अर्घाखाँचीका ७५२६ किशोरीले लगाए एचपिभी खोप

अर्घाखाँची । अर्घाखाँची जिल्लामा एचपिभी (ह्युमन प्यापीलोमा भाइरस) खोप अभियानअन्तर्गत ९५ प्रतिशत किशोरीहरूले खोप लगाएका छन् । महिलाहरूको पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउने उद्देश्यले सञ्चालित उक्त अभियान सफल रूपमा सम्पन्न भएको स्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ ।

स्वास्थ्य कार्यालय प्रमुख शिव नेपालीका अनुसार माघ २३ देखि फागुन ६ गतेसम्म सञ्चालन गरिएको खोप अभियानबाट ७ हजार ५२६ किशोरीहरू लाभान्वित भएका छन् । जिल्लाका ६ वटै स्थानीय तहमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा तथा विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई स्थानीय तहमा रहेका खोप केन्द्रहरू मार्फत खोप प्रदान गरिएको थियो ।

स्वास्थ्य कार्यालयकाअनुसार अभियान ६ स्थानीय तहका १४० विद्यालय, ६१ स्वास्थ्य संस्था तथा अन्य बाह्य खोप केन्द्रहरू गरी २०१ खोप केन्द्रमार्फत सञ्चालन गरिएको थियो । अभियान सुपरभाइजर कृष्ण प्रसाद पोख्रेलकाअनुसार जिल्लाभर ७ हजार ९२५ किशोरीलाई खोप लगाउने लक्ष्य राखिएकोमा ९५ प्रतिशत अर्थात् ७ हजार ५२६ किशोरीलाई खोप लगाउन सफल भएको हो । बाँकी ५ प्रतिशत किशोरीहरूलाई पनि कुनै न कुनै माध्यमबाट खोप उपलब्ध गराउने योजना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

अभियानअन्तर्गत सन्धिखर्क नगरपालिकामा १ हजार ८०५, शितगंगा नगरपालिकामा १ हजार ४७५, मालारानी गाउँपालिकामा १ हजार २४२, भूमिकास्थान नगरपालिकामा १ हजार २२४, पाणिनी गाउँपालिकामा ९७० र छत्रदेव गाउँपालिकामा ८२१ किशोरीहरूले खोप लगाएका छन् । यसमध्ये मालारानी गाउँपालिकाले सबैभन्दा बढी ९९ प्रतिशत किशोरीलाई खोप लगाउन सफल भएको छ भने सन्धिखर्क नगरपालिकामा सबैभन्दा कम ८९ प्रतिशत किशोरीले मात्र खोप लगाएका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार एचपिभी खोपले महिलाको पाठेघरको मुखमा हुने क्यान्सरको जोखिम उल्लेख्य रूपमा घटाउने पुष्टि भइसकेको छ । नेपाल सरकारले १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई लक्षित गरी यो खोप अभियान सञ्चालन गरेको हो ।

स्वास्थ्य कार्यालय प्रमुख शिव नेपाली अर्घाखाँची आएपछि चालु आर्थिक वर्ष २०८१/८२ मा औषधी व्यवस्थापनका लागि अनलाइन ईएलएमआईएस र ईएचएमआईएस प्रणाली लागू गरिएको छ । साथै, एक वडा एक स्वास्थ्य संस्था, एक तालिम प्राप्त स्वास्थ्यकर्मी कार्यक्रम, कुपोषित बालबालिकाको खोज तथा पोषण सुधार अभियान, नसर्ने रोग पहिचान तथा रोकथाम अभियान, स्थानीय तहमा स्वास्थ्य शाखाहरूको पारस्परिक भिजिट कार्यक्रम, खाद्य सुरक्षा तथा पोषण प्रवर्द्धन कार्यक्रम, विद्यालयस्तरीय किशोर-किशोरी रक्तअल्पता परीक्षण कार्यक्रम, सुत्केरी शून्य घर-संस्थागत सुत्केरी प्रवर्द्धन अभियान, पूर्ण किशोर-किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा अभियान, ट्राफिकसँग सडक दुर्घटना सम्बन्धी अन्तरक्रिया कार्यक्रम, फेमिली हेल्थ हिस्टोरी रेकर्ड संकलन अभियान लगायतका कार्यक्रम सञ्चालन भएका छन् ।

स्वास्थ्य कार्यालय अर्घाखाँचीले आगामी दिनमा मोबाइल स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?