संसदबाट नै नागरिकता विधेयक पास गर्ने तयारी भइरहेको छ : सभामुख

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाण्डौ । सभामुख अग्निप्रसाद सापकोटाले वर्तमान संसदबाट नै नागरिकता विधेयक पास गर्ने तयारी भइरहेको बताउनुभएको छ ।

आईतवार काठमाडौंमा संसदीय मामिला पत्रकार समाजले प्रकाशन गरेको ‘संसदीय समिति अभ्यास’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख सापकोटाले वर्तमान संसदबाट नै नागरिकता विधेयक पास गर्ने तयारी भइरहेको बताउनुभएको हो । उहाँले नागरिकता विधेयकको विषयमा प्रधानमन्त्री र प्रमुख राजनीतिक दलसँग निरन्तर छलफल भइरहेको बताउनु भयो ।

सभामुख सापकोटाले संसदमा नागरिकता विधेयक अड्किएर बसेकाले दर्जन भन्दा बढी ज्ञापनपत्र आउने गरेको बताउनु भयो । उहाँले नागरिकता विधेयक संसदबाट पास हुन नसक्दा युवाहरुले सुनौलो अवसर गुमाइरहेको बताउनु भयो । उहाँले केही गर्छु भन्ने युवाहरुलाई नागरिकता दिन नसक्दा देशलाई ठूलो क्षति भएको भन्दै नागरिकता नपाएकालाई अन्याय भएको बताउनु भयो । उहाँले बजेट अधिवेशनबाट नै ८ वटा प्रतिस्थापन विधेयक पास गर्नसके जनतामा सरकारले केही गर्दैछ भन्ने आशा लाग्ने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो,‘संसदमा नागरिकता विधेयक अड्किरहेको कारणले दर्जनौं डेलिकेशनहरु म भए ठाँउमा आएका छन् । अत्यन्तै, धेरै मार्मिक युवाहरु उमेर ढल्किन लागेको छ तर नागरिकता पाएका छैनन् । अध्ययन गर्ने सुनौला अवसरहरु गुमिरहेका छन् । ठूलो क्षति भएको छ । असाध्यै धेरै अन्याय भइरहेको छ, भनेर मैले राजनीतिक पार्टीका नेताहरुसँग धेरै चरणमा कुरा गरेको छु । प्रधानमन्त्रीसँग नागरिकता विधेयक यही सदनबाट पारित गर्नुपर्छ । त्यस्तै ८ वटा प्रतिस्थापन विधेयकहरु पनि पास गर्न सकिन्छ । बजेट अधिवेशनमा पनि दर्जन बढी विधेयकहरु पास गर्न सक्यौ भने जनतालाई गर्दा हुने रहेछ भन्ने हुने थियो । गर्दैछ भन्ने आश लाग्ने थियो ।’

सभामुख सापकोटाले देशमा सुशासन कायम र भ्रष्टाचार नियन्त्रण गर्ने बाहेक आफ्नो कुनै स्वार्थ नभएको बताउनु भयो । उहाँले आफू सधैँ आचरण, देशभक्ति, सदाचारको एउटा नमूना दिनका लागि अग्रसर भएको बताउनु भयो । सभामुख सापकोटाले भ्रष्टाचार भनेको कुनै बजेट वा आर्थिक सवालसँगको मात्रै कुरा नभइ देश र राष्ट्रियतासँग जोडिएको विषय भएको बताउनु भयो । उहाँले भ्रष्टाचार बढ्दै गयो भने भष्टाचारले देशलाई कोल्याप्स पार्ने बताउनु भयो । सभामुख सापकोटाले सुशासन भ्रष्टाचार नियन्त्रण गुणस्तरीय कानून निर्माण भएपनि ठिक ढङ्गले कार्यान्वयन भएको भन्दै गुनासो गर्नुभयो ।

उहाँले लोकतन्त्र भनेको जीवनधारा र लोकतन्त्रको आत्मा भनेको संसद रहेको बताउनु भयो । उहाँले तीन करोड नेपाली जनताहरुको आवाज प्रष्फुटन हुने एक मात्रै फोरम भने संघीय संसद रहेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो,‘संंसदमा हाम्रो अरु कुनै स्वास्र्थ छैन । स्वास्र्थ छ भने देशको स्वास्र्थ छ, यो देशको सुशासन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने रहेको छ । भ्रष्टाचार कुरा गर्दा भ्रष्टाचार भनेको कुनै बजेटसँगको कुरा मात्रै होइन । आर्थिक सवालसँगको मात्रै कुरा होइन । भ्रष्टाचार देश र राष्ट्रियता सँगको कुरा हो । भ्रष्टाचार बढ्दै गयो भने त्यो सुरक्षाको पनि सवाल हो । भ्रष्टाचारले नै देशलाई कोल्याप्स गर्छ । त्यसपछि देश समाप्त हुने दिशातिर जान्छ ।

सुशासन भ्रष्टाचार नियन्त्रण गुणस्तरीय कानून निर्माण त भयो । त्यसको ठिक ढङ्गले कार्यान्वयन भएको छ कि छैन ? न्यायलयमा ठिक ढङ्गले कानून कार्यान्वयन भए नभएको निगरानी गर्ने अधिकार छ । तर प्रारम्भिक कार्यहरु, लोकतान्त्रिक मूल्य मान्यता र आर्दशलाई जीवन व्यवहारमा लागू गर्नेकुरा र सबै पार्टीका आन्तरिक लोकतन्त्रलाई सुदृढ गर्ने कुरा नै बाँकी छन् । बाँकी भएर संसदमा गर्न सकिएको छैन । हामी प्रयास गर्दैछौं । हामी भन्छौं लोकतन्त्र भनेको जीवनधारा हो । लोकतन्त्रको आत्मा भनेको संसद हो ।

हामी ३ करोड जनताहरुको आवाज प्रष्फुटन हुने कुनै फोरम छ भने त्यो संघीय संसद नै हो । त्यो संसदलाई कति जीवन्त र जनमुखी बनाउन सक्छौं । अहिले हामीले एउटा सूत्र वाक्य बनाएका छौं । कति सक्छौं हामी पूरै निष्ठाका र इमानका साथ हामी लागेका छौं । अहिले इमान र निष्ठाको कुरा गर्दा अहिले दुनियाँमा दर्शन, विचार र सिद्धान्तका बारेमा छलफल भएको छैन । पूरै विश्व अहिले व्यापारमा केन्द्रित भएको छ ।’

सभामुख सापकोटाले संसदले जनताका कुरालाई आत्मसाथ गर्नसक्नु नै सफलता हुने बताउनु भयो । उहाँले पछिल्लो समय विश्वमा दर्शन, विचार र सिद्धान्तका बारेमा छलफल भन्दा पनि व्यापारमा बढी केन्द्रित भएको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?