चिसाङ शेर्पा/हिटा
खोटाङ । किरात समुदायको महान् पर्व साकेला उभौली एक महिना मनाएर शनिबार समापन गरिएको छ । वैशाख पूर्णिमाको अवसरमा पूर्वी खोटाङसहित किरात समुदायको बसोबास रहेको ठाउँमा साकेला उभौली सुरु भएको थियो । किरात राई, लिम्बू, याक्खा र सुनुवार समुदायमा ‘अन्नबाली सप्रियोस, रोगव्याधी नलागोस्, प्राकृतिक विपत्ति आइनलागोस्, सुव्यफाव्य होस्’ भन्ने कामनामा भूमि, पितृ र अन्नको पूजाआजा गरी साकेला उभौली चाड मनाउने प्रचलन रही आएको छ ।
शनिबार दिक्तेलस्थित माटिकोरे खेलमैदानमा किरात राई यायोक्खा र किरात सेवा समाज दिक्तेलले उभौलीको अवसरमा आयोजना गरेको बृहत् साकेला नाचमा जिल्लाका विभिन्न स्थानका ११ टिमले साकेला नाच प्रदर्शन गरेको किरात राई यायोक्खा खोटाङका सचिव युगसन किरातले जानकारी दिनुभयो ।
खोटाङमा हरेक वर्ष किरात राई यायोक्खाको आयोजनामा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको मझुवागढीमा सामूहिक साकेला नाचेर विधिवत रूपमा उभौली सुरु हुने र माटिकोरे खेलमैदानमा औपचारिक कार्यक्रम गरी साकेला नाच प्रदर्शन गरेर उभौली समापन गर्नेे गरिन्छ । उभौली चाडको अवसरमा महिना दिन आफन्त, साथीभाइ, नरनाता, छरछिमेकबीच पारिवारिक तथा व्यक्ति-व्यक्तिबीच भेटघाट गर्दै शुभकामना आदानप्रदान गर्ने चलन रही आएको छ ।
साकेला पर्वको अवसरमा परम्परागत भेषभूषामा सजिएका दाजुभाइ, दिदीबहिनी, बुवाआमा, इष्टमित्र भेला भएर गोलो घेरामा ढोल र झ्याम्टा बजाउँदै साकेला नाच्ने प्रचलन छ । साकेला थानमा पितृभूमिको पूजाआजा गरेपछि साकेला गीतको भाकामा हात र खुट्टाले भाका टिप्दै साकेला नाच्न सुरु गरिन्छ । अन्नबाली छर्ने बेला अर्थात् वैशाख पूर्णिमामा उभौली र अन्नबाली उठाउने याम मंसिर पूिर्णमामा उधौली एक महिनासम्म मनाइन्छ ।
साकेलाको अवसरमा नाचिने साकेला नाचमा मानवको जन्मदेखि मृत्युसम्मका र हरेक पशुपक्षीको क्रियाकलापलाई चित्रण गर्दै नाच्ने परम्परा रही आएको छ । साकेला पर्व र साकेला नाचको सुरुवातका विषयमा विभिन्न ठाउँमा फरक-फरक मिथक तथा भनाइहरू पाइन्छन् ।
यसको सुरुवातका विषयमा किरात समुदायमा आ–आफ्नै तर्क र भनाइहरू छन् । यद्यपि, किरात समुदायको आदिम पुर्खा खोक्चिलिपु, तायामा र खियामाले यसको सुरुवात गरेको किंवदन्तीमा सबै एकमत छन् । उभौली चाड खोटाङसहित भोजपुर, धनकुटा, उदयपुर, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, सुनसरी, इलाम, पाँचथर, झापा, मोरङ, काठमाडौं, भक्तपुर, ललितपुर लगायतका जिल्लामा मनाइन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच