
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छिमेकी राष्ट्र भारत नेपालमा राजतन्त्र फर्काउने पक्षमा नरहेको बताउनुभएको छ । गणेशमान सिंह फाउण्डेसनले सोमबार काठमाडौंमा आयोजना गरेको ‘नेपाल-भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरजीले पुर्याउनुभएको योगदान’ विषयक गोष्ठीमा बोल्दै सभापति देउवाले यस्तो बताउनुभएको हो । नेपालमा राजसंस्था पुनःस्थापनाको लागि भारतले उचाल्यो भन्ने हल्ला झुटो रहेको उहाँको भनाइ थियो । ‘अहिले फेरि राजसंस्था पुनःस्थापनाको लागि भारतले उचाल्यो भन्ने हल्ला पनि छ । यहाँ आदित्यनाथको फोटोसमेत छापियो,’ देउवाले भन्नुभयोे, ‘तर मलाई के थाहा छ भने आदित्यजीले भारतमा जुन हाम्रो दूतावास छ त्यहाँ गएर मेरो कुनै हात छैन । नेपाली जनताले जे चाह्यो त्यही हुन्छ । म राजा ल्याउने पक्षमा छैन भनेर आफैँले भन्नुभएको छ ।’
देउवाले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले समेत नयाँ दिल्लीस्थित नेपाली दूतावासमा गएर आफू राजतन्त्र फर्काउने पक्षमा नरहेको स्पष्टीकरण दिइसकेको पनि बताउनुभयो । नेपालमा प्रजातन्त्र स्थापना गर्नमा समेत भारतीय पूर्वप्रधानमन्त्री चन्द्रशेखरको ठूलो योगदान रहेको देउवाको भनाइ छ । ‘उहाँले नेपालमा प्रजातन्त्र स्थापना गर्नको लागि धेरै ठूलो सहयोग गर्नुभएको छ, ठूलो योगदान छ । ऊ बेला भारतले नेपालमा कहिल्यै प्रजातन्त्र चाहँदैन भन्ने थियो,’ देउवाले भन्नुभयो, ‘चन्द्रशेखरजी आएपछि प्रजातन्त्रको खिलापमा छैन भारत भन्ने पुष्टि भयो । त्यसपछि त हामीले ठूलो आन्दोलन गरेर गणतन्त्रसमेत ल्यायौँ ।’ नेपालमा गणतन्त्र स्थापना भएको धेरै वर्ष नभएको भन्दै सभापति देउवाले राजनीतिक दलहरूले मिलेर यसलाई मजबुत बनाउन जरुरी रहेको बताउनुभयो ।
नेपाल-भारत बीचको सम्बन्ध सधैँ मजबुत र सन्तुलित बनाउनुपर्छ : उपप्रधानमन्त्री सिंह
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल-भारत बीचको सम्बन्ध सधैँ मजबुत र सन्तुलित बनाउनुपर्नेमा जोड दिनुभएको छ । गणेशमान सिंह फाउण्डेसनले सोमबार आयोजना गरेको गोष्ठीमा बोल्दै उहाँले जुनसुकै पार्टीको सरकार भए पनि दुवै देशको हित हुनेगरी अगाडि बढ्नुपर्ने बताउनुभयो । उपप्रधानमन्त्री सिंहले नेपाल-भारत बीचको सम्बन्ध सुदृढ गर्नुमा भारतीय पूर्वप्रधानमन्त्री चन्द्रशेखरको भूमिका अत्यन्त महत्वपूर्ण रहेको समेत बताउनुभयो । उहाँले भन्नुभयोे, ‘नेपाल-भारत बीचको जुन सम्बन्ध छ । सरकार जेसुकै होस् जसको होस् । भारतमा होस् वा नेपालमा जुनसुकै पार्टीको सरकार होस् । दुवै देशबीचको सम्बन्ध मजबुत र सन्तुलित राख्यौँ भने दुवै देशको हित हुन्छ । दुवै देशको हित हुने कुरामा हामी सबैले जोड दिनुपर्छ ।’ गणेशमान सिंह र भारतीय चन्द्रशेखर बीचको सुमधुर सम्बन्ध र चरित्रका कारण नेपाल-भारत बीचको सम्बन्ध सुदृढ हुन पुगेको उहाँको भनाइ छ ।
डेमोक्रेसीबाहेक नेपालको अर्को बाटो छैन : ज्ञवाली
नेकपा (एमाले) का नेता तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालले डेमोक्रेसीबाहेक अर्को कुनै बाटो नरोज्ने प्रष्ट पार्नुभएको छ । सोमबार काठमाडौंमा आयोजित गोष्ठीमा बोल्दै ज्ञवालीले यस्तो बताउनुभएको हो । ‘गणतन्त्रको विकल्प अझ परिष्कृत गणतन्त्र हो तर, यहाँभित्र रहेका कमजोरीहरूलाई उपयोग गर्दै अरू कसैले अर्कोतिर बहकाउन खोज्छ भने त्यो सम्भव हुँदैन । म हाम्रा प्रिय भारतीय मित्रहरूलाई पनि नेपालले डेमोक्रेसीबाहेक अर्को कुनै बाटो रोज्ने छैन, कसैले त्यो दिशातिर धकेल्न खोज्यो भने पनि त्यो किमार्थ सफल हुने छैन भन्ने कुरालाई बुझिदिनका लागि अनुरोध गर्दछु,’ उहाँले भन्नुभयो । उहाँले डेमोक्रेसीमा डेमोक्रेसीकै पनि विरोध गर्न पाइने तर, त्यसलाई उल्ट्याउन खोज्नु सकारात्मक कुरा नहुने बताउनुभयो । नेपालले डेमोक्रेसीका ३५ मध्ये २० वर्ष कन्फिलकट-पोस्टकन्फिलक्टकै तहमा बिताएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘आज नेपाल जहाँ छ, गर्व गर्ने ठाउँमा छ । जनताका असन्तुष्टिहरू भड्काउने काम भएको छ । जुन ढंगले प्रजातन्त्रभन्दा बाहिर नेपालको भविष्य छ भनेर धमिलो पानीमा माछा मार्ने प्रयत्न भएका छन्, ती बिल्कुल गलत छन् ।’ उहाँले समस्या समाधानका लागि मिलेर काम गर्नुपर्ने आवश्यकता रहेको औँल्याउनुभयो ।
नेपाल-भारतको सम्बन्ध पुरानो पुस्ता जस्तो रहेन : पूर्वराजदूत बराल
भारतका लागि नेपालका पूर्वराजदूत लोकराज बरालले भारतसँग रहेको सम्बन्धलाई नेपालले बिर्सेको बताउनुभएको छ । सोमबार गणेशमान सिंह फाउण्डेसनले आयोजना गरेको गोष्ठीमा बोल्दै उहाँले नेपाल र भारत बीचको सम्बन्ध बहुआयामिक रहेको भए पनि नेपालले त्यसलाई एकनासले अगाडि बढाउन नसकेको उहाँले गुनासो गर्नुभयो । भारतका पूर्व प्रधानमन्त्री चन्द्रशेखरलाई पहिलोपटक न्युरोडको पत्रिका पसलमा भेटेको बताउनुभएको छ । पत्रिका पसलमा पत्रिका पढ्दै गरेको अवस्थामा फेला परेको मान्छेसँग चिनजान भएको बताउँदै उहाँले चन्द्रशेखरको नाम आउनेबित्तिकै संघर्षशील र इमानदार नेताको रूपमा सम्झना आउने गरेको बताउनुभयो । गणेशमान सिंहलाई लौहपुरुष भने पनि उहाँ निकै नरम व्यक्ति रहेको चर्चा गर्दै उहाँले पार्टीका नेता तथा अन्य व्यक्तिलाई पनि निकै माया गर्ने गरेको बताउनुभयो । गणेशमान सिंह कुनै कुरामा निकै प्रतिबद्ध रहेको बताउँदै उहाँले भारत र नेपालका नेताहरूको बीचमा पहिला जुन सम्बन्ध थियो त्यो सम्बन्ध अहिले नरहेको बताउनुभयो । चन्द्रशेखरले नेपालमा सबैभन्दा बढी आदरभाव गर्ने नेता गणेशमान सिंह रहेको कुरा आफूसँग भनेको भन्दै नेता भदौरियाले गणेशमान नेपालको महत्मा गान्धी भएको समेत बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच