जबराविरुद्धको महाअभियोग प्रस्ताव तुरुन्त पास गर्न ल्याइएको होइन: झलनाथ खनाल

Read Time = 2 mins

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सांसद झलनाथ खनालले प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव तुरुन्त पास गर्नका लागि नल्याइएको बताउनुभएको छ ।

बुधबार प्रतिनिधि सभा बैठकमा सहभागि भएर बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ पूर्वप्रधानमन्त्री खनालले प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव तुरुन्त पास गर्न नल्याइएको बताउनुभएको हो । उहाँले प्रस्ताव दर्ता पछि परिस्थिति हेर्दै क्रमशः टुंगोमा पुर्याउनका लागि महाअभियोग लगाइएको बताउनुभयो । उहाँले महाअभियोगलाई टुंगोमा पुर्याउनका लागि अझै समय बाँकी रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यो प्रस्ताव तुरुन्त पास गर्न राखेकै होइन नि । यो प्रस्ताव अगाडी आएको छ । यस्लाई बिस्तारै प्रस्ताव राखिसकेपछि परिस्थिति हेर्दै जाने । अनि क्रमशः एउटा टुंगोमा पुर्याउने कुरा हो नि त । त्यसकारण समय अझै छ । समिति गठन भएको छ । समितिले माग गर्नुपर्यो  नि त । त्यो समितिको के उत्तरदायित्वको निम्ति, के कार्यभारको निम्ति त्यो समिति गठन भएको हो । त्यो समितिले आफ्नो उत्तरदायित्व पुरा गर्न, दिएको जिम्मेवारी पुरा गर्न, खोई मलाई जिम्मेवारी दिएको भन्नुपर्यो । अनि संसदले काम गर्नुपर्यो । त्यसपछि त अगाडी बढीहाल्छ नि ।’

पूर्वप्रधानमन्त्री खनालले महाअभियोग प्रस्तावको सम्बन्धमा संसदले गठन गरेको समितिले आफ्नो उत्तरदायित्व र जिम्मेवारी पुरा गर्नुपर्ने बताउनुभयो । समितिले आफ्नो काम गरिसकेपछि संसदमा बाँकी प्रक्रिया अगाडी बढ्ने उहाँले बताउनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?