पशुपतिनाथको जलहरीमा सुन हो कि पित्तल ? यस्तो छ संसद बाहिर नेताहरुको प्रतिक्रिया

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले पशुपतिको जलहरीको विषयमा छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्नुभएको छ ।

शुक्रवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले पशुपतिनाथ मन्दिरमा जलहरी लगाउँदा सुन कम भएको कुरा आएको भन्दै सो विषयमा छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्नुभएको हो । उहाँले आफूले जलहरीको कुरामात्रै संसदमा नउठाएको भन्दै उहाँले केपी ओली नेतृत्वको सरकारमा भएका भ्रष्टाचारका विषयहरु उठाएको र तत्कालिन प्रधानमन्त्रीको हैसियतले ओलीले जिम्मेवारी लिनुपर्ने भनेको बताउनु भयो । आफुले ओलीलाई व्यक्तिगत रुपमा किटान नगरेको उहाँको भनाई छ । उहाँले आफूले संसदीय मर्यादा उल्लंघन नगरेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो – ‘पशुपतिनाथमा जलहरी लाउँदा सुन भनेर पित्तल लगाएको काण्ड, ११ किलो सुन कम भएको महालेखाको प्रतिवेदनमा पनि आएको छ । महालेखाको प्रतिवेदनमा पनि के देखिन्छ भने त्यहाँ हिसाव प्रष्ट नभएको, सुन कम भएको, ज्याला दिएको पनि कुनै लेखांकन नभएको भनेर प्रतिवेदन दिएको तथ्यको आधारमा उहाँको सरकारको पालामा भएको भ्रष्टाचारका काण्डहरु किन नियन्त्रण गर्न सक्नुभएन यसको नैतिक जिम्मेवारी प्रधानमन्त्रीको हैसियतले तपाइले लिनुपर्छ कि पर्दैन भन्ने सन्दर्भमा बोलेको कुरालाई उहाँहरुले अनावश्यक इस्यु उठाइरहनुभएको छ मेरो गम्भिरतापूर्वक माग के छ भने संसदीय छानविन समिति गठन गरौँ । त्यो सुन कसले खायो ? नैतिक हिसावले सरकारको नेतृत्व गरेको नाताले तत्कालिन नेकपाको अध्यक्ष र प्रधानमन्त्री भएको नाताले स्वभावैले केपी ओलीले लिनैपर्छ । तर व्यक्तिगत हिसाबले किटान गरिएको थिएन । उहाँको सरकारको पालामा भएको भ्रष्टाचारको फेहरिस्त बताउने क्रममा यो विषयवस्तु उठान भएको । मैले कही संसदीय मर्यादा उल्लंघन गरेको छैन । मेरो बोल्न पाउने अधिकार म सँग सुरक्षित छ नि । मैले आफ्नो अधिकार प्रयोग गरेको हुँ । कसैको अधिकारमाथि हस्तक्षेप गरेको छैन ।’

नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले सभामुखले प्रतिनिधि सभा बैठकमा मन्त्रीलाई जवाफ दिन रुलिङ गरेको भए संसद बैठक चल्ने धारणा राख्नुभयो । उहाँले संसद नचलाउने नियत देखिएको बताउनु भयो । उहाँले भूटानी शरणार्थी मुद्दालाई विषयान्तर गर्न अन्य विषयलाई संसदमा ल्याउनु जरुरी नभएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘सभामुखले शुरुमै रुलिङ गरिदिएर कुनै मन्त्रीलाई यो भएको के हो यस्तो कुराहरु आयो यसको जवाफ दिन म अनुरो गर्छु भनेको भए सदन शुरुमै चल्थ्यो । सदन नचलाउने नियत देखियो कसको हो थाहा छैन ? किन नियत देखियो थाहा छैन । भुटानी शरणार्थी मुद्दालाई डाइभर्ट गर्न फेरि अन्य इस्युहरुलाई ल्याउनुपर्ने जरुरी छैन ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले पशुपतिको जलहरी प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति बनाउन माग गर्नुभयो । उहाँले आजै छानबिन समिति गठन गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘त्यो सुन हो कि पित्तल हो भन्नेकुरा सरकारले छानबिन समिति गठन गर्नुपर्छ । र सरकारले आजै जवाफ दिनुपर्छ । हाम्रो धारणा के हो भने समिति गठन हुनुप-यो । यो विषयवस्तु टुंगिएको छैन, यो विषयवस्तु तबमात्र टुंगिन्छ वास्तवमा सुन हो कि पित्तल हो त्यो सरकारले जवाफ दिनुपर्छ । समिति गठन गरेर हुन्छ कि संवैधानिक आयोग गठन गरेर हुन्छ कि ? अख्तियारलाई सक्रिय गराएर हुन्छ कि ? धार्मिक आस्था माथिको प्रहार पनि हो । सरकारले भोलि छानबिन गरौँला भनेर हामी मान्दैनौँ । प्रधानमन्त्रीले आज नै छानबिन गर्नुपर्छ ।’

उहाँले पशुपतिनाथ मन्दिरको जलहरीको विषयमा संसदमा प्रश्न उठाएर धार्मिक आस्था माथि प्रहार भएको पनि बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?