टुलकुमारीले छाडिन् टुकी : राक्सिराङमा पहिलो पटक पुयो बिजुली

मन्जिता मैनाली मकवानपुर, संवाददाता
Read Time = 5 mins

हेटौँडा । हेटौँडाको राक्सिराङ गाउँपालिका-९, खैराङकी ७० वर्षीया टुलकुमारी प्रजा पहिलोपटक घरमा बत्ती बाल्न पाउँदा खुसीले गदगद हुनुहुन्छ । घरको मझेरीमाथिको निधालमा टलल बलिरहेको बत्तीको उज्यालोले उहाँको अनुहार झनै धपक्कै देखिएको थियो । घरै अगाडि रहेको फलामे खम्बाबाट तार ल्याएर आफ्नो घरमा बिजुली बलेपछिको खुसी उहाँको अनुहारमा सजिलै देख्न सकिन्थ्यो । खैराङमा जन्मनुभएकी टुलकुमारी भन्नुहुन्छ, ‘केही समय अघिसम्म टुकीमै रात बित्थ्यो । बत्ती नै आउँदा हर्षित छु । अब चाहिएन टुकी ।’

राक्सिराङ गाउँपालिका-९ कै २० वर्षीय रविसिंह ठकुरीको पनि खुसीको सीमा छैन । उहाँ भन्नुहुन्छ, ‘बिजुली नदेखेरै १० कक्षा पास गरे । मोबाइलको पसल राखेको छु । लाइन नहुँदा आफूले जानेको सीप पनि देखाउन पाएको थिइन् । बत्ती आएपछि गाउँमै केही गर्नसक्छु भन्ने आँट आएको छ । दुई/चार वर्ष अगाडि यसरी बत्ती आइदिएको भए अझै अपडेट भइन्थ्यो कि ।’

टुलकुमारी र रविसिंह मात्रै होइन, कार्लाङ र खैराङका स्थानीयहरू गाउँमा बिजुली पुगेपछि निकै खुसी देखिएका छन् । मकवानपुरको राक्सिराङ गाउँपालिकामा पहिलोपटक बिजुली पुगेको हो । ‘चेपाङलाई बिजुली’ कार्यक्रमअन्तर्गत राक्सिराङ गाउँपालिकाका पूर्ण वडा विद्युतीकरण घोषणा तथा उद्घाटन कार्यक्रम गर्दै पहिलोपटक बिजुली बालिएको हो । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सोमबार राक्सिराङ गाउँपालिका-९, खैराङमा रहेको ट्रान्समिटरको स्विच अन गरेर खैराङका बस्तीलाई झलमल्ल बनाउनुभयो । उहाँले टुलकुमारीकै घरको विद्युत्को मिटर पनि अन गर्नुभएको थियो ।

निर्देशक घिसिङले खैराङ पुगेर पहिलोपटक उक्त वडामा बिजुली बाल्नुभएको हो । कार्यक्रममा घिसिङले उक्त वडालाई थप बजेट आवश्यक परे प्राधिकरणले व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । गाउँमा टुकी बालेर पढेको स्मरण गर्दै बत्ती पुर्‍याएर उज्यालो दिनु सबैभन्दा महत्वपूर्ण भएको बताउनुभयो । देशभर सबै घरमा बत्ती पुर्‍याउने र निःशुल्क मिटर वितरणको कामसमेत गरिएको उहाँले बताउनुभयो । लाखौँ जनतालाई निःशुल्क मिटर वितरण गरिएको सुनाउँदै उहाँले आवश्यक परे प्राधिकरण अझै सहयोगका लागि तयार भएको बताउनुभयो । अब इन्डक्सन बालेर ग्यास प्रयोग कम गर्न उहाँले आग्रह गर्नुभयो । उक्त स्थानमा बत्ती आएसँगै दिगो विकासका लागि शिक्षालाई प्राथमिकता दिन उहाँको आग्रह छ ।

उहाँका अनुसार २०७३ मा आफूले प्राधिकरणको नेतृत्व लिँदा ५८ प्रतिशत नागरिकमा विद्युत्को पहुँच पुगेको र हाल ९९ प्रतिशत नागरिकमा विद्युत्को पहुँच पुगेको हो । निर्देशक घिसिङले ३०३ वटा विद्युत् मिटर उक्त वडाका विपन्न चेपाङलाई निःशुल्क वितरण गर्नुभएको थियो । टुकी र दियालोको उज्यालोमा जीवन व्यतित गर्दै आएका खैराङलगायत राक्सिराङका दुर्गम बस्तीका नौवटै वडाका चेपाङलगायत अन्य समुदायको घरमा सोमबारदेखि बिजुली बल्न थालेको छ । २०७८ को जनगणनाअनुसार २५ हजार ९९६ जनसंख्या रहेको उक्त पालिकामा पाँच हजार ४४ घरधुरी छन् ।

मकवानपुरको दुर्गम खैराङमा आव २०७६/०७७ देखि ‘चेपाङलाई बिजुली’ कार्यक्रम अघि बढाइएको थियो । पालिकाले आफ्नै स्रोत साधनले धिमा गतिमा विद्युत् पोल गाड्ने र तार तान्ने काम गरिरहेको थियो । जब प्राधिकरणका निर्देशक घिसिङले उक्त अभियानलाई साथ दिनुभयो, तब खैराङलगायत राक्सिराङ गाउँपालिकाका वडामा विद्युत्को पहुँच पुग्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
1 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?