काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बुधबार प्रदेशसभामा भारी बहुमत पाउनुभएको छ । ९१ जना सांसदले मत हाल्दा ८६ जनाले कार्कीको पक्षमा मत दिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका पाँच सांसदले उहाँको विपक्षमा मत हालेका छन् । कांग्रेसभित्र विद्रोह गरेर एमाले सांसदहरूको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएका कार्कीले प्रदेशसभाका दुई तिहाइभन्दा धेरै सांसदको समर्थन पाउनुभएको हो । प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम कार्कीले पेस गरेको विश्वासको मतको प्रस्ताव निर्णयार्थ मतदानका लागि प्रदेशसभामा प्रस्तुत गर्नुभएको थियो । जसमा प्रदेशसभाका ८६ सांसदले मुख्यमन्त्री कार्कीलाई मत दिएका थिए ।
संविधानको धारा १६८ (५) बमोजिम मुख्यमन्त्री बन्नुभएका कार्कीलाई एमालेका ३९, कांग्रेसका २९, माओवादी केन्द्रका १३, एकीकृत समाजवादीका चार र जनता समाजवादी पार्टीका एक गरी ८६ सांसदले विश्वासको मतको प्रस्तावको पक्षमा मत दिएका हुन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका पाँच सांसदले विपक्षमा मतदान गरेका थिए । राप्रपाका एक सांसद भने अनुपस्थित थिए ।
कोशी प्रदेशमा सरकार गठनका सम्बन्धमा निर्वाचन भएको नौ महिनाको अवधिमै संविधानले व्यवस्था गरेका चारवटै उपधाराको प्रयोग भएको छ भने उपधारा ५ बमोजिमको सरकार गठनमा कांग्रेस र सत्ता गठबन्धनमा विद्रोहका बाबजुद नवनियुक्त मुख्यमन्त्री कार्कीले विश्वासको मत पाउनुभएको हो । योसँगै संघ र सातवटै प्रदेशमा विपक्षमा रहेको एमाले कोशी प्रदेशमा सरकारमा सामेल भएको छ । कांग्रेस, माओवादी केन्द्रसहित सत्ता गठबन्धनले माओवादी केन्द्रका इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउन दाबी पेस गरेका थिए । तर, कांग्रेसका कार्कीसहित आठ सांसदले विद्रोह गरेर एमाले सांसदको सहयोगमा मुख्यमन्त्री दाबी गरेपछि गठबन्धनले आङ्बोको दाबी फिर्ता गराएर कार्कीलाई नै सहयोग गरेको थियो । मुख्यमन्त्री कार्कीले पहिलो चरणको मन्त्रिपरिषद् विस्तारमै एमालेलाई सामेल गराउनुभएको छ ।
अब सहमतिको सरकार बन्छ : कार्की
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशमा सहमतिको सरकार बन्ने बताउनुभएको छ । बुधबार प्रदेशसभामा विश्वासको मत लिएपछि पत्रकारहरूसँग कुरा गर्दै मुख्यमन्त्री कार्कीले सहमतिको सरकार गठनका लागि अधिकतम् प्रयास हुने बताउनुभएको हो । ‘सहमतीय सरकारका लागि अधिकतम् प्रयास हुन्छ, त्यसका लागि संवाद र सहकार्य हुन्छ’ उहाँले भन्नुभयो । मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद्मा नेकपा एमालेका राम राना र कांग्रेसका शमशेर राईलाई सहभागी गराउनुभएको छ भने अझै ६ जना मन्त्री चयन हुन बाँकी छ । सत्तारुढ गठबन्धनका शीर्ष नेताले कोशीमा एमालेबाहेकको सरकार बनाउने अभिव्यक्ति दिइरहेका बेला मुख्यमन्त्री कार्कीले एमालेसहितको सरकार बनाउने आशय व्यक्त गर्नुभएको हो । उहाँले आफू सबै दलको साझा मुख्यमन्त्री बन्ने प्रयासमा रहेको बताउनुभयो । उहाँले आपसी संवादपछि जतिसक्दो छिटो मन्त्रिपरिषद् विस्तार हुने जानकारी गराउनुभयो ।
युद्ध जितेर आएपछि आठ भाइसँग गला जोड्यौँ : थापा
नेपाली कांग्रेस कोशी प्रदेश सांसद तथा पूर्वमुख्यमन्त्री उद्धव थापाले मुख्यमन्त्री केदार कार्की र उहाँलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गर्ने सांसदहरूसँग गला मिलाएको बताउनुभएको छ । बुधबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री केदार कार्कीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा धारणा राख्दै नेता थापाले आफ्ना साथीले युद्ध जितेर आएकाले गला मिलाएको बताउनुभएको हो । ‘नेपाली कांग्रेसबाट आठ भाइ माननीयहरू, दलभित्र झगडा गर्नुभयो, कुण्ठा बोकेर हिँड्नुभयो, संघर्ष गर्नुभयो, अन्तिममा युद्धको मैदानमा पनि पुग्नुभयो, युद्ध पनि जितेर घरमा आउनुभयो, युद्ध जितेर फूलमाला लगाएर आएपछि हामीले गला लगायौं, स्वागत गर्यौं’, थापाले भन्नुभयो । थापाले आफ्नो बचन पूरा गर्न एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई आग्रह गर्नुभएको छ । सत्ता गठबन्धनले पनि विश्वासको मत दिने निर्णय लिएको भन्दै उहाँले एमालेलाई पनि सरकारमा रहन आग्रह गर्नुभयो । अघिल्लो बैठकमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले केन्द्रमा जे निर्णय भए पनि प्रदेशको हितमा निर्णय गर्न आफू सक्षम रहेको भनेको स्मरण गर्दै उहाँले भन्नुभयो, ‘त्यो हामीले बिर्सिएका छैनौं । अब यहाँको निर्णय यो सरकारमा लागू होस्, शुभकामना दिन चाहन्छु ।’
माओवादीले कुरा नसुनेपछि ‘विद्रोही’लाई साथ दियौं : हिक्मत
नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेकपा माओवादी केन्द्रले कुरा नसुनेपछि मुख्यमन्त्री बनाउन नेपाली कांग्रेसका ‘विद्रोही’ सांसदहरूलाई साथ दिइएको बताउनुभएको छ । बुधबार प्रदेशसभामा बोल्दै एमाले संसदीय दल नेता कार्कीले नयाँ निकास निकाल्ने क्रममाः कांग्रेसका कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरिएको बताउनुभएको हो । ‘कांग्रेस संस्थापन पक्षले हामीसँग सहकार्य गर्न चाहेन । माओवादीले पनि हाम्रा कुरा सुनेन । त्यसैले कांग्रेसका विद्रोहीलाई साथ दिएका हौं,’ उहाँले भन्नुभयोे, ‘गठबन्धनले संघीयतामाथि प्रहार गर्दै माथिबाट अमुक व्यक्तिलाई मुख्यमन्त्री तोकेपछि हामी विक्षप्त भयौं । त्यसैले कांग्रेसका कार्कीलाई समर्थन गरिएको हो ।’
‘केही साथीहरूले यहाँ कुण्ठा पोख्नुभएको छ । यो जरुरी पनि छैन । यो परिस्थिति कसले बनायो ?,’ उहाँले प्रश्न गर्नुभयो, ‘एमालेले गलत गरेको छैन ।’ उहाँले कोशीमा विगत १० महिनादेखि सरकार बनाउने काम मात्रै भइरहेको बताउनुभयो । ‘अब त्यस्तो स्थिति आउँदैन,’ उहाँले भन्नुभयोे, ‘मध्यावधिमा जाने जनताको चाहना छैन । यो कुरा चुनावमा जान डराएर हामीले भनेको होइन,’ उहाँले भन्नुभयो ।
एमाले जबरजस्ती सत्ता गठबन्धनमा घुस्यो : आङ्बो
नेकपा (माओवादी केन्द्र) को कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोले नेकपा (एमाले) जबरजस्ती सत्ता गठबन्धनमा घुसेको बताउनुभएको छ । बुधबार मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभामा विश्वासको मत पाएपछि पत्रकारहरूसँग कुरा गर्दै आङ्बोले एमालेले अब सरकारबाट बाहिरिएर नैतिकता देखाउनुपर्ने बताउनुभएको हो । ‘हामीले गठबन्धनको स्पिरिटअनुसार मुख्यमन्त्रीलाई निःशर्त मत दिएका हौं । अब एमालेसँग राजनीतिक नैतिकता बाँकी छ भने गठबन्धनमा जबरजस्ती घुसेको ऊ सरकारबाट बाहिरिनुपर्छ,’ उहाँले भन्नुभयोे, ‘यो सरकार गठबन्धनको हो ।’
एमालेले अनैतिक चरित्र देखायो : राई
नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईले नेकपा एमालेले अनैतिक चरित्र देखाएको टिप्पणी गर्नुभएको छ । बुधबार कोशी प्रदेशसभामा मुख्यमन्त्री केदार कार्कीले मागेको विश्वासको मतमाथि धारणा राख्दै सांसद राईले एमालेकै कारण कोशी प्रदेशमा अस्थिरता सिर्जना भएको आरोप लगाउनुभयो । संसद्को मर्म र गरिमालाई एमालेले समाप्त पार्दै गएको उहाँको भनाइ थियो । ‘कोही मुख्यमन्त्री हुन ४७ सांसद समर्थक रहेको सरकार ढाल्न धेरै थोक गर्ने फेरि ४७ सांसद बोकेर मुख्यमन्त्री दाबी पेश गर्ने यो कहीँ मिल्छ ?’ नेता राईले प्रश्न गर्दै भन्नुभयोे, ‘३९ सांसद बोकेर ४७ सांसद ढाल्न सबै प्रयत्न गर्ने, तीन पटक अल्पमतको सरकार तीन पटक त्यो दलले बहुमत पुर्याउन सकेन । जम्मा ३९ सांसद लिएर बस्ने बहुमतको सरकार ढाल्ने, यो एमालेको अनैतिक चरित्र हो ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच