बेड नं. ४११

Read Time = 20 mins

✍️ ईश्वरचन्द्र बानियाँ
२०७९ सालअसार २२ गते दिनको १२ बजे म चिरायु अस्पताल वसुन्धारामा भर्ना भएँ । म बेड नं. ४१० मा छु । ४११ मा एक महिला खुट्टामापट्टी बाँधेर सुतिरहेकी छिन् । उनको छेउैमा एक जनापुरुष छटपटाइरहेका छन् । महिलाले पुरानो गुन्यु र चोलो लगाएकी छिन् । पुरुषले सर्ट र कट्टु लगाएका छन् । उनका टाउकामा थोत्रो टोपी र कम्मरमा मैलो पटुकी छ । त्यसमाथिकालो वेस्टकोट लगाएका छन् । भुइँमा एक जोर गमबुट र सँगै तुनावाला पुरानो चप्पल छ ।

भर्ना हुँदा म कुनै बिरामी होइनँ । बरु बिरामी बन्न आएको हुँ भन्दा हुन्छ । कलेज जीवनदेखि नै धेरै पिसाब लाग्थ्यो । त्यसको उपचार कतै भएन । ४/५ वर्ष पहिले टिचिङ अस्पताल महाराजगञ्जमा देखाउँदा त्यसको उपचार भेटिएन बरू अन्य तीनवटा रोग देखा परे । गाउँतिर धामीले वायु बोलाउँदा २/४ वटा बिर बोले जस्तो । ती तीनमध्ये एक थियो पित्त थैलीको पत्थर ।

त्यो सानो र नदुखेका कारणले वास्ता गरिएन । फेरि कुनै डाक्टरले फालिहाल्नुस् भन्ने कुनैले नदुखेको भएहतार नर्गनुस् भन्ने भएकाले पनि पालिराखेँ । द्ई वर्ष पहिले पुनः टिचिङमा जचाउँदा ८ महिना पछिको समय पाइयो अप्रेसन गर्न । गरिएन । यस वर्ष पाटन अस्पतालमा देखाउँदा भाद्र ३ गतेको समय मिलेको थियो । छोराबुहारीहरू जम्मा भएकाले छिटै फालौँ भन्ने सल्लाह भएनुसार प्राइभेट अस्पतालमा भर्ना भइयो ।

म निजी अस्पताल र निजी विद्यालयको विरोधी हुँ । म जस्तै धेरै विरोधी साथीहरू सगौरव त्यसैमा लागेका र सरकारले तिनकै पृष्ठपोषण गरिरहेकोले विरोधको अर्थ देखिएन, कम्तीमा अहिलेको अवस्थामा । बेड नं. ४११ मा पल्टिरहेकी बिरामी र गमबुट लगाएर ड्याप ड्याप गर्दै कहिले यताउता गर्ने र कहिले झोक्राएर बस्ने उनका कुरुवाले मेरो ध्यान खिचिरहेका थिए । म सानै हुँदा गाउँमा सुन्थेँ-परिवारमा अरू बिरामी हुनुभन्दा आफू बिरामी हुनु जाती । यो साँचो रहेछ भन्ने कुरा ती कुरुवाले प्रष्ट पारिदिएको थिए ।

यसरी हातखुट्टा भाँचिएका बिरामीलाई हामी सिधै राष्ट्रिय ट्रमा सेन्टरमै जान सल्लाह दिन्छौँ । जहाँ बढीमा ४०/५० हजारमा पाता राखिन्छ भने २०/३० हजारभन्दा कमैमा पाता निकालिन्छ । आर्थिक विपन्न बिरामीहरूका लागि सित्तैमा वा सानो खर्चमा उपचार हुनसक्छ ।

‘दिलोज्यानले मानव समुदायको सेवा गरौँ’ यो एक परोपकारी संस्था ‘हेड्स नेपाल’ (Health, Education, Agriculture and Development Society) को पवित्र नारा हो । २९ वर्ष पुरानो यस संस्थाले पाँचवटै विषयमा अभाव, आकस्मिकता र आवश्यकताको साथी बन्ने कोसिस गर्छ । म त्यसको अध्यक्ष भएको हुनाले पनि यस्ता बिरामी देख्दा चासो बढ्नु स्वाभाविकै थियो । हेर्दैमा ज्यादै विपन्न देखिने तर सरकारी अस्पतालमा सजिलैसँग उपचार हुनसक्ने यस्तो बिरामी कसरी महँगो अस्पतालमा आइपुगे होलान् ? भन्ने कौतुहल मनमा उब्जियो ।

दिनको ४ बजेतिर हेड्स नेपालका वरिष्ठ उपाध्यक्ष प्रतापराज वन्त र स्वास्थ्य विभाग प्रमुख दुर्गा मानन्धर वन्त मलाई भेट्न आइपुग्नुभयो । सोही समयमा तिनै बेड नं. ४११ का कुरुवाले सानो टुक्रा कागज मलाई दिँदै भने यो फोन गरिदिनुस्न । गोरखामा उनको आफन्तको मोबाइल नम्बर रहेछ त्यो । फोन भएपछि उनी झन आत्तिए । बाँदरले बारीमा लगाएको मकै सबै खाइदियो रे । अब वर्षभरि के खाने ? यसलाई बँचाएर लगेर मैले के खुवाएर पाल्ने ? झन् ठूलो चिन्ता थपियो । अब हामीले उनका बारेमा राम्ररी बुझ्न चाहृयौँ । उनीहरू गोरखाको अति दुर्गम चुननुब्री गाउँपालिका सिर्दिबासबाट आएका रहेछन् । एक वर्षअगाडि भीरबाट लडेर उनीकी श्रीमतीको खुट्टो भाँचिएछ । उपचारका क्रममा उनीहरू काठमाडौँ आइपुगेछन् ।

एकजना बहिनीमार्फत यो अस्पतालमा भर्ना भई खुट्टामा स्टिल पाता राखेर गएका र हाल सो पाता झिक्न आएका रहेछन् । उनीहरू एक हप्ता भएछ भर्ना भएका । पाता पनि निकालिसकिएछ । अब घरजान हतार गर्दै थिए तर घाउ पाकेकाले अस्पतालले जान नदिएको रहेछ । एकातर्फ पैसा सकिएको अर्काेतर्फ वर्षभरि खाने मकै बाँदरले खाएकाले उनीहरू ज्यादै चिन्तित थिए । अस्पतालले पैसा नभए क्यान्टिनमा खानु पैसा तिर्नु पर्दैन भनेको रहेछ । त्यो सुन्दा अस्पताल प्रशासनप्रति खुशी लाग्यो तर त्यो खुशी धेरै बेर रहन पाएन । कुरा गर्दै जाँदा थाहा भयो उनीहरूको ५० हजार सकिसकेको रहेछ । अब बाटाखर्च पनि बाँकी रहेनछ । पाता झिक्न त त्यति खर्च लाग्यो भने राख्न कति खर्च लाग्यो त ? साढे दुई लाख उनले भने । आधा ऋण अझै तिर्न सकेको छैन ।

बीस वर्षीय र सोह्र वर्षीय दुई छोरी थिए । चार वर्ष पहिले जिल्ला सदरमुकाम घुम्न आएका घर फर्किएनन् । बुढा बाआमालाई छोडेर पोइला गए होलान्, उनी भन्छन् तर मलाई लाग्छ मानव तस्करको फेला परे होलान् । नत्र चार वर्षसम्म एउटाको त केही खबर आउनुपर्ने होइन र ? एउटा छोरो थियो ६ वर्षको उमेरमा खस्यो । ५/६ वर्ष भइसक्यो । अब बुढाबुढीमात्र हो घरमा, घर फर्कन पनि मन लाग्दैन तर कहाँ जाने ? जाने ठाउँ कहीँ छैन ।

हामीलाई १० मिनेट पनि लागेन उनीहरूको दुःखद् गाथा सुन्न । अब उनी बोल्न नसक्ने जस्तो भएका थिए । म पनि उनको बोली सुन्न नसक्ने जस्तो भएको थिएँ । तीन घण्टामा हेरिने मार्मिक फिल्मभन्दा दर्दनाक कहानी थियोे । त्यसैले पो उनी कहिले खाली खुट्टा, कहिले गमबुट लगाएर पागल झैँ हिँड्ने, कहिले झोक्राएर बस्ने, कहिले बुढाबुढी गुरुङ भाषामा रिसाएर कुरा गर्ने गर्दा रहेछन् । वरिपरिका मान्छेहरू भन्थे-तिमीलाई बुढीको भन्दा मकैको माया बढी भयो ? उनी भन्थे-के गरूँ ? बुढीको माया गरेरमात्र वर्षभरि के खाने ?

