कैलालीका कांग्रेस नेता जोशीसहित थारु अगुवाहरु नागरिक उन्मुक्ति पार्टी प्रवेश

Read Time = 5 mins

-गोविन्द बीसी

टीकापुर । नेपाली कांग्रेस कैलालीका नेता नेत्रप्रसाद जोशीसहित थरुहट आन्दोलनका अगुवाहरु नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्नुभएको छ ।
आइतबार रिपोर्टस् क्लब काठमाडौँमा आयोजित कार्यक्रममा जोशीसहित थरुहट आन्दोलनका अगुवा नेताहरु नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्नुभएको हो । लम्कीमा व्यवसाय गर्दै आउनुभएका जोशी नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आउनुभएको थियो ।

कार्यक्रममा थरुहटरथारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय अध्यक्ष लक्ष्मण थारु र थरुहट आन्दोलनका अगुवा सुरेन्द्र चौधरी लगायत बर्दिया र कैलालीका नेताहरु नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्नुभएको छ ।

यसैगरी, थरुहट आन्दोलनका कैयौं योद्धाहरु पनि सो पार्टीमा प्रवेश गरेका छन् । टीकापुरमा कार्यरत पत्रकार पदम सापकोटा, नेत्र जैशी पनि नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्नु भएको छ ।

आयोजित कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य एवम् टीकापुर नगरपालिकाका प्रमुख रामलाल डंगौराथारुले पहिचान र अधिकारका क्रममा भएको आन्दोलनका कारणले टीकापुर घटना घटेको बताउनुभयो ।

यस्तै, पार्टी प्रवेशपछि बोल्दै नेता लक्ष्मण थारुले आफूहरुले न्याय, समानता र अधिकारका लागि संघर्ष गरिरहेको बताउनुभयो । उहाँले विभिन्न समयमा भएका तरुहट, मगरात, लिम्बुवान, नेवार, दलित, मधेस, मुस्लिम उत्पीडित क्षेत्र र पहिचानको आन्दोलनलाई बचाउन र न्याय स्थापित गर्न सबै गोलबन्द हुन आवश्यक रहेकोे बताउनुभयो । उहाँले थारुलाई राज्यले जेल र झुठो मुद्दा लगाएर तर्साउन खोजेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘हामीलाई तर्साइन्छ जेल हालेर, झुट्टा मुद्दा लगाएर, घरमा आगजनी, एफएम तोडफोड गरेर हामीलाई तर्साइन्छ, थारु हो भनेर ।’

उहाँले नागरिक उन्मुक्ति पार्टीमा आफ्नो भावना, विचार र सामूहिक संस्कार मिलेकाले पनि पार्टी प्रवेश गरेको बताउनुभयो ।

कार्यक्रममा बर्दिया र कैलालीका ४५ जना

नेताकार्यकर्ता नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेका हुन् । नवप्रवेशशीलाई केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र प्रवक्ता दामोदर पाण्डेय, टीकापुर नगरपालिकाका मेयर रामलाल डंगौराथारु र जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले टीका खादा लगाएर आफ्नो पार्टीमा स्वागत गराउनु भएको थियो ।

पार्टी प्रवेशले कांग्रेसलाई धक्का

प्रतिनिधि र प्रदेश सभाको निर्वाचन नजिकिँदै गर्दा एकपछि अर्को गरि कांग्रेस नेताहरु पार्टी परित्याग गरि नागरिक उन्मुक्ति पार्टीमा लागेपछि नेपाली कांग्रेसलाई कैलाली क्षेत्र नम्बर २ मा धक्का पुगेको छ ।

यसअघि नेपाली कांग्रेसका नेता एवम् महासमिति सदस्य अरुणकुमार चौधरी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्नुभएको थियो । लामो समय कांग्रेसको राजनीतिमा सक्रिय चौधरीलाई नागरिक उन्मुक्ति पार्टीले केन्द्रीय सदस्यसहित सुदूरपश्चिम प्रदेश संगठन विभाग प्रमुखको जिम्मेवारी दिएको थियो । नागरिक उन्मुक्ति पार्टीले पछिल्लो समय कैलालीमा पार्टी संगठन विस्तार अभियानलाई तीव्रता दिएको छ ।

स्थानीय तहको निर्वाचनमा टीकापुर, भजनी नगरपालिका, जानकी र जोशीपुर गाउँपालिका गरि चारवटा पालिका प्रमुख र तीन उपप्रमुख जितेको नागरिक उन्मुक्ति पार्टी जिल्लामा ठूलो राजनीतिक दलको रूपमा स्थापित भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?