भक्तपुर । सडकमा बेवारिसे अवस्थामा दिनरात बिताउने मानिसहरू हाम्रो समाजको एउटा कटु यथार्थ हुन् । कतिले तिनलाई देखे पनि नदेखेझैँ गर्छन्, कतिले केही दिनको खाना दिएर आफ्नो जिम्मेवारी पूरा गरेको ठान्छन् । तर, उनीहरूको दीर्घकालीन व्यवस्थापनका लागि ठोस पहल गर्नेहरू थोरै छन् । यही समस्या समाधानका लागि भक्तपुरमा ‘बेवारिसे सडक मानवका लागि महायज्ञ २०८१’ आयोजना गरिंदैछ, जसले बेवारिसे मानिसहरूलाई सुरक्षित आश्रय दिने प्रयास गर्नेछ ।
चैत्र २१ देखि २७ गतेसम्म मध्यपुर थिमी, राधेराधेमा आयोजना हुने यो महायज्ञ मानव कल्याण समाजको अगुवाइमा हुन लागेको हो । संस्थाका अध्यक्ष देवी सुमी मानवका अनुसार, महायज्ञबाट संकलित सहयोग बेवारिसे मानवहरूको दीर्घकालीन व्यवस्थापनका लागि जग्गा खरिद गरी स्थायी आश्रयस्थल निर्माण गर्न खर्च गरिनेछ ।
सडक मानव उद्धार अभियानको थालनी केही वर्ष अघिदेखि नै भएको हो । २०७२ सालमा सडकमा रहेका मानवहरूलाई चाउचाउ, बिस्कुट, र पानी बाँड्ने अभियान सुरु गरियो । तर, यस्ता अल्पकालीन सहयोग मात्र पर्याप्त नहुने महसुस गर्दै उद्धार, स्वास्थ्य उपचार, पुनर्स्थापना, परामर्श, र सुधारका कार्यक्रमहरू अघि बढाइयो । २०७४ सालमा मानव कल्याण समाज विधिवत रूपमा स्थापना भयो, जसले हालसम्म २१ सयभन्दा बढी बेवारिसे मानवहरूको उद्दार गरी उनीहरूको व्यवस्थापन गरिसकेको छ । अहिले भक्तपुर, काभ्रे, काठमाडौं, बारा, र दाङका शाखाहरूमा पाँच सयभन्दा बढी सडक मानवहरूलाई आश्रय दिइँदै आएको कुरा पत्रकार सम्मेलन मार्फत महायज्ञका प्रेस संयोजक पेशल आचार्यले प्रेस विज्ञप्ती पढेर सुनाएका जानकारी दिएका थिए ।
सडकमा बिताउनेहरूको जीवन अत्यन्तै कष्टकर हुन्छ । खानाको टुंगो हुँदैन, लुगाफाटो फोहोर हुन्छ, जाडोमा कठ्याङ्ग्रिनु पर्छ, गर्मीमा पानीको अभाव हुन्छ । कतिपय त मानसिक रूपमा असन्तुलित पनि हुन्छन् । यस्तो अवस्थामा उनीहरूलाई मात्र दोष दिनुभन्दा पनि समाजकै जिम्मेवारी बोध गर्दै उनीहरूलाई उचित व्यवस्थापन गर्न जरुरी छ । यही उद्देश्यका साथ महायज्ञ आयोजना गर्न लागिएको हो ।
महायज्ञका संयोजक गोपीकृष्ण न्यौपानेका अनुसार, कार्यक्रम सफल बनाउनका लागि सबै क्षेत्रको सहयोग आवश्यक छ । धार्मिक, सांस्कृतिक, र सामाजिक रूपमा महायज्ञलाई प्रभावकारी बनाउन व्यापक तयारी गरिएको छ । महायज्ञका क्रममा दिनभर विभिन्न कार्यक्रमहरू हुनेछन् । बिहान ५ देखि ७ बजेसम्म योगाभ्यास, ७ बजे पूजापाठ, ११ देखि ४ बजे संगीतमय कथा वाचन, सवा ४ बजे आरती, ४:३० बजे प्रसाद वितरण तथा साँझ ६ देखि ९ बजेसम्म श्रृङ्गारिक महाआरती र भजन कार्यक्रम गरिनेछ ।
चैत्र २१ गते बिहान ७ देखि ९ बजेसम्म पूर्वाङ्ग, ९ बजे शोभाकलश यात्रा, १२:३० बजे उद्घाटन गरिनेछ । महायज्ञ अवधिभर विशेष धार्मिक अनुष्ठानहरू गरिनेछन् । चैत्र २६ र २७ गते लक्ष्यवर्तिका प्रज्वलन गरिनेछ भने चैत्र २७ गते समापन हुनेछ ।
यस संस्थाले केही वर्ष अघिसम्म भक्तपुरका सडकहरूमा व्यापक रूपमा देखिने बेवारिसे मानिसहरूको संख्या घटाउने महत्वपूर्ण काम गरेको छ । अहिले सडकमा भेटिएका मानवहरूलाई झौखेलस्थित अस्थायी आश्रयस्थलमा राख्ने गरिएको छ। यसरी उद्दार गरिएका मानिसहरूलाई सफाइ, स्वास्थ्य उपचार, परामर्श, पुनर्मिलन, र आत्मनिर्भर बन्ने तालिमहरूसमेत दिइन्छ ।
महायज्ञ केवल धार्मिक क्रियाकलाप मात्र होइन, यो समाज सुधारको अभियान हो । यसले हजारौँ बेवारिसे मानिसहरूलाई मात्र नभई सम्पूर्ण समाजलाई सेवाभावका साथ अघि बढ्न प्रेरित गर्नेछ । समाजमा उपेक्षित भएका ती मानिसहरूलाई नयाँ जीवन दिन यो महायज्ञ महत्त्वपूर्ण हुनेछ ।
महायज्ञ आयोजक टोलीका अनुसार, यो अभियानलाई सफल पार्न व्यक्तिगत तथा संस्थागत सहयोग आवश्यक छ । जसरी थोरै-थोरै गह्रौँ ढुङ्गा मिलेर बलियो घर बन्छ, त्यसरी नै थोरै-थोरै सहयोगले बेवारिसे मानिसहरूको लागि सुरक्षित जीवन निर्माण गर्न सकिन्छ । चाहे आर्थिक सहायता होस्, श्रमदान होस्, वा कुनै अन्य माध्यमबाट सहयोग होस्, समाजका हरेक तह र तप्काबाट यस महायज्ञमा सहभागी भई एकजुट हुन आवश्यक छ ।
महायज्ञमा गरिने सहयोग केवल एक पटकको दान मात्र होइन, यो भविष्यमा हजारौँ सडक मानवहरूलाई सुरक्षित आश्रय दिने जग बसाउने आधार हो । यसले मानवता जगाउनेछ, समाजमा सकारात्मक ऊर्जा फैलाउनेछ, र सबैलाई सेवा भावनाको महत्व बुझाउनेछ । समाज परिवर्तनका लागि उठाइएको यो कदम सफल बनाउन हामी सबैले आ-आफ्नो तर्फबाट योगदान दिन जरुरी छ । रासस
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच