ने ठाउँमा जाडो बढ्न थाल्छ । पुनश्चः यसरी स्वतस्फूर्त चल्ने पश्चिमी वायु समयको गतिसँगै त्यस क्षेत्रस्थित भूमध्य सागर, क्यास्पियन सागर र ब्लाक सागरबाट जलवाष्प आपूर्ति भई ओसिलो हुन गएमा यसले वायुमण्डलीय चापमान र तापमानमा व्यापक उठ्लपुठ्ल हुन थाल्छ । वायुमण्डलको माथिल्लो तहमा देखिने यस्तो प्रक्रियाले त्यहाँ न्यूनचापीय वायुमण्डलीय प्रणाली विकसित भई एक किसिमको आँधीबेहरी सिर्जना हुन थाल्छ । जसले गर्दा मेघ गर्जनसहित हुरी बतास चल्ने, भारी वर्षा र हिमपात हुनेगर्छ । यस्तो आँधीबेहरी पश्चिमी वायुको वेगसँगै वायुमण्डलको माथिल्लो तहमा चल्ने ‘जेटस्त्रिम’ नामको हावाको वहाबले पूर्वतिर धकेल्दै जान्छ । पश्चिमबाट पूर्वतिर सर्ने यस्तो मौसमी प्रक्रियालाई पश्चिमी विक्षोभ अर्थात ‘वेष्टर्न दिस्टरवान्स’ भनिन्छ । प्रत्येक वर्ष पश्चिमी विक्षोभको कारण नेपाललगायत दक्षिण एशियाको विभिन्न स्थानमा वर्षा तथा हिमपात हुनेगर्छ । यसको आगमनले हावामा जलवाष्पको मात्रा वृद्धि हुनेहुँदा बाक्लो कुहिरो लाग्ने, हुुस्सु तथा शीतलहर चल्नेगर्छ ।
पश्चिमी विक्षोभका कारण नेपाललगायत दक्षिण एशियाको विभिन्न स्थानमा हिउँदमा कम्तीमा चार-पाँचपटक मेघगर्जनसहित भारी वर्षा तथा हिमपात हुनेगर्छ । तर, विगत केही वर्षदेखि हिउँदे वर्षामा कमी आउनुको साथै हिमपातमा ह्रास आएको महसुस भएको छ । वैज्ञानिक अध्ययनले पनि नेपाललगायत दक्षिण एशियामा हिउँदमा वर्षा तथा हिमपातमा ह्रास आउनुको साथै हिउँदे वर्षा आगमनमा ढिला हुँदै गइरहेको जनाएको छ । हिमपातकै कमीले हिमाल काला पत्थरमा परिणत हुन थालेको जन गुनासो बढ्न थालेको बेला हिउँदे वर्षा न्यूनीकरणले सिँचाइ सुविधा उपलब्ध हुन नसकेको नेपालको पहाडी तथा उच्च पहाडी भेकको कृषि उत्पादनमा नकारात्मक प्रभाव पर्ने डर बढ्न थालेको छ ।
पश्चिमी विक्षोभका कारण नेपाललगायत दक्षिण एशियाको विभिन्न स्थानमा हिउँदमा कम्तीमा चार-पाँचपटक मेघगर्जनसहित भारी वर्षा तथा हिमपात हुनेगर्छ । तर विगत केही वर्षदेखि हिउँदे वर्षामा कमी आउनुको साथै हिमपातमा ह्रास आएको महसुस भएको छ ।
यसै सन्दर्भ हिउँदे वर्षावारे व्यापक अध्ययन अनुसन्धान भइरहेको वैज्ञानिकहरूको ठहर छ । वैज्ञानिकहरूको प्रारम्भिक अध्ययनले हिउँदे वर्षामा ह्रास आउनुको प्रमुख कारण पश्चिमी वायुको प्रभावकारितामा कमी आएको बताइएको छ । जसले गर्दा पश्चिमी विक्षोभहरू उत्पत्ति भए पनि सशक्त हुन नसकि कमजोर हुनेगरेको उल्लेख छ । यस्तो प्राकृतिक प्रक्रिया देखापर्नुमा विश्वव्यापी रूपमा देखापरेको वायुमण्डलीय तापमान वृद्धि अर्थात् ‘ग्लोबल वार्मिंग’ले ठूलो भूमिका खेल्ने गरेको बताइएको छ । जलवायु परिवर्तनको रूपमा देखापरेको यस्तो प्राकृतिक प्रक्रियाले मौसममा व्यापक बदलाव आई वर्षा हुने प्रक्रिया प्रभावित हुनेगरेको उल्लेख छ ।
विश्वव्यापी रूपमा हिन्द तथा प्रशान्त महासागर जस्ता ठूला महासागरमा देखापर्ने विभिन्न वायुमण्डलीय प्रणालीमा आएको बदलाव पनि हिउँदे वर्षा प्रभावित हुने गरेको वैज्ञानिकहरू उल्लेख गर्छन् । महासागरको पानी औसतभन्दा बढी तात्ने वा चिसिनाले वायुमण्डलीय प्रणालीलाई असर गर्ने हुँदा यसले वर्षामा बदलाव आउने गरेको वैज्ञानिकहरूको भनाइ छ । वैज्ञानिक अध्ययन अनुसार भूमध्य रेखा स्थित प्रशान्त महासागरको पूर्वी क्षेत्रको पानी औसतभन्दा बढी तात्न थाल्यो भने यसले नेपाललगायत दक्षिण एशियामा हिउँदे वर्षा कमी हुनेगरेको छ भने यसको विपरीत पानी चिसिन थाल्यो भने वर्षा वृद्धि हुने उल्लेख छ । प्रशान्त महासागरको पूर्वी क्षेत्रको पानी औसतभन्दा बढी तात्ने प्रक्रियालाई ‘इलनिनो’ भनिन्छ भने चिसिनेलाई ‘लानिना’ भनिन्छ ।
यस्ता प्रक्रिया प्रत्येक वर्ष देखापर्ने गर्छ । तर, हाल विश्वव्यापी रूपमा देखापरेको ‘ग्लोवल वार्मिंग’ले इलनिनो जस्तो प्रक्रिया सशक्त रूपमा देखिन र यस्को समयावधि लम्ब्याइ राख्न महत्वपूर्ण भूमिका खेल्ने गरेको वैज्ञानिकहरूको ठहर छ । जसले गर्दा हिउँदे वर्षा प्रभावित हुने गरेको उल्लेख छ । वर्षा तथा हिमपातमा ह्रास वास्तवमा मानव जीवनका लागि खतराको संकेत हो । यसले मानव जीवनको रहनसहनका साथै कृषि जगतमा नराम्रो प्रभाव पर्नेगर्छ । साथै यसले पृथ्वीको अस्तित्वमा समेत असर गर्ने हुँदा यसप्रति सचेत हुन आवश्यकता छ ।
(लेखक शाक्य हाल प्राध्यापनमा संलग्न जल तथा मौसम विज्ञान विभागका पूर्वउपमहानिर्देशक हुनुहुन्छ ।)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच