सम्झौता नाघेको चार वर्षमा पनि अलपत्र स्वास्थ्यचौकी भवन

हिमालय टाइम्स
Read Time = 4 mins

खोटाङ । खोटाङको साकेला गाउँपालिका–५ मात्तिमविर्तामा सम्झौता म्याद नाघेको चार वर्ष बित्दासमेत स्वास्थ्यचौकीको भवन निर्माणको काम पूरा हुन सकेको छैन । २०७६ सालमा सम्पन्न हुनुपर्ने स्वास्थ्यचौकीको भवन ठेकेदार कम्पनी यूएस–नाना जेभी निलकण्ठ–३ धादिङको ढिलासुस्तीका कारण अलपत्र बन्न पुगेको हो ।

दुई वर्षमा पूरा गर्नेगरी २० कात्तिक २०७२ मा सम्झौता गरिएको स्वास्थ्यचौकीको भवनको फिनिसिङको काम छाडेर अलपत्र पारिएको मात्तिमका वडाध्यक्ष जीवन न्यौपानेले बताउनुभयो । २०७४ को स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधि बिदा भइसक्दासमेत स्वास्थ्यचौकीको भवन पूरा हुन सकेन ।

सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुंगाको भ्याटबाहेक दुई करोड १६ लाख ५९ हजार ६७० रुपैयाँमा यूएस–नाना जेभीले स्वास्थ्यचौकीको भवन निर्माणको ठेक्का लिएको हो । हाल भवनको बाहिरी स्वरूप तयार भए पनि रिटेनिङवाल, ग्याविनवाल, रंगरोगन, झ्यालढोकामाथि सिसा राख्ने, बाथरुममा धारा राख्नेलगायतका काम बाँकी छ । निर्माण कम्पनीले सरासर काम गर्ने तत्परता देखाए करिब महिना दिनमै बाँकी काम सकिने देखिएको छ ।

सम्झौताअनुसार २० कात्तिक २०७४ मा भवन निर्माणको काम सम्पन्न गर्नुपर्ने हो तर पाँचौंपल्ट थप भएको म्याद नाघ्दासमेत भवनको काम अलपत्र छ । पहिलो म्याद २१ वैशाख २०७५, दोस्रो म्याद २९ माघ २०७५, तेस्रो म्याद ३१ असार २०७७, चौथो म्याद पुस २०७७ र पाँचौं म्याद ३० चैत २०७८ मा सकिएको सघन सहरी तथा भवन निर्माण आयोजनाले जनाएको छ ।

हाल भवन अभावमा स्वास्थ्यचौकीको सेवा तत्कालीन गाविसको कार्यालयबाट र वडाको कामकाज महिला सशक्तीकरण समूहको भवनबाट सञ्चालन भइरहेको वडाध्यक्ष न्यौपानेले बताउनुभयो । ठेकेदारले स्वास्थ्यचौकीको भवन निर्माणको पेटीठेक्का लिएका पेटी ठेकेदारलाई समेत पूरा भुक्तानी नदिएको बताइएको छ ।

यता, वडा कार्यालय मात्तिमविर्ताले अलपत्र अवस्थामा छाडिएको स्वास्थ्यचौकीको भवन निर्माणको काम तत्काल पूरा गर्न निर्माण कम्पनीलाई ताकेता गरेको छ । यसअघि साकेला गाउँपालिकाले पनि स्वास्थ्यचौकीको भवन निर्माणमा चरम ढिलासुस्ती भएको भन्दै ठेकेदारमाथि कारबाही गर्न माग गरेको थियो ।

स्वास्थ्यचौकीको भवन निर्माणको काम पूरा गर्न निर्माण कम्पनीलाई बारम्बार आग्रह र ताकेता गर्दा बेवास्ता गरेको भन्दै गाउँपालिकाले कानुनी कारबाहीका लागि सहरी विकास तथा भवन निर्माण विभाग सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुंगालाई १७ फागुन २०७७ मा पत्राचार गरेको थियो । स्वास्थ्यचौकीको अधुरो काम पूरा गर्न पटक–पटक लिखित र मौखिक आग्रह गर्दा र सचेत गराउँदा पनि ठेकेदार कम्पनीले बेवास्ता गर्दैआएको गाउँपालिकाले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?