‘कन्टेन राम्रो भयो भने डिजिटल माध्यमबाट अन्तर्राष्ट्रिय प्लेटफर्महरूमा पुग्न सकिन्छ’

कृष्ण भुसाल
Read Time = 17 mins

विगत दुई दशकदेखि भिडियो सम्पादकका रूपमा काम गर्दै आउनुभएका निशान घिमिरेले सम्पादनसँगसँगै उहाँकै शब्दमा तीन सयजति गीतका भिडियो निर्देशन गर्नुभएको छ । ग्राफिक्स र एनिमेशनमा समेत राम्रो दख्खल राख्नुहुने निशानले विभिन्न टेलिभिजन, टेलिभिजन कार्यक्रमहरू, व्यावसायिक संघसंस्थाका लोगो निर्माण पनि गर्नुभएको छ । २०६५ सालदेखि पछिल्लो समयसम्म विशेषगरी म्युजिक भिडियो र विज्ञापनमूलक सामग्रीहरू सम्पादनमा आफ्नो आधिपत्य जमाउनुभएका निशान अहिले पनि त्यत्तिकै व्यस्त हुनुहुन्छ । सुरुवातका दिनमा फाट्टफुट्टमात्र निर्देशनमा हात हाल्नुभएका उहाँ अहिले सम्पादन र निर्देशनमा लगभग बराबर नै हुनुहुन्छ । विभिन्न संघसंस्थामा पनि रहेर कुशल कार्यसम्पादन गर्दै आउनुभएका घिमिरे नेपाल म्युजिक भिडियो निर्देशक समाजको तेस्रो उपाध्यक्षका रूपमा कार्य गर्दै आउनुभएको छ । कन्टेन राम्रो भयो भने डिजिटल माध्यमबाट अन्तर्राष्ट्रिय प्लेटफर्महरूमा पुग्न सकिन्छ भन्नुहुने निशान घिमिरेसँग हिमालय टाइम्ससँग कृष्ण भुसालले गर्नुभएको कुराकानीको संक्षिप्त अंशः-

पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ ?
दशकजति भिडियो सम्पादकका रूपमा विभिन्न टेलिभिजन र प्रोडक्सन हाउसहरूमा जागिरे जीवन बिताइसकेपछि सन् २०१३ देखि ग्लोबल एफ.एक्स नामको आफ्नै कम्पनी खोलेर काम गर्दै आएँ । सन् २०२० देखि राड स्टुडियो नाम दिई अर्को कम्पनी खोलेँ र अहिलेसम्म सोही कम्पनीको सञ्चालक, भिडियो निर्देशक र सम्पादकका रूपमा कार्यरत छु । हाल मैले म्युजिक भिडियोहरू निर्माणसँगसँगै विभिन्न सरकारी, गैरसरकारी र व्यावसायिक संस्थाहरूका सूचनामूलक र विज्ञापनमूलक सामग्रीहरूसमेत निर्माणको काम गर्दैछु ।

यो क्षेत्र नै किन रोज्नुभयो, कसरी आउनुभयो ?
लगभग म १८ वर्षको थिएँ । त्यतिबेलाको दशैँको कार्यक्रममा एकजना भिडियोग्राफरले भिडियो खिचेको देखेपछि चासोपूर्वक हेरेर भिडियोग्राफीप्रति आकर्षित भएँ । उहाँसँग नजिकिन र आफ्ना केही जिज्ञासाको उत्तर खोज्न ब्याट्री चार्ज गरिदिने, पानी लगेर दिनेलगायतका काममा सघाएँ । उहाँले सहज तरिकाले बताउनुका साथै यो क्षेत्रमा भविष्य भएको संकेत गरेपछि भिडियोग्राफी नै सिक्छु भन्ने अठोट लिएर नारायणगढतिर जाँदा ‘होराइजन मिक्सिङ सेन्टर’मा पुगेँ । त्यही मिक्सिङ सेन्टरका भिडियोग्राफर नारायण रिजालले क्यामेरा चलाउन सिकाएपछि विवाह, ब्रतबन्धलगायतका समारोहका भिडियो खिच्दाखिच्दै सम्पादन पनि गर्न थालेँ । लगभग दुई वर्ष चितवनमा काम गरेपछि थप अवसरका लागि काठमाडौं आएर भिडियो सम्पादन गर्दागर्दै निर्देशन पनि गर्न थालेँ ।

एकातिर पहिला जस्तो साँघुरो दायरा छैन । कन्टेन राम्रो भयो भने त्यसलाई डिजिटल माध्यमबाट अन्तर्राष्ट्रिय प्लेटफर्महरूमा समेत पुर्‍याउन सकिन्छ । पहिला जस्तो चर्को मूल्य तिरेर टिभीमा प्रोमो बजाउनु अहिले पर्दैन । थोरै रकमले नै विभिन्न सामाजिक सञ्जालहरूमा विज्ञापन गर्न सकिन्छ । अर्कोतिर जोसुकैको पनि पहुँच भएको हुँदा अस्वस्थ प्रतिस्पर्धाको निकै खतरा छ । सभ्य र राम्राभन्दा असभ्य कन्टेनहरूको हावी छ ।

अहिलेसम्म कतिवटा गीतका भिडियोमा सम्पादन र निर्देशन गर्नुभयो, केहीको नाम लिनुपर्दा ?
मैले ६ हजारभन्दा बढी गीतका भिडियोमा सम्पादन गरेको छु भने सोहीमध्येकै ३०० भन्दा बढी भिडियोमा निर्देशन पनि गरेको छु । केहीको नाम लिनुपर्दा ‘तिम्रै झल्को आउँछ निरमाया, नबिर्सें तिमीलाई (मेल भर्सन), तिमी कसको हुने होला म नि कसको हुने होला, पिउँदिन भन्दाभन्दै पिलायो साथीले, चल बतास चल’ लगायतका मैले सम्पादन गरेका चर्चित म्युजिक भिडियोका उदाहरणहरू हुन् । यसरी नै ‘ओ ढलेँ म ढलेँ, तिमी फुल्यौ कतै, आँधिसरी तिम्रो माया, बल गरेर, खोलुँ आँखा, छट्पटी, डन्ट किल मि, हुन्छ हुन्छ भन्दाभन्दै, सीप सिकौँ, दोहोरीको राजा, मनमोहक पोखरा, राजनीति चल्दैन’ लगायत निर्देशन तथा सम्पादन गरेका गीतका उदाहरण हुन् ।

चलचित्र सम्पादनको काम आएन कि गर्नुभएन ?
गरेको छु नि, चलचित्र ‘गुरुदक्षिणा, सिग्नेचर, मेरो कथा, जिन्दगी रक्स, हे युवा, अदृश्य’ जस्ता एक दर्जनभन्दा बढी चलचित्रमा सम्पादनसहित रंगसंयोजनको काम गरेको छु । त्यसपछि पनि थुप्रै चलचित्रका काम आए तर आर्थिक पाटोमा कुरा नमिलेर गरिन ।

तपाईंले सहकार्य गरेका केही गायक, कलाकार तथा सञ्चारकर्मीको नाम लिनुपर्दा ?
गायकहरूमा सत्यस्वरूप, प्रमोद खरेल, शिव परियार, निशान भट्टराई, सुनिता दुलाल, कुलेन्द्र विश्वकर्मा, वसन्त थापालगायत हुनुहुन्छ । कलाकारहरूमा राजेश हमाल, राजबल्लभ कोइराला, सञ्चिता लुईटेल, झरना थापा, केकी अधिकारी, प्रियंका कार्की, वेनिसा हमाल, पुष्प खड्का, आकाश श्रेष्ठ, पल शाह, सुधीर श्रेष्ठ, विनोद पौडेल, नम्रता सापकोटा, सुशीला थापा, सञ्चारकर्मीहरूमा सुरेश पौडेल, भूषण दाहाल, विद्या चापागाईं, सुनिल कोइराला, श्याम अर्याल, प्रेम वानियाँ, गोविन्द नेपाल, रमेश केसी, प्रदीप निरौलालगायत हुनुहुन्छ ।

यहाँको नयाँ के आउँदै छ ?
नियमित रूपमा गर्दै आएका काम त छँदैछन् । कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने योजनामा रहेको ‘स्पेल बी’ कार्यक्रमको सिजन ५, ६, ७ का लागि निर्देशकका रूपमा काम गर्दैछु । भूषण दाहालले सञ्चालन गर्दै आउनुभएको सो कार्यक्रमको सिजन १ र २ मा सम्पादकका रूपमा काम गरेको थिएँ । यहीबीचमा एउटा चलचित्र निर्देशन गर्ने तयारीमा पनि छु ।

आफूलाई कत्तिको सफल निर्देशक हुँ जस्तो लाग्छ ?
म कतिपय निर्देशकहरूझैँ कोरा मान्छेका रूपमा यो पेशामा हाम फालेको मान्छे हैन । मसँग नेपालका धेरै दिग्गज निर्देशकहरूसँग सम्पादकका रूपमा काम गरेका अनुभवहरू छन् । धेरै निर्देशकका सानादेखि ठूला कमीकमजोरीहरूलाई मैले नजिकबाट नियालेको छु । धेरै सोचेर र धेरै बुझेर निर्देशनमा लागेको हुँदा म निर्धक्कसँग भन्न सक्छु कि मैले गर्ने काममा ठ्याक्कै नोटिसेबल कमजोरी हुँदैनन् । मैले निर्देशन गरेका धेरै गीतहरू चर्चामा छन् । सम्पादन विधासहित निर्देशन विधामा पनि मैले धेरै राष्ट्रिय पुरस्कारहरू हात पारेको छु । यो हिसाबले म आफूलाई सफल निर्देशक मान्छु । बाँकी त तपाईंहरू जस्ता सञ्चारकर्मी र दर्शकले मूल्यांकन गर्ने हो ।

निर्देशन गर्न कत्तिको गाह्रो काम हो ?
सिर्जनात्मक काम भएकाले र समग्र टिमलाई नै आफैंले सम्हाल्नुपर्ने भएकाले कठिन त छ नै । तर, मलाई प्राविधिकदेखि व्यवस्थापकीय ज्ञान र अनुभव भएकाले महाभारतकै रूपमा भने लिन्न । कामलाई तनावका रूपमा लिने बानी नभएको हुँदा थकानमा पनि आनन्द लिने मेरो बानी छ ।

अहिलेको बजार कस्तो छ, के-कस्ता चुनौती छन् यो क्षेत्रमा ?
एकातिर पहिला जस्तो साँघुरो दायरा छैन । कन्टेन राम्रो भयो भने त्यसलाई डिजिटल माध्यमबाट अन्तर्राष्ट्रिय प्लेटफर्महरूमा समेत पुर्‍याउन सकिन्छ । पहिला जस्तो चर्को मूल्य तिरेर टिभीमा प्रोमो बजाउनु अहिले पर्दैन । थोरै रकमले नै विभिन्न सामाजिक सञ्जालहरूमा विज्ञापन गर्न सकिन्छ । अर्कोतिर जोसुकैको पनि पहुँच भएको हुँदा अस्वस्थ प्रतिस्पर्धाको निकै खतरा छ । सभ्य र राम्राभन्दा असभ्य कन्टेनहरूको हावी छ ।

यो क्षेत्रमा के योगदान दिएँ जस्तो लाग्छ ?
मैले विभिन्न सूचनामूलक र पर्यटन प्रवद्र्धनमूलक सामग्रीमार्फत् देश र समाजलाई सन्देश दिएको छु । मेरो उपस्थितिले एकातिर गुणस्तरमा विकास भएको छ भने अर्कोतिर प्रत्यक्ष नै ११ जना चेलाहरू सफल सम्पादकका रूपमा नाम र दाम कमाइरहेका छन् । नयाँ–नयाँ प्रतिभाशाली कलाकार छनोट र अवसर दिलाउन तथा प्राविधिकहरूको मिहिनेतको पैसा बढाउन पनि मेरो ठूलो भूमिका छ ।

यो क्षेत्रमा नआएको भए कहाँ पाउँथ्यौँ यतिबेला तपाईंलाई हामीले ?
म सानैदेखि सिर्जनात्मक काममा रुचि भएको व्यक्ति हुँ । भिडियोग्राफीमा लाग्नुभन्दा अगाडि मलाई आर्किटेक्ट इञ्जिनियर बन्ने रहर थियो । यो पेशामा नलागेको भए सायद तपाईंले मलाई कतै पुल, भवन या सडकहरू सर्वेक्षण गर्दै गरेको देख्नुहुन्थ्यो होला ।

यहाँले यो क्षेत्रमा पुर्‍याएको योगदानस्वरूप धेरै मान–सम्मान, पुरस्कार र अवार्ड आफ्नो पोल्टामा पार्न सफल हुनुभएको छ नि ?
मैले निरन्तर कार्य गर्दै जाँदा, मेरो कार्यले प्रशंसा बटुल्दै जाँदा यो स्वाभाविक हुँदोरहेछ । मैले विन्ध्यवासिनी म्युजिक अवार्ड २०१० र २०१८, म्युजिक खबर अवार्ड २०१६, राप्ती म्युजिक अवार्ड २०१६, इमेज अवार्ड २०१८, हिमालय इन्टरनेशनल अवार्ड २०२२ लगायत र दोस्रो क्वालिटी म्युजिक अवार्ड २०२२ बाट राष्ट्रिय दृश्य सम्पादकका रूपमा सम्मानित भएको छु । यसरी नै सन् २०१८ मा वातावरणसम्बन्धी निर्माण गरिएको ‘मिलानकोली’ गीति वृत्तचित्रका लागि सम्पादकका रूपमा राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट ताम्रपत्रसहित सम्मानित भएको छु ।

नेपाल म्युजिक भिडियो निर्देशक समाजको तपाईं तेस्रो उपाध्यक्ष हुनुहुन्छ, तपाईंले अहिलेसम्म संस्थामा के-के काम गर्नुभयो ?
संस्था व्यक्तिगत हुन्न र कुनै पनि संस्थामा रहेर काम गर्दा र कामको जस लिँदा हामी भन्ने भावना हुनुपर्छ भन्ने लाग्छ मलाई । हामीहरू संस्थाको स्थापनाकालदेखि नै अग्रज निर्देशक र अनुज निर्देशकहरूबीचको दूरीलाई सकभर घटाउनुपर्छ भनेर लागिरहेका छौँ । अग्रज निर्देशकका अनुभव र नयाँ–नयाँ उत्साही निर्देशकहरूले जानेका प्राविधिक ज्ञानलाई एक आपसमा साटासाट गर्न निकै पहल गरेका छौँ ।
हामीले संस्थाको ‘दोस्रो वार्षिकोत्सव तथा साधारणसभा एवं स्रष्टा सम्मान कार्यक्रम’ सस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको आतिथ्यमा हालैमात्र सम्पन्न गरेका छौँ । सो कार्यक्रममा पहिलो म्युजिक भिडियो निर्देशक तथा संगीतरत्न शम्भुजीत बास्कोटालाई नगद राशिसहित दिवंगत निर्देशकद्वय आलोक नेम्वाङ र सुरज श्रेष्ठको सम्झनामा ‘आलोक सुरज म्युजिक भिडियो निर्देशन सम्मान’ बाट सम्मानित गर्नुका साथै नेपाली गीतसंगीत क्षेत्रमा अहं भूमिका निर्वाह गर्दै उच्च स्थान हासिल गरेका विशेष व्यक्तित्वहरूलाई प्रमाणपत्र दिएर विशेष सम्मान गरेका थियौँ ।

भविष्यको योजना ?
जीवनमा दुई दशकभन्दा बढी समय निकै काम गरेँ । कतिपय दिन २४ घण्टा नै काम गरेका अनुभव मसँग प्रशस्तै छन् । सामान्य अनुपातमा दिनहुँ १६ घण्टा अहिले पनि काम गर्छु । जीवनमा अनेक उतारचढाव आए । संघर्ष र सफलता राम्रोसँग अनुभव गरेँ । अबका दिनमा गरिरहेको कामलाई झनै वैज्ञानिक र व्यवस्थित बनाउँदै निरन्तरता दिनुका साथै संघसंस्थाहरूका लागि पनि अलिकति समय छुट्याएर सामूहिक हितका लागि काम गर्ने सोचमा छु । सबै साथीहरूको साथ र समर्थन पाएँ भने संस्थाको आगामी कार्यकालका लागि नेतृत्व गर्नेछु । संस्थालाई अन्तर्राष्ट्रियस्तरमा पनि विस्तार गर्न पहल गर्नेछु । नयाँ निर्देशकहरूका लागि कार्यशाला गोष्ठी र प्रशिक्षण जस्ता कार्यक्रमहरू सञ्चालन गर्न पनि मेरो पहल रहनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?