
पाल्पा । डढेलो नियन्त्रणका लागि पाल्पाका वनहरुमा अग्निरेखा बनाउने र भएका अग्निरेखा सरसफाई गर्ने काम भइरहेको छ । गर्मी मौसम शुरु भएसँगै आगलागीका घटनाहरु बढ्दै गएपछि डिभिजन वन कार्यालयले डढेलो नियन्त्रणका लागि पूर्वसावधानी अपनाउँदै अग्निरेखा बनाउने कार्यलाई तिव्रता दिएको हो ।
वन कार्यालयले पाल्पाका १० वटै स्थानीय तहमा रहेका सब–डिभिजन वन कार्यालय अन्तर्गतका सामुदायिक वनहरुमा अग्निरेखा निर्माण र सरसफाई गरिरहेको छ ।
यहाँको ऐतिहासिक पर्यटकीयस्थल श्रीनगरडाँडाको जंगलमा अग्निरेखा निर्माण र पैदल मार्ग सरसफाई गरिएको छ । कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय उपभोक्ता सहभागी भएर पैदल हिड्ने क्षेत्र र अग्निरेखा सरसफाई गरेका छन् । श्रीनगरडाँडा वन क्षेत्रमा सल्ला प्रजातिका रुख छन् । गर्मीयाम सुरु भएपछि पटक–पटक यसक्षेत्रमा डढेलो लाग्ने गर्छ । हरेक वर्ष श्रीनगरडाँडाको सल्लेरी क्षेत्रका साथै वनदेवी क्षेत्रको देउराली सामुदायिक वन क्षेत्रमा डढेलो लाग्ने समस्या छ । त्यसको न्यूनिकरणका लागि अग्निरेखा बनाउने र सुकेका पात हटाउने काम गरिएको डिभिजन वन कार्यालयले जनाएको छ ।
श्रीनगरडाँडाका साथै जिल्लाका वनदेवी, तिनाउ, रिब्दीकोट रैनादेवी छहरा, माथागढी, बगनासकाली, रामपुर, निस्दी, पूर्वखोला, रम्भा लगायतका जंगलहरुमा अग्नि रेखा निर्माण, सचेतना अभियान, झाडी सरसफाई, लगायतका काम भएको छ । यस वर्ष पाल्पामा तीन वटा स्थानमा आगालगी भइसकेको छ । रिब्दीकोट गाउँपालिकाको वडा नं. १ र २, बगनासकाली गाउँपालिकाको दर्लमडाँडा क्षेत्रमा ठूलो डढेलो लागि सकेको छ ।
जिल्ला भित्रका वन जंगललाई डढेलोबाट जोगाउन अग्निरेखा र डढेलो व्यवस्थापनमा समुदाय परिचालन गरिएको डिभिजन प्रमुख नारायणदेव भट्टराईले बताउनुभयो । उहाँले वन डढेलो नियन्त्रण सबैको साझा जिम्मेवारी भएकाले डढेलो नियन्त्रणमा सबैले सहयोग गर्न आग्रह गर्नुभयो । प्रमुख भट्टराईले मानविय कारणले बढी डढेलो लाग्ने गरेको बताउनुभयो ।
उहाँका अनुसार जिल्लामा ९६ प्रतिशत मानविय कारणले डढेलो लाग्ने गरेको हो । डढेलो नियन्त्रणका लागि कार्यालयले व्यापक रुपमा काम गर्दै जाने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘हामी डढेलो नियन्त्रण गर्ने अभियानमा छौं, यसलाई सबैको सहयोग आवश्यक छ, आमनागरिकलाई सचेतना जगाउन सके पनि यो केही हदसम्म नियन्त्रण गर्न सकिन्छ, त्यसका लागि पत्रकारहरुको सहयोग आवश्यक छ ।’ उहाँले डढेलो लगाउनेलाई तत्काल वन ऐन अनुसार कारवाही गरिने समेत बताउनुभयो । भट्टराईले भन्नुभयो,‘आगो लगाउने जो कोहीलाई पनि हामी कानुनी कारवाही गर्छौ, यो वा त्यो भन्ने नाममा कसैलाई पनि छुट छैन् ।’ आगो लगाउनेलाई वन ऐन अनुसार ६० हजार जरिवाना र ३ वर्ष कैद हुने प्रमुख भट्टराईले बताउनुभयो ।
लामो समयदेखि पानी नपरेर सुक्खा मौसम बढेसँगै हावाहुरी चल्न सुरु भएकाले डढेलोका घटनाहरु बढ्दै गएको भन्दै त्यसतर्फ सतर्क रहन जिल्लावासीहरुलाई प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो ‘मानिस आफै सचेत भए डढेलोका घटनाहरु कम गर्न सकिन्छ, त्यसैले जथाभावी आगो बाल्ने नगरौं, सलाई लाइटर जस्ता प्रज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौं ।’ डढेलो लाग्न नदिऊ र लागि हाले क्षति हुनबाट जोगिन आमनागरिकलाई प्रमुख जिल्ला अधिकारी सुवेदीले भन्नुभयो । उहाँले जिल्लामा हुने आगालागीका घटनाहरुबाट क्षति हुन नदिन सुरक्षाकर्मी, दमकल तयारी अवस्थामा राखिएको समेत बताउनुभयो ।
प्रजिअ सुवेदीले जिल्लामा तानसेन र रामपुरमा मात्र दमकल रहेकाले अन्य पालिकाहरुमा पनि सोही अनुसारको व्यवस्था गर्न भनिसकेको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच