डिबी शर्मा/हिटा
काठमाडौं । देशको राजधानी सहर काठमाडौं । यहाँको मुख्य समस्या फोहोर व्यवस्थापन, खानेपानी र सडकका खाल्डाखुल्डी । स्थानीय जनप्रतिनिधिदेखि संघीय सांसदसम्मको चुनावी प्रतिबद्धता यिनै समस्या समाधान गर्ने भन्ने हुन्छ । तर, समस्या अहिले पनि ज्यूँका त्यूँ छ । स्थानीय तह निर्वाचन २०७९ काठमाडौं महानगरको मेयरमा निर्वाचित बालेन्द्र साह (बालेन)ले पनि आफ्नो मुख्य र पहिलो उद्देश्य राजधानीको फोहोर व्यवस्थान नै भएको बताउनुभएको छ । उहाँले सार्वजनिक रुपमै भन्नुभएको छ, ‘फोहोर व्यवस्थापन नहुन्जेल खादा-माला र अबिर लाउँदिनँ, सेलिब्रेसन पनि गर्दिनँ । फोहोर व्यवस्थापन पहिलो प्राथमिकता हो ।’
मेयर साहले आफ्नो प्रतिज्ञाअनुसार अहिलेसम्म खादा र माला त लगाउनुभएको छैन तर समस्या समाधानमा विलम्ब हुन्छ कि भन्ने आशंका धेरैलाई छ । उहाँले फोहोर व्यवस्थापन गर्ने विषयमा पहिलो नगर कार्यपालिका बैठकमा प्रस्ताव पनि लैजानुभयो । प्रत्यक्ष प्रसारण गरिएको कार्यपालिका बैठकमा विभिन्न विकल्पबारे छलफल भयो । मेयर, उपमेयर र वडाध्यक्षहरूले तर्क-वितर्क गरे । व्यवस्थापनका विभिन्नि उपाय सुझाए । कसैले अहिलेको अवरोध हटाएर फोहोर उठाउन थाल्नुपर्ने बताए । फोहोर घरबाटै छुट्याउनुपर्नेमा प्रायः सबैको एकमत देखियो । तर, दीर्घकालीन समाधान के ? यसबारे टुंगो लागिसकेको छैन ।
फोहोर व्यवस्थापनबारे अध्ययन गर्न समिति बनाउने निर्णय पहिलो कार्यपालिका बैठकले गर्यो । पदबहाली गरेकै दिन कार्यपालिका बैठक राखेर दीर्घकालीन उपाय खोजी गर्न भन्दै मेयर, उपमेयरसहित वडाध्यक्षहरू राखेर कार्यदल गठन गर्ने निर्णय नगर कार्यपालिकाले गरेको थियो । कार्यदलले कहिलेसम्म फोहोर व्यवस्थापनको दीर्घकालीन उपाय खोजी गर्ने टुंगो लागिसकेको छैन । यसले कहिलेसम्म दीर्घकालीन उपायको खोजी गरिसक्छ भन्ने पनि यकिन छैन ।
कार्यदल सफल होला ?
पहिलो कार्यपालिका बैठकले कार्यदल बनाउने निर्णय गरे पनि यसबाट काम फत्ते हुनेमा धेरैले आशंका गरेका छन् । कार्यदलको बनोट र संरचनाले महानगरको फोहोर व्यवस्थापन झन् चुनौती हुने विज्ञहरूको दाबी छ । कार्यदल गठनको अवधारणा सही भए पनि प्रक्रियाले नतिजा दिन नसक्ने टिप्पणी भइरहेका छन् ।
‘केही निर्वाचित प्रतिनिधि राखेर घरघरको समस्या कसरी समाधान हुन्छ ? फोहोर व्यवस्थासम्बन्धी काम गर्दै आउनुभएका एकजना विज्ञले भन्नुभयो, ‘यो समस्या सबैको साझा हो । कम्तीमा हरेक वडामा अध्यक्षको नेतृत्व रहनेगरी, सबै जनप्रतिनिधिहरूलाई समेटेर अगाडि बढ्यो भने पो नैतिक रुपमा पनि उनीहरू जिम्मेवार हुन्छ नि !’
पहिलो कार्यपालिका बैठकमा विभिन्न वडाअध्यक्षहरूले मेयरसँग गरेको बाझाबाझले पनि एकदुई वडाका प्रतिनिधि राखेर मात्रै समस्या समाधान हुन नसक्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘सबैकुरा पहिलो दिन नै छर्लंग भएको छ । त्यहाँ वडाध्यक्षहरूले कसरी मेयरलाई र्याखर्याख पारे । यस्तो अवस्थामा ३२ वडा रहेको महानगरभित्रको फोहोरको समस्या पार्टीमा भाग लागेर चार÷पाँच जनाले समाधान गर्न सक्छन त ?’
महानगरमा फोहोर व्यवस्थापनको दीर्घकालीन उपाय खोजिभइरहँदा शहरका विभिन्न ठाउँमा भने फोहोर थुप्रिएको छ । नियमित उठ्न नसकेका कारण सडक, चोक र गल्ली-गल्लीमा फोहोर थुप्रिन थालेको हो । कतिपय ठाउँमा भने फोहोर उठाउन थालिएको छ ।
उसो त महानगरमा फोहोर थुप्रिन थालेको अहिले मात्रै होइन । नियमित फोहोर उठ्न छोडेकै चार महिना भइसक्यो । ल्यान्डफिल साइट क्षेत्र जाने सडक र सिसडोलमा भएको पटक-पटकको अवरोधका कारण काठमाडौंको फोहोर नियमित रुपमा व्यवस्थापन हुन नसकेको चार महिनाभन्दा बढी भयो । एकातिर स्थानीयको आन्दोलन, अर्कोतिर फोहोर फाल्ने विषयमा नीति के हुने भन्ने स्पष्ट नभएपछि फोहोर नियमित उठ्न छोडेको हो ।
कसरी समाधान हुन सक्छ ?
काठमाडौंको फोहोर व्यवस्थापन दीर्घकालीन रुपमा नै गर्नेगरी प्रयास नभएका होइनन् । फोहोरको राजनीति र त्यसभित्रको आर्थिक चलखेलका कारण समस्या ज्यूँका त्यूँ छ । यसको दीर्घकालीन समाधानका लागि सबैभन्दा पहिले सिसडोलवासीको माग सम्बोधनमा महानगर गम्भीर हुनुपर्ने विज्ञहरूको सुझाव छ ।
वर्षौंदेखि जारी रहेको डम्पिङ साइटको निर्माणमा महानगरले तदारुकता देखाउनुपर्ने उनीहरूको भनाइ छ । यस्तै, मेयर साहले सबै दलका सबै प्रतिनिधिहरूसँग प्रतिबद्ध भएर नैतिक रुपमा जिम्मेवार बनाउने सके यो समस्या समाधानतर्फ जाने सुझाव विज्ञहरूको छ । महागनर भित्र फोहोर उत्पादन हुने क्षेत्र तथा घरहरूमा सहुलियत रुपमा डस्टविनको व्यवस्था गर्ने र कुहिन नकुहिने फोहोर व्यवस्थापन गर्न लगाउने गर्दा समस्या समाधान हुने तर्क विज्ञहरूको छ ।
उसो त महानगरमा फोहोर थुप्रिन थालेको अहिले मात्रै होइन । नियमित फोहोर उठ्न छाडेकै चार महिना भइसक्यो । ल्यान्डफिल साइट क्षेत्र जाने सडक र सिसडोलमा भएको पटक-पटकको अवरोधका कारण काठमाडौंको फोहोर नियमित रुपमा व्यवस्थापन हुन नसकेको चार महिनाभन्दा बढी भयो । एकातिर स्थानीयको आन्दोलन, अर्कोतिर फोहोर फाल्ने विषयमा नीति के हुने भन्ने स्पष्ट नभएपछि फोहोर नियमित उठ्न छाडेको हो ।
निर्वाचनमा सबैजसो उम्मेदवारले यसैलाई मुद्दा बनाए । तर, त्यही फोहोरका डंगुर पार गर्दै उनीहरूले चुनाव प्रचार गरे । तर, अहिलेसम्म पनि फोहोर नियमित उठ्न सकेको छैन ।
बाहिर नफाल्न महानगरको आग्रह
महानगरले माइकिङ गरेर फोहोर बोक्ने गाडी नआएसम्म बाहिर नफालिदिन आग्रह गरिरहेको छ । चोक र गल्लीमा फोहोरका रास लागेपछि महानगरवासीलाई फोहोर बाहिर ननिकाल्न आग्रह गरिएको हो । तर, महानगरको आग्रह बेवास्ता गर्दै चोक चोकमा फोहोर थुपार्न भने बन्द भएको छैन ।
काठमाडौं महानगरपालिका वातावरण विभाग प्रमुख सरिता राई महानगरको फोहोर उठाउन ठाउँ ठाउँमा अवरोध हुने गरेको बताउनुहुन्छ । फोहोर उठाउनेदेखि लैजान र खसाल्ने ठाउँसम्म बेलाबेलामा हुने अवरोधले फोहोर उठाउन समस्या भएको उहाँको भनाइ छ । दीर्घकालीन समाधान नभएसम्म केही समय फोहोर उठे पनि फेरि अवरोध भइरहने उहाँले बताउनुभयो । ‘फोहोर उठाउन अवरोधै अवरोध हुन्छ । कहिले उठाउनेबेला अवरोध हुन्छ,’ उहाँले भन्नुभयो, ‘उठाउनेबेलादेखि बाटोमा र विसर्जन गर्ने ठाउँसम्म अवरोध हुन्छ । धेरै समय अवरोधले नै फोहोर उठ्न दिँदैन । यसको दीर्घकालीन समाधान नखोजेसम्म यस्तो भइरहने देखिन्छ ।’ यसअघि महानगरले कुहिने र नकुहिने फोहोर छुट्याएर मात्रै बाहिर फाल्न आग्रह गरेको थियो । त्यो पनि पूर्ण रूपमा कार्यान्वयन हुन सकेन ।
सिसडोलबासी भन्छन्- माग पूरा नभएसम्म फोहोर फाल्न दिन्नौँ
काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित साहले शपथग्रहण अगाडि नै १४ जेठमा ल्यान्डफिल साइटको अनुगमन गर्नुभएको थियो । सिसडोल र बञ्चरेडाँडा क्षेत्र पुगेर स्थानीय वासिन्दासँग छलफल गर्नुभएका उहाँले स्थानीयको मुद्दा सम्बोधन गर्ने र परम्परागत विधिबाट फोहोर व्यवस्थापन नगर्ने आश्वासन दिनुभएको थियो । अव्यवस्थित तरिकाले फोहोर विसर्जन गरेका कारण सिसडोल क्षेत्रको हरेक घरमा क्यान्सर, छाला रोगका बिरामी भएको भन्दै अब यस्तो पाप नगर्ने बताउनुभएको थियो ।
उहाँले सिसडोल र बन्चरेडाँडा ल्यान्डफिल साइटका स्थानीयसँग अनौपचारिक वार्तासमेत गर्नुभएको थियो । स्थानीयले साहले गरेका वाचा पूरा नगरेसम्म फोहोर विसर्जन गर्न नदिने अडान राखेका छन् । वाचा पूरा नभएसम्म फोहोर फाल्न नदिने उनीहरूको अडान छ ।
फोहोर व्यवस्थापनको समस्या काठमाडौं महानगरपालिकाको मात्रै होइन । उपत्यकाका १८ स्थानीय तहको फोहोर विसर्जन गर्ने दीर्घ समाधान हुन नसक्दा पटक-पटक समस्या उत्पन्न हुने गरेको छ । काठमाडौं उपत्यकाका १८ स्थानीय तहको फोहोर नुवाकोटस्थित सिसडोलमा व्यवस्थापन हुँदै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच