दुई दिन बिदाको औचित्य

Read Time = 6 mins

सरकारले हप्ताको दुई दिन बिदा दिने निर्णय गरेको छ र उक्त निर्णय आगामी जेठ महिनाको सुरुबाट लागू हुने निर्णय भएको छ । यसका सकारात्मक र नकारात्मक दुवै पक्ष छन् । यो प्रयोग पहिले पनि गरिएकै हो । कृष्णप्रसाद भट्टराईको प्रधानमन्त्रीत्व कालमा यो प्रयोग गरिएको थियो । यसका उद्देश्यहरू गलत थिए भन्न मिल्दैन तर विविध कारणले उक्त प्रयोग सफल हुन सकेन । केही वर्ष प्रयोगमा ल्याइएपछि यस्तो व्यवस्थाको खारेजी भयो र साबिककै व्यवस्थाअनुसार हप्तामा ६ दिनै कार्यालय सञ्चालन गरियो । कार्यालय समय हप्तामा पाँच दिन कार्यालय खुल्दा नौ बजेदेखि सुरु गरिएको थियो, पछि साबिककै समय १० बजेलाई कायम गरियो ।

अहिले पनि जेठ महिनादेखि हप्तामा पाँच दिन मात्र कार्यालय सञ्चालनमा ल्याइने र हप्ताको दुई दिन शनिबार र आइतबार कार्यालय बन्द रहने निर्णय सरकारले गरेको छ । यसका लागि केही सकारात्मक उद्देश्य राखिएको छ । यसो गर्दा कार्यालय जाने दिन कम हुने भएका कारण कर्मचारीहरूले प्रयोग गर्ने सवारी साधनको इन्धन बचत हुने र कम इन्धन प्रयोग भई नेपालले बेहोर्दै आएको इन्धन घाटाको समस्या केही हदसम्म भए पनि कम हुने जनाइएको छ, जुन तर्क गलत होइन तर कुरा कर्मचारीको नियतमा भर पर्छ । हप्तामा लगातार दुई दिन बिदा हुनाले उनीहरूका अनेकौँ खालका निजी योजना बन्छन् र त्यसका लागि सरकारी गाडीकै प्रयोग हुने हो कि भन्नेतर्फ भने सरकार तथा सम्बन्धित निकाय चनाखो र इमानदारसमेत हुनु आवश्यक छ ।

हुन त ‘काले काले मिलेर खाऊँ भाले’को सहमति नेपालको कमचारीतन्त्रमा नहोला भन्न सकिँदैन । निजी भ्रमणमा कतै टाढै जानु परे पनि काज वा कुनै जरुरी अफिसियल कामको चिठी बनाएर पनि त्यस्ता काम गरिन्छन् । त्यसैले इमानदारीको आवश्यकता छ भनिएको हो । फेरि अर्कातिर पाँच दिन मात्र कार्यालय सञ्चालन गर्दा बिहान साढे नौ बजेदेखि बेलुका साढे पाँच बजेसम्मको समय तोकिएको छ । बिहान र बेलुकाको आधा-आधा घण्टाको समय जोड्दा दिनमा एक घण्टा हुन आउने र पाँच दिनमा पाँच घण्टा थप काम गर्नाले हप्तामा आइतबार गरिएको एक दिन बराबर थप हुन आउनेछ । तर, सरकारी कर्मचारी समयमा कार्यालय पुगेको र समयभरि बसेको कमै पाइन्छ ।

समयभरि कार्यालयमा बस्ने वातावरण सरकारले तयार गर्न सक्नुपर्छ र समयभरि कार्यालयमा नबस्नेहरूलाई आवश्यक विभागीय सजाय गर्नुपर्छ । कर्मचारी कोठामा नभए पनि हिटर, पंखा एसी चलाएर छोड्ने प्रवृत्ति निरुत्साहित हुनु आवश्यक छ । पहिले एघार बजे पुगेर हाजिर गर्ने र तीन बजे कार्यालयबाट बाहिरिने कर्मचारीहरू धेरै हुन्थे । अथवा ती दिनभरि बेपत्ता भएर बिहान बेलुका हाजिर गर्न मात्र कार्यालय आउँथे । कार्यालयको छतमा कुर्सी राखेर घाम तापेर बस्थे । हालका दिनहरूका केही वर्ष पहिलेदेखि भित्रिएको हाजिर गर्ने उपकरणका कारण समयमा हाजिर गर्न पुग्नुपर्ने बाध्यता त होला तर दिनभरिको समय पनि काम गरेरै बित्नु आवश्यक छ ।

बद्नाम भएको नेपालको कर्मचारीतन्त्रलाई नेतृत्वमा रहेका सरकार र कर्मचारीहरूका माथिल्लो निकायमा रहने सचिवहरूले व्यवस्थित गर्ने प्रयास गर्नुपर्छ । त्यसो गर्न नसक्ने हो भने हप्तामा दुईदिन बिदा दिने यस्तो निर्णय केवल विदेशको देखासिकी मात्र ठहर्छ, यसबाट त्यति ठूलो उपलब्धि हात पर्दैन । सेवाग्राहीहरूका लागि भने यसका लाभभन्दा हानि नै बढी छन् । टाढा टाढाबाट काम लिएर सदरमुकाम आएका सेवाग्राहीहरूले शुक्रबार नसकिएको काम पूरा गर्न सोमबार पर्खिनुपर्छ । त्यसो गर्दा तिनले त्यहाँ थप एक दिनको खर्च व्यवस्थापन गर्नुपर्ने बाध्यता रहन्छ । त्यसैले सरकारले गरिसकेको यो निर्णय कार्यान्वयन अवश्य पनि हुन्छ नै तर यसलाई प्रभावकारी बनाउन भने सक्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?