
रुपन्देही । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकमा अस्थिरता सिर्जना गर्दै शासन–सत्ता हातमा लिन खोजेको आरोप लगाउनु भएको छ ।
रुपन्देहीको कञ्चन गाउँपालिकामा आयोजित क्षेत्रीय सम्मेलनको उद्घाटन समारोहमा महामन्त्री थापाले १५ चैतमा काठमाडौंको तीनकुनेमा देखिएको घटनाले पूर्वराजाको नियत स्पष्ट गरेको बताउनु भयो ।
उहाँले भन्नुभयोे, “पूर्वराजा ज्ञानेन्द्र शाह नेपालमा उत्पात मच्चाएर, भाँडभैलो गरेर सत्ताकब्जा गर्न चाहनुहुन्छ । आफ्नो हातमा शासन सत्ता लिएर चलाउन चाहनुहुन्छ । यसमा लुकेको केही छैन । तर, उहाँको चाहना पूरा हुँदैन।”
महामन्त्री थापाले नेपालमा बेलायतको जस्तो संवैधानिक राजतन्त्र हुन नसक्ने बताउनु भयोे, “यहाँको राजसंस्था बेलायतको जस्तो होइन रहेछ । संवैधानिक भएर बस्न पटकपटक मौका दिँदा पनि यहाँका राजाहरूले शासन हातमा लिइरहे ।’’ त्यसपछि हामीसँग दुई विकल्प थिए – राजाको शासन कि जनताको शासन । नेपाली कांग्रेसले अनुभव, विवेक र ज्ञानको आधारमा अधिवेशनबाटै संवैधानिक राजतन्त्रलाई हटाएर गणतन्त्रलाई संस्थागत गरेको हो । ”
महामन्त्री थापाले कांग्रेसको इतिहास स्मरण गराउँदै भन्नुभयोे, “राजा त्रिभुवन नेपाल छाडेर भारत जाँदा बीपी कोइरालाले त्यतै छोडेर आउन पनि सक्नुहुन्थ्यो । तर, उहाँ त्रिभुवनलाई लिएर आउनुभयो । राजा महेन्द्रले २०१७ सालमा सैनिक ‘कू’ गर्दै जननिर्वाचित प्रधानमन्त्रीलाई आठ वर्ष जेल हाले । बीपी र गणेशमानले जति नै दुःख पाए पनि हामी संवैधानिक राजतन्त्र चाहन्छौं भनिरहनुभयो ।”
तर, दरबार हत्याकाण्डपछि राजा ज्ञानेन्द्रलाई गद्दीमा बसाउँदा पनि उहाँ संवैधानिक बन्न असफल भएको भन्दै थापाले भन्नुभयो, “गिरिजाप्रसाद कोइरालाले ज्ञानेन्द्रलाई राजगद्दीमा बसाएकै हो । तर, उनी संवैधानिक बस्न तयार भएनन् र माघ १९ को कदम चाले।”
माघ १९ को कदम चाल्नु अघिल्लो दिन शेरबहादुर देउवाले राजालाई भेटेर प्रजातन्त्र नमास्न आग्रह गरेको तर भोलिपल्टै देउवालाई जेल हालेको प्रसंग थापाले उल्लेख गर्नु भयो। थापाले आफू पनि राजसंस्थाप्रति आस्थावान रहेको स्मरण गर्दै भन्नुभयोे, “दरबार हत्याकाण्डमा राजा वीरेन्द्र मारिँदा १३ दिनसम्म कपाल खौरिएर पशुपतिको पारिपट्टी दिनभर बसेर फर्किन्थें । अभिभावक गुमाएको जस्तो लाग्थ्यो।” उहाँले राजतन्त्रप्रति आफ्नो धारणा परिवर्तन भएको उल्लेख गर्दै भन्नुभयो, “मलाई पहिलोपटक राजद्रोहको मुद्दा लागेपछि अदालतमा संविधान मान्छु, राजतन्त्र मान्छु भनेर बयान दिएको थिएँ । तर, दोस्रोपटक पनि राजद्रोहको मुद्दा लगाएपछि संविधान मान्दिनँ, राजतन्त्र मान्दिनँ भनेर बयान दिएँ । कलिलो उमेर थिएँ । तर, एक–दुई वर्षको अन्तरालमै जे अनुभव गरियो, त्यसले अब राजा बोक्न सकिँदैन भन्ने स्पष्ट बनायो ।”
महामन्त्री थापाले गणतन्त्र अब नेपालमा स्थायी भइसकेको दाबी गर्दै भन्नुभयो, “अब नेपालमा पुनः राजतन्त्र फर्किने सम्भावना छैन । पूर्वराजा ज्ञानेन्द्र शाह सत्ताकब्जा गर्ने खेलमा हुनुहुन्छ । तर, उहाँको चाहना पूरा हुँदैन । नेपाली कांग्रेस गणतन्त्रको रक्षा गर्न सधैं अग्रसर रहनेछ ।”
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच