
भोजपुर । मुन्दुम पदमार्गको चखेवा जाऔँ, रैथाने खाना र स्थानीय संस्कृतिमा रमाऔँ भन्ने नाराका साथ रैथाने खाना र संस्कृति प्रवद्र्र्धन गरी पर्यटन विकास गर्ने उद्देश्यसहित भोजपुरको चखेवामा सोमबारदेखि खाना महोत्सव हुँदैछ । मंगलबारसम्म सञ्चालन हुने महोत्सवमा टेम्केमैयुङ गाउँपालिका वडा नम्बर ४, नागीमा पर्ने चखेवामा स्थानीयस्तरका खानाका स्टल रहनेछन् । पुष्पलाल मध्यपहाडी राजमार्गअन्तर्गतको यो क्षेत्र मुन्दुम पदमार्ग क्षेत्र हो । गाउँपालिकाको आयोजनामा एक लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ मुन्दुुम पदमार्ग भ्रमण वर्ष २०२५ चलिरहेका सन्दर्भमा नयाँ वर्षसँगै दुईदिने रैथाने खाना महोत्सवसमेत हुन लागेको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘रैथाने खाना प्रवद्र्धनले पर्यटन विकास र स्थानीय अर्थतन्त्र सुधारमा समेत टेवा पुग्नेछ, यसले मुन्दुम पदमार्गको प्रचारप्रसारसँगै आन्तरिक तथा बाहृय पर्यटन प्रवद्र्धनमा समेत सहयोग मिल्छ ।’ महोत्सवमा स्थानीयस्तरका परिकारहरू कोदो, फापर, मकै, भटमासलगायतका विभिन्न परिकारका स्वादहरू लिन सकिने आयोजकले जनाएको छ ।
गाउँपालिकाको संयोजक तथा चखेवा बजार तथा शहरीकरण व्यवस्थापन समितिको आयोजनामा महोत्सव हुने भएको हो । महोत्सवका लागि कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालय, स्विस सरकार विकास सहयोग एसडिसी र पदमार्गमा आधारित पर्यटन विकास परियोजनाको सहयोग रहने आयोजक संस्थाका अध्यक्ष आइकुमार राईले बताउनुभयो ।
रैथाने खानाको संरक्षण गरी आर्थिक आयआर्जनमा समेत सहयोग गर्ने महोत्सवको उद्देश्य रहेको उहाँको भनाइ छ । सरकारको एक सय पर्यटकीय गन्तव्यमा समावेश मुन्दुम ट्रेललाई चिनाउँदै आन्तरिक तथा बाहृय पर्यटन प्रवद्र्धनका लागि गाउँपालिकाले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । टेम्केमैयुङ गाउँपालिकाले आफूसँगै मुन्दुम ट्रेलसँग जोडिएको स्थानीय तहहरू खोटाङको साकेला, रुपाकोट र केपिलासगढी गाउँपालिका, भोजपुरको साल्पासिलिछो गाउँपालिका, भोजपुर नगरपालिका, षडानन्द नगरपालिकासँगको समन्वयमा गाउँपालिकाले एक लाख पर्यटक भित्र्याउने योजनासहित सन् २०२५ लाई भ्रमण वर्षका रूपमा मनाउँदै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच