जातीय छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाइँदै

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाल छुवाछुतमुक्त घोषणा भएको आज १६ वर्ष पूरा भएको छ । सोही अवसरमा आज जातीय छुवाछुत उन्मूलन राष्ट्रिय दिवस, देशभर जनचेतनामुलक कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

२०६३ साल जेठ २१ गते सरकारले नेपाललाई ‘जातीय छुवाछुत मुक्त राष्ट्र’ घोषणा गरेको सम्झनामा हरेक वर्ष जेठ २१ गतेलाई ‘जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस’ का रूपमा मनाउने गरिन्छ ।

२०५८ साल साउन ३२ गते छुवाछुत अन्त्य गर्ने प्रतिबद्धतासहित राष्ट्रिय दलित आयोगको स्थापना भएको थियो । नेपालको संविधानमा जातीय भेदभाव तथा छुवाछुत विरुद्धको हक र सामाजिक न्यायको हक जस्ता मौलिक हकको व्यवस्था गरिएको छ ।

नेपालमा लोकतन्त्रको स्थापना र पुनर्बहालीसँगै सबै किसिमका विभेद अन्त्य गर्न पटक–पटक सार्वजनिक घोषणा भएका छन् । तर, समाजमा रहेको सोच र चेतनास्तरका कारणले व्यवहारमा जातीय भेदभाव तथा छुुवाछुत प्रथाको पूर्ण अन्त्य हुन सकेको छैन ।

सन् २०२० मा राष्ट्र संघले गरेको सर्वेक्षण अनुसार ९७ प्रतिशत दलित जातीय विभेद र छुवाछुतबाट पीडित रहेका छन् । तर तीमध्ये धेरैले उजुरी गर्ने आँट गरेको पाइँदैन । पछिल्लो नौ वर्षमा मात्रै छुवाछुतका २२५ वटा घटना भएका छन् ।

दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले जातीय भेदभाव तथा छुवाछूत अन्त्यका लागि कानूनको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले छुवाछूत अन्त्यका लागि सामाजिक चेतना र जागरण अभिवृद्धिका लागि क्रियाशील रहन तीनै तहका सरकार र सरोकार निकायलाई पनि आग्रह गर्नुभएको छ। पुरातन सोच, आर्थिक विषमता र न्यून चेतनाका कारण जातीय भेदभाव तथा छुवाछूत अझै अन्त्य हुन नसकेको राष्ट्रपति भण्डारीको भनाइ छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?