
पाल्पा । पाल्पाको तासेनस्थित मोहन कन्या माविका छात्राहरुलाई प्याड वितरण गरिएको छ । पाल्पा जेसिजले छात्राहरु महिनावारी भएका बेलामा पनि विद्यालयमा नियमित उपस्थित गराउने उद्देश्यले सेनेटरी प्याड दिएको हो । हातमा प्याड लिएसँगै विद्यार्थीहरु खुसीले गदगद हुनुभएको थियो ।
जेसिजका पदाधिकारीहरुले विद्यालयमै पुगेर छात्राहरुलाई प्याड सुरक्षित महिनावारीका लागि आवश्यक सामग्री वितरण गर्नुभयो । जेसिजले छात्राहरुलाई प्याड वितरणसँगै महिनावारी र प्याडका बारेमा शिक्षा समेत प्रदान गरेको छ ।
महिलाहरुका लागि महिनावारीको अवधि अत्यन्त पिडादायी हुने भएकाले उहाँहरुलाई सहज होस् र त्यस्तो अवस्थामा पनि नियमित हुनुपर्छ भनेर प्याड वितरणसँगै शिक्षा प्रदान गरिएको जेसिज वर्ष २०२५ का अध्यक्ष जेसी विवेक काजी शाक्यले बताउनुभयो ।
उहाँले भन्नुभयो,‘हामीले युवाहरुको नेतृत्व, व्यक्तित्व विकाससँगै शिक्षा, स्वास्थ्य र पर्यटनका क्षेत्रमा समेत काम गर्दै आएका छौं, यहाँ विगतमा हामीले साइबरक्राइम सम्बन्धी विद्यार्थीहरुलाई प्रशिक्षण समेत दिएका थियौं ।’ अध्यक्ष शाक्यले विद्यार्थीहरुमा नेतृत्व क्षमता विकासका तालिमहरु आवश्यक परेमा जेसिजले सहयोग गर्ने समेत बताउनुभयो । प्याड र फोहोर राख्ने बाल्टीन अध्यक्ष शाक्यले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विधान श्रेष्ठ र प्रअ दीपक प्रसाद ज्ञवालीलाई हस्तान्तरण गर्नुभएको हो ।
सुरक्षित महिनावारीका लागि आवश्यक सामग्री ग्रहण गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले जेसिजले विद्यार्थीहरुप्रति देखाएको सहयोग र सद्भाव प्रशंसनिय रहेको बताउनुभयो । उहाँले छात्राहरुलाई महिनावारीका सामग्री दिनुको साथै सोको बारेमा ज्ञान प्रदान गर्नुले महिनावारीका बेलामा पनि नियमित विद्यालय आउन सक्ने विश्वास व्यक्त गर्नुभयो ।
अध्यक्ष श्रेष्ठले भन्नुभयो ‘महिनावारीबारे धेरैजसो अहिले पनि खुलेर कुरा गर्दैनन् । प्राकृतिक प्रक्रियाबारे ग्रामीण क्षेत्रमा नकारात्मक सोच र भ्रम समेत छन् । रजस्वलासम्बन्धीकै गलत धारणा र अन्धविश्वास चिर्नका लागि शिक्षा आवश्यक छ ।’
विद्यालयका प्रअ ज्ञवालीले महिनावारी व्यवस्थापनका लागि शिक्षा र आवश्यक सामग्रीले सघाउ पु¥याउने विश्वास व्यक्त गर्नुभयो । महिनावारीको बेला छात्राहरुलाई सरसफाइको झनै आवश्यकता पर्ने भएकाले स्वास्थ्य समस्या कम गर्न यसले सहयोग पुग्ने उहाँको भनाई छ ।
कार्यक्रममा तानसेन नगरपालिका स्वास्थ्य शाखाको प्राविधिक सहयोगमा छात्राहरुलाई महिनावारीका बारेमा जानकारी गराइएको थियो । स्वास्थ्य शाखाकी विजु जर्घाले महिनावारी, सरसफाइ, प्याडको प्रयोग र फाइदा, महिनावारीमा पोषणयुक्त खानेकुराका विषयमा जानकारी गराउनुभएको थियो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच