गुणस्तरहीन निर्माण सामग्रीकाे प्रयाेगले चुहिन थाल्यो जुम्लाकोट विद्यालयको भवन 

विजय रावत जुम्ला, संवाददाता
विजय रावत जुम्ला, संवाददाता
Read Time = 6 mins

जुम्ला । जुम्लाको तिला गाउँपालिका-८ मा रहेको देउराली माध्यमिक विद्यालयमा पक्की भवन गुणस्तरहीन निर्माण सामग्रीकाे प्रयाेगले चुहिन थालेको छ । भवन निर्माण सम्पन्न भएको केही बर्षमै चुहिन थालेको छ । पानी परेको दिनमा विद्यालयको छानाबाट पानी कक्ष भित्र पर्ने गरेकोले अहिले विद्यालयको ढलानको छतमाथि जस्ता पाताले छापिएको विद्यालयका शिक्षक परिमल बस्नेतले जानकारी दिनुभयो । अघिल्लो आर्थिक वर्ष २०७७/०७८ राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत तिला गाउँपालिकामा १८ लाख बजेट आएर उक्त भवन निर्माण भएको हो ।

पक्की ढलान भवनको छतमाथि फाटा जस्ता पाता छापिएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत १८ लाख बजेटमा निर्माण भएको दुई कोठे पक्की भवन निमार्ण भएकै वर्षदेखी यस्तो समस्या आएपछि अहिले फाटा जस्ता पाताले छापिएको छ । गुणस्तरहिन सामग्रीले विद्यालयको भौतिक संरचना निर्माण गरेकाेले ढलान छतबाट पानी चुहिने भएको देखिन्छ । एकातिर कक्षा कोठा अभाव, अर्कोतिर लाखौँ बजेट खर्चेर निर्माण गरिएका भौतिक संरचना गुणस्तरहीन भएर चुहिने भएपछि विद्यार्थी र शिक्षकलाई समस्या भएको विद्यालयका शिक्षक बस्नेतले बताउनुभयो ।

गत आर्थिक वर्ष २०८०।०८१ मा संघीय अनुदान र समपुरक अनुदानबाट विद्यालयको अर्को दुई तले ८ कोठे भवनमा पनि ढलानबाट चुहिने समस्या भएको छ भनेर त्यहाँका स्थानीयवासिले जानकारीसमेत गराएका थिए । 'ठेकेदारले गुणस्तरहीन सामग्री प्रयोग गरेको पाइएको छ । पालिकाको अनुगमन टोलीले भवन निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग भइरहेको तथ्य फेला पारेको छ । केठेदारलाई उक्त विषयका लागि परिपत्र गरिएको छ,' तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले भन्नुभयो ।

तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाकाअनुसार निर्माण भएका दुई वटै भवन चुहिने भएकाछन् । 'दुईतले ८ कोठे भवन हालसालै निर्माण भएको हो । ठेक्काबाट निर्माणहुने भौतिक संरचना अनुगमनको जिम्मेवारी दिएको छैन । अर्को कामको अनुगमनको क्रममा जुम्लाकोट विद्यालय पुग्दा चुहिने समस्या देखिएको थियो । यसमा प्राविधिक कर्मचारीले बढी ख्याल गर्नुपर्ने हो । तर त्यसो देखिएन । यसमा ठेकेदार, विव्यस, शिक्षक, स्थानीय पनि उत्तिकै जिम्मेवार हुनु पर्ने देखिन्छ । काम गर्ने क्रममा सवै सरोकारवालाले ध्यान नदिँदा समस्या देखियो । मर्मतका लागि बजेट विनियोजन भएको छ । अब काम गर्ने तयारी गरिएको छ,' गाउँपालिका उपाध्यक्ष बुढाले भन्नुभयाे ।

समस्या बारे ठेकेदारलाई जानकारी गराइसकेको र चाडै मर्मत गर्न लगाउने भएको तिला गाउँपालिका प्राविधिक शाखा प्रमुख धनप्रसाद चौलागाईले जानकारी दिनुभयो । 'उक्त राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम विद्यालयको भवन बनेको हो । त्यतिबेला चिसोले हो की के हो । चुइने भएको रहेछ । कम्पिलेन पहिला पनि आएको थियो । त्यो भवनमा केही समस्या आएपछि मर्मत गर्नुपर्छ भनेर ठेकेदारको धरौटी फिर्ता पनि गरिएकोछैन । दुई वर्षमा डेढ करोड बजेट हो । ठेक्काको घटिघटाउमा भवन निर्माण भएको हाे,' गाउँपालिका प्राविधिक शाखा प्रमुख चौलागाईले भन्नुभयो ।

१२ कक्षासम्म अध्ययपन हुने देउराली माविमा पाँच सय विद्यार्थीको संख्या रहेको छ । कक्षा कोठा अभाव भएपछि विद्यालयले भवन निर्माणका लागि तिला गाउँपालिकालाई माग गरेको हो । गाउँपालिकाले निर्णय गरेर शिक्षा विकास तथा समन्वय इकाई जुम्ला हुँदै शिक्षा विकास तथा मानव संशोधन केन्द्रमा भवन निर्माण लागि माग पुगेको हो । पानी परेको दिनमा चुहिने भएकाले विरामीलाई समस्या भएको विद्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?