चन्द्र, विमल, चिरञ्जीवी र प्रदीप सेमिफाइनलमा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाल प्रहरीका चन्द्रबहादुर थापा, नेपाल आर्मीका विमल घर्ती मगर, पाटनका चिरञ्जीवी खड्का र च्याम्पियनका प्रदीप महर्जन प्रकाश दाहाल स्मृति पुरुष तथा महिला खुला बक्सिङ प्रतियोगिताको पुरुष ५१ केजीमा सेमिफाइनलमा प्रवेश गर्नुभएको छ ।

बुढानीलकण्ठमा भइरहेको प्रतियोगितामा चन्द्रले दाङका भरत पुन मगर, विमलले ललितपुरका उमंग खत्री, चिरञ्जीवीले च्याम्पियनका अजय पुन मगर र प्रदीपले सोनाम लामालाई पराजित गर्नुभयो । पुरुष ५७ केजीमा एपिएफका पुरन राईले कञ्चनपुरका महेशसिंह खत्रीलाई हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गर्नुभयो ।

पुरुष ६० केजीमा फाइटका मौसम लाक्सम्बाले प्रहरीका सुजन पौडेल, एपिएफका विक्रम परियारले नुवाकोटका विकास गुरुङ, आर्मीका इन्द्रबहादुर सुनुवारले बक्समाण्डुका आयुश थापा तथा एक्सबक्सका निश्चल गुरुङले स्विटका मार्सल गुरुङलाई पाखा लगाउँदै सेमिफाइनलमा स्थान पक्का गर्नुभयो । पुरुष ६७ केजीमा एपिएफका विक्रम चौधरीले अन्शाका विशाल दाहाललाई पन्छ्याउँदै सेमिफाइनल यात्रा तय गर्नुभयो ।

पुरुष ७१ केजीमा एक्सबक्सका निशान गुरुङले एपिएफका सुमन कार्की, आर्मीका दानबहादुर दर्लामीले कैलालीका भरत चन्द तथा प्रहरीका मिलन तामाङले ललितपुरका कुशल कुमालमाथि जित रच्दै सेमिफाइनलमा पुग्नुभयो । पुरुष ७५ केजीमा एचटुओका विनिश राईले नक्सालका अश्विन धिरन श्रेष्ठ, पाटनका जेम्स महर्जनले फाइटका तेन्जी शेर्पा, आरडिएसका नोर्बु शेर्पाले आर्मीका गणेशकुमार श्रेष्ठ तथा एक्सबक्सका आयुश तामाङले स्विटका धिरज तामाङको चुनौती समाप्त पार्दै सेमिफाइनलमा पुग्न सफल हुनुभयो ।

पुरुष ८० केजीमा कैलालीका बालाजी रावलले नुवाकोटका पासाङ शेर्पा तथा एक्सबक्सका सचेत नेपालीले अल्फाका पुष्प गुराँस ओलीलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गर्नुभयो ।

महिला ४८ केजीमा नक्सालकी मन्दिरा पौडेलले नुवाकोटकी संगीता राणालाई, ५४ केजीमा प्रहरीकी निशा तामाङले नुवाकोटकी रक्षा जिसी, ५७ केजीमा एपिएफकी माला राईले आर्मीकी कमला खड्का तथा एपिएफकी शर्मिला तामाङले कर्णालीकी हेरिना ऐरलाई हराउँदै सेमिफाइनलमा स्थान बनाउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?