विश्वमा बदलिँदो परिवार र यसको विघटनको बढ्दो बोझ

Read Time = 11 mins
A A- A+

✍️ लोकनारायण सुवेदी
आज विश्वभरि नै अर्थ-सामाजिक व्यवस्थाहरू परिवारको दायराबाट निकै टाढा पुगिसकेका या पुगिरहेका छन् र बढी औपचरिक बनिरहेका छन् । अर्थ-सामाजिक परिवर्तनसँगसँगै आएको यो पारिवारिक विचलन विघटनका कारण अब दाजुभाइ, दिदी-बहिनी, मातापिता, काकाकाकी, हजुरबा-हजुरआमाको स्वाभाविक र भावनात्मक सम्बन्धले नयाँ अनुसन्धान र खोजबिनको व्याकरण लेख्न थालेको प्रतीत हुन्छ । यो परिपक्क हुन कति समय लाग्ने हो त्यो भने भन्न सकिने अवस्था छैन ।

यद्यपि ‘परिवार’ भन्नेबित्तिकै हाम्रो अस्तित्वको एउटा विस्तृत फलकमा फैलिएको कुरा देखापर्न आउँदछ । शब्दकै अर्थ खोज्ने हो भने संस्कृत भाषामा ‘परि’ शब्दले दायरा या वृत्तप्रति संकेत गर्दछ अर्थात् त्यस्तो अर्थसमाजिक संरचना जसले व्यक्तिलाई आबद्ध गरेर या घेरेर या आबेष्ठित गरेर राख्दछ त्यही नै परिवार हुन्छ । परिवारको दायरा र केन्द्र दुवैले एकअर्कालाई परिभाषित गर्दछन् तर परिवार अर्थात यो सम्बन्धहरूको दायरा अपरिभाषित जस्तै छ । किनभने यसको कुनै निश्चित आकार हुँदैन । कुनै परिवारको आकार ठूलो हुन्छ जसमा परिजन र टाढाका नातेदारहरू पनि सामेल भएका हुन्छन् । परिवारका सदस्यहरूको नातासम्बन्धमा सानो र ठूलोको हिसाबले अधिकार पनि हुन्छ ।

जब यी सदस्यहरूबीच सन्देह उत्पन्न हुने गर्दछ, इष्र्या बढ्दछ, परस्पर अहं टकराउने गर्दछ, द्वेष पैदा हुन्छ त्यतिबेला यो सम्बन्ध टुट्ने या विखण्डित हुने स्थिति पनि उत्पन्न हुन्छ । यद्यपि पूर्वीय समाजमा परिवारवादिता पहिचानमध्येमा एउटा सबैभन्दा ठूलो पहिचान या निशाना जस्तै मानिन्छ, मानिँदै आएको छ । तर, के भने पहिला पहिला परिवार ठूलो हुन्थ्यो, संयुक्त परिवार रहेको हुन्थ्यो । अब त्यो स्थिति क्रमशः विघटनतिर गइरहेको छ ।

यता पूर्वीयाहरू ‘बसुधैव कुटुम्बकम’ को अबधारणामा पनि आधारित रहेको कुरा भन्दै र मान्दै पनि आएका छन् । यसमा रक्त सम्बन्धको आवश्यकता पनि रहँदैनथ्यो र रहँदैन । जो कोही पनि यो परिवारमा सम्मिलित हुन सक्तथ्यो र सक्तछ तर अब पछिल्लो समयमा आएर यो पारिवारिक दायरा पनि संकुचित हुँदै गइरहेको देखिन्छ । किनकि हामी परिवारबाट ‘फेमेली’ तिर आकर्षित हुँदैगयौं । यसको प्रष्ट र द्विविधारहीत अर्थ के हो भने त्यसमा केवल-पति, पत्नी र तिनका आवयस्क सन्तानमात्र हुन्छन्, अरू सदस्य पर्दैनन् । यद्यपि यताको हाम्रो पूर्वीया समाजमा परिवारको केन्द्रीयता अद्यापि छाइनै रहेको छ ।

अझ परम्पराका आधारमा हेर्ने हो भने त परिवार देश, काल र पात्रका दृष्टिले एउटा खाश संरचना हुने गर्दथ्यो । पहिला परिवारको स्थायी आवास हुने गर्दथ्यो । त्यसलाई विश्वकै एउटा समुच्चा रूपको प्रतिकृति (मिनिएचर) जस्तै मानिन्थ्यो । परिवार अपेक्षता स्थिर (देश)मा रहने गर्दथ्यो, काल बदलिन्थ्यो र पात्र पनि जन्म-मृत्युका कारण र हिसाबले ढिलो चाडो बदलिने गर्दथे । परिवार या खानदानबाट मानिसहरूको या व्यक्तिको पहिचान हुने गर्दथ्यो र यसरी परिवारको अवधि व्यक्ति वा व्यक्तिभन्दा लामो हुने गर्दथ्यो ।

अनि स्वभावैले पूर्वीय परिवारको संरचना घरको अवधारणासँग जोडिएको हुन्थ्यो । बस्ने, उठ्ने, खाने, पिउन कुरा अनि व्यवहार–कारोबारको सबैको व्यवस्थामा अलिखित अनुशासन पनि हुने गर्दथ्यो, जसको परिपालना गर्नू÷गराउनू परिवारको स्वाभाविक सामाजिक व्यवस्थाको अंश मानिने गरिन्थ्यो । यद्यपि मूल परिवारसँग टाढा रहनुपर्ने स्थिति कतिपय मानिसहरूको नोकरी, रोजगारी आदिका कारण आवश्यक बन्न जान्थ्यो । पति र पछि पत्नीसमेत गाउँघर छोडेर शहर, महानगर र विदेशतिर जान थालेपछि मानिसहरूबीच त्यसबाट उत्पन्न समस्याहरू देखापर्न थाले ।

यस क्रममा कतिपय मानिले गाउँघरमा विवाहिता पत्नीलाई छोडेर शहरहरूमा नयाँ जीवन बिताउन थाले । वैवाहिक संस्थाले पनि रूप बदल्दै आएको छ । आज यौनिकता र नैतिकतालाई पनि नयाँ किसिमले या भिन्न किसिमले हेर्न थालिएको छ । सम्बन्ध विच्छेद र पुनर्विवाह स्वाभाविक मानिन थालिएको छ । समाजिक, शैक्षिक र भौगोलिक कारणहरुबाट समेत ठूलोमात्रमा पारिवारहरूको विस्थापन आरम्भ भयो । मानिसहरू दूर–दराजका सुदूर गाउँघर छोडेर अन्यत्र जान र रहन थाले, आफूखुशी जीवन बिताउने आशा लिएर, सुखमय र सुन्दर जीवन र आजीवीकाका अवसरहरूको खोजीमा घरपरिवार छोडेर विदेश जान थाले ।

अनि गएकामध्ये कतिपय या धेरैजसो उतै बस्न थाले । विस्तारै विस्तारै परिवारको एउटा वितरित स्वरूप मौलाउन या हुर्किन थाल्यो । निकटता र पारस्परिकता कम हुन थाल्यो । सम्पर्कको निरन्तरता घट्दै जान थाल्यो । संयक्त परिवारको ठाउँमा एकल (न्युक्लियर) परिवारको प्रचलन बढ्दै जान थाल्यो । यद्यपि अहिले कतिपय संयुक्त या विस्तारित (एक्सेन्टेन्डेड) परिवार कायम रहिरहेका छन्, तिनले टाढा टाढा भए पनि जोडिने, सम्पर्क रहिरहने र परस्पर सरसहयोग गर्ने स्थिति अवश्य पनि कायम रहने राख्ने प्रयत्न जारी रहेको देखिन्छ ।

अनि आज त अर्कोतिर मातृत्व र पितृत्वविना पनि मानिसहरू जिउन या जीवन गुजारा गर्न चाहन्छन् । बाध्यतावस या आफुखुशी कसैलाई यो छुट अवश्य होला कि कोही एकल मातासँग बसून् या कोही एकल पितासँग । अहिले त जैविक दृष्टिले पनि आमाको अर्थात् मातृत्वको समेत विकल्प आइसकेको छ । अब त के पनि सम्भव भएको छ भने अरूको कोख किनेर पनि बच्चा पाउने पद्धति (जसलाई रिमोट जैविकताको संज्ञा दिन थालिएको छ) को पनि विकास हुन थालिसकेको छ र यसैबाट मातृत्वको सुख लिन थालिएको छ ।

यसरी आज परिवारको जीवन विस्तार र परिचालनको स्वरूप बदलिँदै गएको छ । आजको बदलिएको स्थितिमा अब त एपार्टमेन्टको घर पनि स्थायी नरहने स्थिति विकसित भइरहेको छ । अब स्थायी त केवल प्यान नम्बर, आधार संख्या र त्यसमा सरकारी निगाहमात्रै नित्य रहने जस्तो स्थिति देखिँदैछ । अरू बाँकी सबै कुरा यस संसारमा अस्थायी नै रहने देखिएको छ । आवास पनि आज ‘घरसंख्या र पिन कोड’बाट जान्न थालिएको छ र मानिसहरूले स्थान बदलिइरहने स्थिति बनेको छ ।

बदलिँदो यस संक्रमणको समयमा बालबच्चाहरूको लालन पालन, वृद्धवृद्धाहरू तथा असक्तहरूको समस्याको पनि आज नयाँ किसिमले समाधान खोजिन थालेको र खोजिँदै गरेको अवस्थाबाट विश्व गुज्रिरहेको छ । यस अवस्थामा बालबच्चाको पालन पोषणको समस्या, वृद्ध तथा असक्त नागरिकका समस्या, विभिन्न कठिनाइमा परेका परिजनहरूका समस्याहरूको नयाँ किसिमले समाधानको खोजी हुनु हुनुपर्ने देखिन्छ र हुँदैछ । स्पष्ट कुरा के छ भने अबको सामाजिक व्यवस्था पारिवारिक दायराभन्दा बाहिर जान थालेको छ र औपचारिक बन्न थालेको छ ।

यी परिवर्तन र विचलनलाई हेर्दा के प्रतीत हुन्छ भने दाजुभाइ, दिदीबहिनी, मातापिता, हजुरबा-हजुरआमा आदिबीचको स्वाभाविक पारस्परिक भावनात्मक र भौतिक सम्बन्ध अब के हुन्छ भन्ने कुराको खोजविन हुन थालेको छ । तिनको नापतौलको नयाँ सामाजिक व्यापकरण लेख्न थालिएको छ । हुन पनि आज संसार सबै नै सामाजिक परिवर्तनको नयाँ संघारमा खडा छ जहाँ अरूसँग छुट्टिएर आरामले एक्लो जीवन विताउने आवश्कयता परिपक्क हुन निकै समय लाग्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?