मेरो अप्रेसन थिएटरमा जाने बेला भइसकेको थियो । लिन आएपछि म त्यसतर्फ लागेँ । आधा घण्टा जति बाहिरी कोठामा राखेर मलाई भित्र लगे । अगाडि २ वटा कोठा देखिए । ठरूलो कोठाको बीच भागमा एक जना बिरामी लुगा ओडाएर सुताइराखेको रहेछ । सायद अप्रेसनपछि होसमा ल्याउन राखिएको जस्तो लाग्यो । त्यहाँ अरू कोही थिएनन् । मलाई त्यो मान्छे निर्जीव जस्तो लाग्यो । होस फर्किएन भने निर्जीव नै त हो नि । ऊ वा म जो पनि ।

मलाई सानो कोठापट्टि लगे बीच भागमा अप्रेसन टेबल जस्तै थियो । मलाई त्यहाँ सुताइयो । टाउकामाथि छाता जस्तोमा बत्तीको व्यवस्था गरिएको होला । ५/६ जनाले घेरेर के के गर्दै थिए, बेहोस् पार्ने बारे कुरा गर्दै थिए । अप्रेसनको समयमा कारणवस म मरेँ भने पनि उजुरी गर्ने छैन भनेर औँठाछाप लगाइदिएको थिएँ । त्यसैले उनीहरू खुशीसाथ हाँस्दै काम गरिरहेका थिए । ठाउँठाउँमा इन्जेक्सन दिए । नाकमा हेडफोन जस्तो लगाए । सायद म बेहोस भएँ । मैले जान्दा होसमा आएँछु, त्यस बेला म पोष्ट अप्ररेटिभ बेडमा थिएँ । पेटमा केही दर्द भएको थियो । जीउतिर केही लन्द्य्राङलुन्द्रुङ पाइपहरू थिए । केहीबेरमा श्रीमती, छोरा, बुहारीहरू आए । चारवटा प्वाल पारेर १३ मिमीको सानो पत्थर झिकेछन् ।

बिहान ९ बजेतिर डाक्टरहरू आएर हेरे तपाईं फ्रेस देखिनुहुन्छ त्यसैले अब बेडमा जान सक्नुहुन्छ । प्रेसर, सुगर कन्ट्रोलमा भयो भने बेलुका घर गए पनि हुन्छ भने । म १० बजेतिर बेडमा फर्किएँ । बेड नं. ४११ मा ती बहिनी त्यसरी नै पल्टिरहेकी थिइन् । मलाई मेरो घाउले भन्दा उनको घाउले पीडा दिइएको थियो । अझ उनको श्रीमान्को भित्री घाउले मलाई समेत छट्पटी बनाएको थियो ।

म एक स्वयंसेवक भनाउँदो । परोपकारी, समाजसेवी संस्था हेड्स नेपालको अध्यक्ष । जुन संस्थाले हरेक दिन जस्तै बिरामीलाई कुनै न कुनै रूपमा सहयोग गरिरहेको हुन्छ । बिरामीका थरी थरीका प्रश्न हुन्छन् । कुन अस्पताल राम्रो कुन डाक्टर राम्रो कहाँ छिटो उपचार हुन्छ, कहाँ सस्तो हुन्छ, कहाँ बिरामीको विशेष ख्याल गरिन्छ, कहाँ तपाईंहरूले भनेको लाग्छ जस्ता प्रश्नहरू आइरहन्छन् । कसैलाई रगत चाहिन्छ, कसैलाई आर्थिक सहयोग चाहिन्छ, कसैलाई भनसुन चाहिन्छ थरि थरि समस्या हुन्छन् । त्यस्ता समस्याहरूको सक्दो समाधान गर्ने हाम्रो काम हो ।

यसरी हातखुट्टा भाँचिएका बिरामीलाई हामी सिधै राष्ट्रिय ट्रमा सेन्टरमै जान सल्लाह दिन्छौँ । जहाँ बढीमा ४०÷५० हजारमा पाता राखिन्छ भने २०/३० हजारभन्दा कमैमा पाता निकालिन्छ । यस्ता आर्थिक विपन्न बिरामीका लागि सित्तैमा वा सानो खर्चमा उपचार हुन सक्छ । तर, आज मसँगैको बेडमा त्यस्तै बिरामी तीन लाख ऋणमा डुबेर छट्पटाइरहेका छन् । त्यो देखेर म कसरी शान्त रहुँ ?

अब सबै कुरा सकिसकेको थियो । भोलिपर्सि घर जाने कुरा भएको थियो । अस्पताल खर्च धरौटीमा गइसकेको थियो । आरुघाट-सोतीसम्म पुग्ने बसभाडा, त्यहाँबाट दुई दिन हिँड्ने या बिरामीलाई बोकाउने खर्च र खाना, खाजा खर्च भए घर पुग्नेवाला थिए उनीहरू । मैले सोधेँ- केही सहयोग चाहिन्छ कि ? उनी हात जोडेर केही नबोली बसे । मौनं सम्मति लक्षणम् भन्ने मैले बुझिहालेँ । हेड्स नेपाल बागमती प्रदेश समितिका अध्यक्ष पूर्वएसपी गणेशबहादुर संग्रौला पनि आइपुग्नु भएको थियो । हामीले सल्लाह गर्‍यौँ । उनीहरूको विवरण लियौँ ।

बिरामी : लक्ष्मी गुरुङ, ५५ वर्ष
श्रीमान् : लालबहादुर गुरुङ, ५५ वर्ष
ठेगाना : चुननुब्री गाउँपालिका वडा नं-५, बाङसिङ, गोरखा ।

यो सूचनाको युग हो । जोसँग बढी सूचना छ ऊ नै सम्पन्न हुन्छ । स्वास्थ्य क्षेत्रमा सरकारले विपन्न जनताका लागि भनेर धेरै नै सहुलियतपूर्ण योजनाहरू ल्याएको छ तर धेरैलाई यसको जानकारी हुँदैन । अरू त के हामी जस्ता सामाजिक कार्यकर्तामध्ये नै धेरै कमलाई मात्र यस बारे थाहा हुन्छ । बुझेका व्यक्ति पनि त्यस्ता कुरा बुझ्न र सम्बन्धित व्यक्तिलाई बुझाउनतिर भन्दा सरकारको विरोध गर्नमै आनन्द मान्छन् । विडम्बना नै भन्नुपर्छ ।

त्यसैले ती विषयमा थोरै भए पनि जानकारी दिन राम्रो होला भनेर त्यहाँ हुनु भएका १५/२० जना बिरामी कुरुवा र स्वास्थ्यकर्मीलाई सम्बोधन गरेर ती कुराबारे, हेड्स नेपालबारे र ती बिरामीबारे जानकारी दिँदै बिरामीलाई सानो सहयोग रकम प्रदान गरियो । बिचरी ती बिरामीलाई हर्ष र विष्मात भने जस्तो केही परिवर्तन देखिएन तर लालबहादुरका चेहेरामा खुसी छाएको प्रष्ट देखियो । लक्ष्मीको घाउ छिटो निको होस् । शुभकामना !

ट्याक्सी ड्राइभरले बसपार्कबाट जबर्जस्ती टुरिस्ट उठाएर होटेल पुर्‍याएकै शैलीमा प्राइभेट अस्पतालमा बिरामी पुर्‍याइन्छ भन्ने पनि सुनिन्छ । प्राइभेट अस्पतालको मनोमानी उपचार खर्चबारे सरकारलाई थाहा नभएको अवश्य होइन तर यस्ता विषयहरूमा अनुगमन खोइ ? कारबाही खोइ ?

म साँझ घर फर्किएँ । मलाई मेरो घाउले भन्दा लालबहादुरको मुटुको घाउले बढी दुखिरहेको थियो । म त्रिभुवन विश्वविद्यालयबाट अवकाश प्राप्त शिक्षक । टिचिङ अस्पताल महाराजगञ्जलाई म आफ्नो अस्पताल ठान्छु । त्यहाँका डाक्टरहरूको विज्ञता, क्षमतामा मलाई गर्व लाग्छ । सरकारी अस्पतालका ल्याब इक्युमेन्टहरू धेरै राम्रा छन्, तर मर्मतसम्भारको कमी छ । सरकारी अस्पतालका विज्ञ डाक्टरहरूको नामबाटै प्राइभेट अस्पतालहरू चलेका हुन् । तापनि म जस्ता व्यक्तिहरू किन प्राइभेट अस्पताल जान्छौँ ? त्यस्तै गरी लक्ष्मी जस्ता विपन्न व्यक्ति पनि किन महँगा अस्पताल जान्छन् ? यसको कारण केलाउनु जरुरी छ । कुनै एक वा दुई कारणले यो भइरहेको छैन ।

यसका विभिन्न कारण छन् । सबैभन्दा पहिलो कुरो त स्थानीय वा जिल्लास्तरमा राम्रो अस्पताल नहुनु हो । यदि सरकारले जिल्ला अस्पतालको क्षमता वृद्धि गरिदिन सके काठमाडौं आउने धेरै बिरामी रोकिन्छन् । दश काम छोडेर साहुको ऋणको भारी बोकेर एम्बुलेन्समा बिरामी राखेर राजधानी आउनु नपर्ने व्यवस्था हुनसके जनताको आधा रोग निको हुन्छ । सरकारी अस्पतालहरूको सीमित स्रोतसाधनले असीमित बिरामी थेग्न नसक्नु अर्काे समस्या हो । अस्पतालमा पालो कुर्दैमा बिरामी सिकिस्त भइसक्छ अनि बाध्य भएर प्राइभेट अस्पताल जानुपर्‍यो । ठूला सरकारी अस्पतालका अधिकांश कर्मचारी चिनजानका बिरामी पछि लगाएर कोठा कोठा चाहारेर जागिर पकाइरहेका हुन्छन् । त्यो एकदिन होइन, दुईदिन होइन सधैँ हो । अनि सर्वसाधारण बिरामीले कहिले पालो पाउने ?

सर्वसाधारणमा स्वास्थ्य सूचनाको त्यतिकै अभाव छ । कस्तो बिरामी कुन अस्पताल जान उचित ? सोही समस्याका लागि सरकारी र प्राइभेट अस्पतालमा कति रकमको फरक पर्छ ? कुन-कुन रोगका लागि कुन-कुन अस्पतालमा के कस्तो सहुलियत प्राप्त छ जस्ता विषयमा कमैलाई थाहा हुन्छ । ट्याक्सी ड्राइभरले बसपार्कबाट जबर्जस्ती टुरिस्ट उठाएर होटेल पुर्‍याएकै शैलीमा प्राइभेट अस्पतालमा बिरामी पुर्‍याइन्छ भन्ने पनि सुनिन्छ । प्राइभेट अस्पतालको मनोमानी उपचार खर्चबारे सरकारलाई थाहा नभएको अवश्य होइन तर यस्ता विषयमा अनुगमन खोइ ? कारबाही खोइ ? सुधारका कदम के भएका छन् ? जानकारी खोइ ? स्वास्थ्यमन्त्रालयले यी विषयहरूमा ध्यान नदिने हो भने हामी नेपालीहरूको काम उमेरले र स्वास्थ्यले धानुन्जेल कमाउने, अन्तमा कमाएको सबै अस्पताललाई बुझाउने र स्वर्ग जानेबाहेक अरू विकल्प देखिँदैन । के सधैँ यही नियति भोग्नुपर्ने हो त ? - icbaniya55@gmail.com

(हेड्स नेपालका वर्तमान अध्यक्ष बानियाँ पोखरा विश्वविद्यालयका पूर्वडिन तथा पूर्वाञ्चल विश्वविद्यालयका पूर्वनिमित्त नियन्त्रक हुनुहुन्छ ।)

Subscribe
Notify of
guest
3 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Pratap Onta
Pratap Onta
2022-07-28 7:26 am

अत्यन्तै मार्मिक तथा सान्दभिर्क छ। तर सुनुवाई हुने कुनै जन अदालत यो देशमा देखिएन ।
विपन्न उत्पिडित जनसमुदायको उद्दार उपकार गर्ने परोपकारी सस्था नेपालमा एउटा पनि स्थापित हुन सकिरहेको छैन। हेडस नेपाल ३० वर्ष देखि सानातिना उपकारका अभियान मा छन् तर यस्ले उपकारमा एउटा वैचारिक आन्दोलनको स्वरूप स्थापित गर्न सकिरहेका छैनौ ।

Uttam Kumar Shrestha
Uttam Kumar Shrestha
2022-07-28 9:05 am

बेड नं. ४१० मा ईश्वरचन्द्र बानियाँ सर हुुनुहुन्थ्यो र न बेड नं. ४११ की लक्ष्मी गुरुङको कथा ब्याथा सतहमा आयो । बेड नं. ४०९ र ४१२का बिरामीहरुझैं ईश्वर सर पनि हुनुभएको भए यो ब्याथा हामीले बुझ्न कहाँ पाउँथ्यौं र ! यस्ता कथा ब्याथाहरू हाम्रो समाजमा अनन्त छन् । 
समाज र देशै परिवर्तन गर्न भनेर परिवर्तनको आँधिबेहरी ल्याएको माओवादीलाई पाईला पाईलामा काम गर्न छेकेको दृष्टान्त हामीसँग भएपनि कमसेकम सरकारी अस्पताललाई व्यवस्थित गर्न र उसले भन्ने गरेको सर्वहारा वर्गलाई सरकारी अस्पतालमा व्यवस्थित उपचार गर्ने व्यवस्था मिलाउनबाट उसलाई कसैले रोकेको थिएन । तर त्यसो भएन ।
आज सरकारी अस्पताल पहूँच नहुनेहरुका लागि यमराज झैं भएको छ । बीर अस्पताल र टिचिङ अस्पतालका क्याबिनहरुमा सर्वसाधारणको पहूँच छैन । भीआईपीलाई भनेर क्याबिन खालि राखिन्छ तर वास्तविक भूईंमान्छेहरु त्यहाँबाट खेदिन्छन् । एकपकट मेरा भिनाजु खुट्टा भाँचिएर बीर अस्पतालमा उपचार गर्न जाँदा ४ बजेसम्म कुनै वास्ता गरिएन । त्यतिबेलासम्म पनि अन्त नगई बसिराख्यो भनेर कस्ता कस्ता मान्छे पनि आउँदा रहेछन् भनेर मधेसी मुलका एक डाक्टरले उनकै भाषामा गाली गरेको स्मरणमा ताजै छ ।
ईश्वर सरको लेख पढ्दा पनि एककिसिमको आक्रोश मनमा उत्पन्न भयो । हाम्रो समाजको सबै पीडाहरुको सम्बोधन हामी गर्न नसकौंला तर, ईश्वर सरले लेख्नु र बोल्नुभएजस्तै कमसे कम हामी आवाज भएका हरुले बोल्यौं लेख्यौं भने त्यसले पक्कैपनि सम्वन्धित मान्छेमा चेत ल्याउन भूमिका खेल्ने नै छ । यसको लागि ईश्वर सर धन्यवादका पात्र हुनुहुन्छ । हेड्समार्फत् अगाडि बढेका तपाईंका समाजसेवाका पाईलाहरू नरोकिइकन निरन्तर अगाडि बढिरहुन्, कुनै समय आउने छ, हामी सँगै हुनेछौं । त्यहीदिनको प्रतिका साथ… जय हेड्सकर्मी, जय हेड्स !

Raj kumar sth
Raj kumar sth
2022-07-28 11:40 am

Reality writing but yo kasle sune ra karayanoin garne sambandhit nikayale sunera mahasush gari lagu garyo vane matra hunxa

रिलेटेड न्युज

छुटाउनुभयो कि ?