पाल्पा । पाल्पाको तानसेनस्थित बतासेडाँडामा श्रीनगर डबलीको काम अगाडि बढेपछि कैलाशनगरका दीपक अधिकारी निकै खुसी हुनुुभयो । आफ्नै टोलमा सांस्कृतिक डबली निर्माण हुुँदा टोलको मात्र नभई सिंगो तानसेन नै रमणीय र सुन्दर देखिने आशामा अधिकारी निकै उत्साहित हुनुुभएको थियो । अधिकारीसँगै स्थानीय सुुमन भट्टराई पनि डबली निर्माणले पर्यटकको आगमनसमेत बढ्ने भयो भन्दै खुसी हुुनुुभयो । स्थानीय कलासंस्कृतिको संरक्षण गर्ने उद्देश्यले करोडौँको लगानीमा हिमश्रृँखलाको अवलोकन गर्न सकिने ठाउँमा श्रीनगर सांस्कृतिक डबलीको निर्माण कार्यले तीव्रता पाएसँगै उत्साहित भएका तानसेनवासी यतिबेला भने निरास भएका छन् । डबली निर्माणको कार्य पूरा नहुँदै अलपत्र परेपछि उनीहरूमा निराशा छाएको हो ।
लुम्बिनी प्रदेश सरकारले पाल्पालाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने योजनाका साथ तानसेनको कैलाशनगर र तिनाउको नुवाकोटमा खुला सांस्कृतिक डबली निर्माणको कार्य अगाडि बढाएको हो । प्रदेश सरकार उद्योग वन वातावरण तथा पर्यटन मन्त्रालयले पाल्पामा पर्यटकीय गन्तव्यहरूको विकास गर्ने क्रममा जिल्लाका दुई स्थानमा सांस्कृतिक डबली निर्माण गरेको हो । प्रदेश सरकारले तानसेन नगरपालिका–५ कैलाशनगर र तिनाउ गाउँपालिका-२ नुवाकोटमा सांस्कृतिक डबली निर्माणको कार्य थालेको थियो । डिभिजन वन कार्यालय पाल्पामार्फत श्रीनगर सांस्कृतिक डबली ६ करोड ८० लाखमा काठमाडौंको प्रतिष्ठा कन्ट्रक्सन प्रालि नामको निर्माण कम्पनीले ठेक्का लिएको र काम सकिने बेलामा पूरा कामै नगरी, वर वुजारत नै नगरी भागेपछि डबली दुुई वर्षदेखि अलपत्र परेको हो ।
तिनाउ गाउँपालिकाको नुवाकोटमा निर्माण भइरहेको सांस्कृतिक डबली तीन करोड ८४ लाखमा धुलिखेल निर्माण सेवाले काम गरेको छ । तर, यो पनि अहिले अलपत्र छ । लुम्बिनी प्रदेश सरकारका तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलले शिलन्यास गर्नुभएको डबलीको २०७८ सालको असार ७ गते निर्माण कार्य पूरा गर्ने गरी २०७६ सालको असार १५ गते ठेक्का सम्झौता भएको हो । करोडौँमा निर्मित डबली हालसम्म न त पुरा हुन सक्यो न त निर्मित संरचनाको संरक्षण हुन सक्यो । एक पछि अर्को गरी खण्डहरमा परिणत हुँदै गएको स्थानीयहरूको भनाइ छ ।
निर्माण कम्पनीको कामको नियमन तथा अनुगमन गर्ने निकाय नै रमिते हुृँदा निर्माण कार्यको ६० प्रतिशत पुरा हुन नपाउँदै डबलीको भित्री भाग जंगलमा परिणत हुन पुगेको छ । सम्बन्धित निकायले यस विषयमा वास्तै गरेको छैन् । पर्यटकीय रूपमा अत्यन्तै महत्वका साथ हेरिएको यो डबलीभित्र झार उम्रिएको छ भने फोहोर थुप्रिएको अवस्था छ । लुम्बिनी सरकारको नेतृत्व शंकर पोखरेलले गर्दासम्म उद्योग वन तथा वातावरण मन्त्रालयअन्तर्गत जिल्लामा डिभिजन वन कार्यलयबाट निर्माण स्थलमा नियमित रूपमा रेखदेख हुन्थ्यो । जब पोखरेलको नेतृत्व परिवर्तनसँगै मन्त्रालय विभाजन भयो । रेखदेखको जिम्मेवारी पनि स्थानान्तरण भएका कारणले यस्तो समस्या आएको वन कार्यालयका सम्बद्ध कर्मचारीहरू बताउँछन् ।
डबलीको स्वामित्व लिनका लागि नगर सरकारले पटकपटक प्रदेश सरकार समक्ष लिखित रूपमा माग गर्दा पनि कुनै सुनुवाइ नभएको तानसेन नगर सरकारका प्रमुख सन्तोष लाल श्रेष्ठले बताउनुुभयो । नगर सरकारले स्वामित्व पाए निर्माण कम्पनीलाई ताकेता गरेरै भए पनि निर्माण कार्य अगाडि बढाउन सकिने उहाँको भनाइ छ । राजनैतिक खिचातानीमा बाँझिएको डबली सरकार परिवर्तनसँगै भैरहवाको पर्यटन डिभिजन कार्यलाई रेखदेखको जिम्मेवारी दिएका कारण यस्तो समस्या आएको नगरका जनप्रतिनिधिहरू बताउँछन् । ‘निर्माण व्यवसायीलाई कुन निकायले ताकेता गर्ने ? भैरहवाबाट रेखदेख गर्न कठिन भएको छ । यसको नियमन तथा अनुगमनको लागि डिभिजन वन कार्यालयलाई जिम्मेवारी दिएको खण्डमा काममा सहज हुने’ डिभिजन वन कार्यालयका प्रमुख नारायण देव भट्टराई भन्नुुहुुन्छ ।
खुल्ला सांस्कृतिक डबलीमा स्टेज, स्टेज अगाडि हरियो दुवो सहितको दर्शक कक्ष, कलाकारहरूको चेन्जिङ रुम, कोलसेट, शौचालय, गार्ड हाउस, टिकट काउण्टर, अफिस कोठा र पार्किङसहितको सुविधा रहेको छ । यसको ९० प्रतिशत काम सकिए पनि थप दश प्रतिशत काम बाँकी नै छ । तानसेनको डबलीमा पाँच सय जना अट्ने क्षमता रहेको छ । तिनाउ गाउँपालिकाको नुवाकोटगढीमा निर्माण भएको सांस्कृतिक डबलीभित्र स्टेडियम, कफी हाउस, पार्किङस्थल, बाउन्ड्री, बस्ने स्थल, हरियाली बगैँचा निर्माण गरिएको छ । स्वास्थ्य जाँच केन्द्र, टिकट घर तथा सुरक्षा गार्ड बस्ने घरमा समेत निर्माण भएको छ । डबलीभित्र पाँच सयजना बसेर नाच तथा सांस्कृतिक प्रस्तुति अवलोकन गर्न सकिन्छ ।
कोभिड-१९ को कारण थला परेका होटल रेष्टुराँहरू सांस्कृतिक डवलीको निर्माण भए पर्यटकको आगमन बढ्नेमा होटल श्रीनगर प्रालिका म्यानेजर अशोक थापाले विश्वास व्यक्त गर्नुभयो । भारतीय नाका सुनौलीबाट ३० किलोमिटर, बुटवलबाट पाँच किलोमिटरको दूरीमा रहेको पाल्पा तिनाउ नुवाकोटमा निर्माण भइरहेको सांस्कृतिक डवलीले यस क्षेत्रकै कलासंस्कृतिको जगेर्ना गर्नेछ । तराई क्षेत्रबाट जाडोमा घाम ताप्न र गर्मीमा चिसो मौसममा रमाउन, विभिन्न सांस्कृतिक कार्यक्रमको समग्र दोभान नुवाकोट क्षेत्रको पर्यटन विकासमा टेवा पुग्ने छ । अंग्रेज युद्धमा नेपालले निर्माण गरेका युद्धका गढीहरू, भैरव मन्दिरसँगै ऐतिहासिक सम्पदाहरू विकास तथा प्रचार–प्रसार भई पर्यटन विकासमा थप टेवा पुग्ने धेरैले विश्वास लिएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच