नेपाली पर्यटनमा गुणस्तर खोज्ने कि संख्या ?

Read Time = 8 mins

✍️ निनाम लोवात्ती

विश्वका केही देश यस्ता छन्, जुन देशले आफ्नो देशमा आउने विदेशी पर्यटकको संख्यामात्रै धेरै होस् भन्दैनन्, उनीहरूले आफ्नो देशमा रहँदा, बस्दा र आफ्नो देशमा पर्यटक भई घुम्न आउँदा ती कुनै पनि विदेशी पर्यटकले धेरैभन्दा धेरै खर्च गरून् भन्ने अपेक्षा राख्छन् । फलतः कतिपय देशले आफ्नो देशमा आउने विदेशी पर्यटकलाई आफ्नो देशमा रहुँञ्जेल तिमीहरूले दैनिक खर्च गर्ने सीमा यति हो है ! भनेर न्यूनतम खर्चको सीमा तोकिदिएको हुन्छ ।

चीन सरकारले हाल आफ्नो देशमा भ्रमण गर्न आउने विदेशी पर्यटकले गर्नुपर्ने दैनिक खर्चको सीमा तोकेको छ । भुटान सरकारले आफ्नो देशमा भ्रमण गर्न आउने विदेशी पर्यटकले सिजनमा दैनिक २५० अमेरिकी डलर र अफ सिजनमा दैनिक २०० अमेरिकी डलर खर्च गर्नुपर्ने सीमा तोकेको छ । चीन, भुटानलगायत केही देशले यो अभ्यास विगत लामो समयदेखि अपनाएका छन् । त्यसैले चीन र भुटानले जति पनि विदेशी पर्यटक भित्र्याउने नीति लिएका छन्, ती सबै पर्यटक गुणस्तरीय र खर्चिलो हुने गरेका छन् । अझ भुटान सरकारको त पर्यटन नीतिमै सकेसम्म खर्चिलो विदेशी पर्यटकलाई मात्रै आफ्नो देशमा भित्र्याउने नीति र अवधारणहरू समावेश गरेर नियम बनाएको छ ।

त्यसैले हामीले पनि गुणस्तरीय र बढी खर्च गर्ने खालका विदेशी पर्यटक भित्र्याउने सम्बन्धमा के-कस्ता खालका नीति, नियम, ऐन, कानुन, कार्यविधि बनाउन उपयुक्त हुन्छ ? सो सम्बन्धमा चीन र भुटानबाट धेरै सिक्न सकिन्छ । नेपाली पर्यटनमा गुणस्तरीय पयर्टन कसरी प्रवद्र्घन गर्ने ? भन्ने सम्बन्धमा शायदै नेपालको योजना बनाउने र नीति निर्माण गर्ने तहमा बसेका योजनाविद र रणनीतिकारले छलफल र बहस गरेका होलान् ! हुन त नेपाली पर्यटनमा गुणस्तरीय पयर्टन कसरी प्रवद्र्घन गर्ने ? नेपाली पर्यटनमा गुणस्तरीय पयर्टन कसरी प्रवद्र्घन गर्ने ? भन्ने सम्बन्धमा भुटानसँग सिक्न सकिन्छ कि ? त्यसैले यो लेखमा भुटान सरकार नेपाल सरकारको पर्यटन नीतिबारे पनि धेरथोर लेख्ने जमर्को गरिएको छ ।

भुटान सरकाको मातहतमा रहेको पर्यटनसम्बन्धी सरकारी निकाय ‘टुरिज्म काउन्सिल अफ भुटान’ (टिसिबी) ले प्रकाशित गरेको भुटान सरकारको पर्यटनसम्बन्धी नीति तथा कार्यक्रम हेर्ने हो भने के प्रष्ट हुन्छ भने कुनै पनि विदेशी पर्यटकले भुटान छिर्ने बित्तिकै कम्तीमा प्रतिव्यक्ति दैनिक दुई सय अमेरिकी डलर खर्च गर्नै पर्छ । अझ भुटानको विभिन्न क्षेत्रको भ्रमण गर्न ट्रेकिङ, साइट सिन, जंगल सफारी, कल्चरल टुर, साइक्लिङ, बर्ड वाचिङ आदिका लागि अफ सिजन र पिक सिजन गरेर दुई सिजनमा विभाजन गरिएको छ । सोअनुसार विदेशी पर्यटकलाई भुटान सरकारको आधिकारिक निकाय टिसिबीले प्रतिव्यक्ति, प्रतिदिन खर्चको सीमा तोकिदिएको छ ।

भुटान सरकारले तोकेको खर्चको सीमा अनुसार अफ सिजनमा भुटान घुम्न चाहने विदेशी पर्यटकले (जनवरी, फेब्रबरी, जुन, जुलाई, अगष्ट र डिसेम्बर) मा प्रतिव्यक्ति प्रतिदिन दुई सय अमेरिकी डलरमा प्याकेज बुक गर्नुपर्छ भने, पिक सिजनमा भुटान भ्रमण गर्न चाहने विदेशी पर्यटकले (मार्च, अप्रिल, मे, सेप्टेम्बर, अक्टोम्बर र नोभेम्बर) प्रतिव्यक्ति प्रतिदिन दुई सय ५० अमेरिकी डलरमा बुक गर्नुपर्छ । कुनै पनि विदेशी पर्यटक भुटानमा रहँदा तीन तारे होटलमा बस्नुपर्छ । अन्यथा चारतारे वा पाँचतारे होटलमा बस्ने हो भने त्यस्ता विदेशी पर्यटकले अतिरिक्त प्रिमियम तिर्नुपर्ने भनी टिसिबीले आफ्नो ‘कोड अफ कन्डक्ट’ मै उल्लेख गरेको छ । साथै भुटान भ्रमणमा आउने विदेशी पर्यटक कम्तीमा तीनजनाको समूह हुनैपर्ने नियम छ ।

भुटान सरकारले आफ्नो देशमा भ्रमण गर्न आउने विदेशी पर्यकटबाट लिने दैनिक दुई सय र दुई सय पचास अमेरिकी डलरमध्ये ६५ अमेरिकी डलर ‘दिगो विकासका लागि पर्यटन’ कार्यक्रमका लागि टे«किङ ट्राभल अपरेटरहरूबाट सिधैं कटौती गर्छ । त्यसरी छुट्याइएको रकम भुटानी जनताका लागि निःशुल्क शिक्षा, स्वास्थ्य, गरिबी निवारण, ग्रामीण विकास आदिका लागि भवन निर्माण आदिमा खर्च हुन्छ ।

त्यस्तै भुटान सरकारले आफ्नो देशमा भ्रमण गर्न आउने विदेशी पर्यटकका लागि विभिन्न सहुलियत र छुटहरू दिएको देखिन्छ । केही उदाहरणहरू हेरौँ । जस्तो, पाँच वर्षभन्दा कम उमेरको लालाबाला पर्यटक भए भिसा चार्ज ४० अमेरिकी डलर मात्रै लिन्छ । बाँकी सम्पूर्ण खर्च निःशुल्क दिन्छ, त्यस्ता लालाबाला पर्यटकलाई । त्यस्तै पाँचदेखि १२ वर्ष उमेर समूहको केटाकेटी पर्यटक भए डेली प्याकेजमा ५० प्रतिशत छुट दिन्छ एवं प्रकारले विद्यालय वा विश्वविद्यालयको आधिकारिक र प्रमाणित विद्यार्थी परिचयपत्र भएको र उमेर २५ वर्षसम्म भएको पर्यटक भए डेली प्याकेजमा २५ प्रतिशत छुट दिन्छ ।

११ जनाको समूह पर्यटक भए डेली प्याकेजमा एकजना पर्यटकलाई ५० प्रतिशत छुट दिन्छ भने, १६ जनाभन्दा माथिको पर्यटक समूह भए डेली प्याकेजमा एकजनालाई शत प्रतिशत छुट दिन्छ । साथै कुनै पनि पर्यटकले भुटानमा आठ रातभन्दा बढी बिताएमा त्यस्ता पर्यटकलाई रोयल्टी दस्तुरमा ५० प्रतिशत छुट दिन्छ भने १४ रातभन्दा बढी बिताएमा त्यस्ता पर्यटकलाई शत प्रतिशत रोयल्टी दस्तुरमा छुट दिन्छ । यसरी हेर्दा विदेशी पर्यटकबाट पैसा लिनका लागि मात्रै पैसा नलिएर भुटान सरकारले आफ्नो देशको भ्रमण गर्न आउने विदेशी पर्यटकलाई विभिन्न सेवा र सुविधा दिएको देखिन्छ ।

त्यसैले हाम्रो देशमा भुटान, चीन आदि देशको जस्तै अभ्यास लागू गरेमा के हुँदो हो ? सम्भवतः नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्यामा कमी आउँदो हो । त्यसैले हामीले अहिलेको अवस्थामा संख्यालाई नै जोड दिनुपर्ने बाध्यतात्मक अवस्था रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?