काठमाडौं । नेपाल हस्तकला महासंघले मंसिर २८ गतेदेखि पुस २ गतेसम्म २०औँ हस्तकला व्यापार मेला आयोजना गर्ने भएको छ । सोमबार महासंघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यसपटकको मेला काठमाडौंको अन्नपूर्ण होटल परिसरमा हुने जानकारी दिएको हो ।
अन्तर्राष्ट्रिय बजारको माग र अवस्थाबारेमा उद्यमी व्यवसायीमा जानकारी आदानप्रदान गर्नु मेलाको मुख्य उद्देश्य रहेको महासंघका अध्यक्ष प्रचण्ड शाक्यले बताउनुभयो । हस्तकला व्यापार मेलासँगै १८औँ हस्तकला प्रतियोगितासमेत आयोजना हुने उहाँले जानकारी दिनुभयो ।
निर्यातयोग्य वस्तु उत्पादन गर्न उद्यमीलाई प्रोत्साहित गर्ने र अन्तर्राष्ट्रिय बजारका आयातकर्ताको चाहनाअनुरूप वस्तु डिजाइन गर्नु, स्वदेशी र विदेशी क्रेता तथा बिक्रेताबीच एकआपसमा सीप, प्रविधि, डिजाइन र ज्ञान आदानप्रदान पनि मेलाको उद्देश्य रहेको अध्यक्ष श्रेष्ठको भनाइ छ । आयोजकका अनुसार मेला उद्घाटन राष्ट्रपति रामचन्द्र पौडलबाट गर्ने कार्यक्रम रहेको छ ।
मेला अवलोकनका लागि नेपाल सरकारका मन्त्री, उच्च पदस्थ अधिकारीहरू, नेपालस्थित विभिन्न मुलुकका कूटनीतिक नियोगका राजदूतसमेतको उपस्थिति रहने बताइएको छ । करिब एक सय ३० स्टल रहने मेलामा नेपाललगायत पाकिस्तान, बंगलादेशका व्यवसायीको समेत स्टल रहनेछ । साथै हस्तकला प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार नगदसहित प्रमाणपत्र, द्वितीयलाई ३० हजार र तृतीयलाई २० हजार रुपैयाँ नगद पुरस्कार रहेको छ । हस्तकला मुलुकको प्रमुख निर्यातमूलक उद्योगका रूपमा रहेको छ ।
महासंघका अनुसार हाल नेपाली हस्तकलाका वस्तु झण्डै १२ अर्ब बराबरको विश्वका ६० भन्दा बढी देशमा निर्यात हुँदै आएको छ भने सोही निर्यात रकमको अनुपातमा स्वदेशी बजारमा पनि कारोबार भई हस्तकलाले जम्मा २४ अर्ब हाराहारीमा राष्ट्रिय अर्थतन्त्रमा योगदान दिँदै आएको छ । त्यसैगरी हस्तकला उद्योग व्यवसायमा करिब ११ लाख व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा संलग्न रहेका छन् ।
हस्तकला व्यवसायबाट नेपाली युवा पिँढीलाई स्वरोजगार हुने प्रशस्त अवसर रहेको छ । स्वदेशमै रोजगारीको अवसर बढाई श्रमशक्तिलाई बाहिरी मुलुकमा रोजगारीका लागि जान निरुत्साहित गर्न सक्ने उद्योग व्यवसायका रूपमा हस्तकला उद्योग व्यवसायलाई विकास गर्न सकिने प्रशस्त सम्भावना रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच