बझाङ । बिहान उठेर निगालोको चोया निकाल्नु र विभिन्न सामान बनाउनु बुंगल नगरपालिका वडा नं २ खानीबगरका देब्बो धामीको दैनिकि बनेको छ । उमेरले ५५ वर्ष नाघ्नुभएका धामी छोराहरूले वनबाट ल्याई दिएको निगालोबाट मान्द्रो, डोका, नाङ्लो, छाप्रा कुरु (भकारी) बनाउनुहुन्छ । ती बनाइएका सामानहरू छोराहरूले बुंगल नगरपालिकाका विभिन्न गाउँमा गएर बिक्री गर्ने गर्दछन् । पहिले पहिले निगालोका सामानहरू गाउँगाउँ लगेर बिक्री गर्नुपर्ने अवस्था भएको भए पनि अहिले भने विजगडा बजारका व्यापारीहरूले किन्ने गरेका छन् । निगालोबाट बनेका सामग्री बिक्री गरी पुस्तौँदेखि चामल नुन तेलको जोहो गर्दैै आएका छन् ।
बुंगल नगरपालिका वडा नं १ काँडाका कर्ण धामीको दैनिकी पनि उस्तै छ । निगालोबाट बनेका मान्द्रो, डोका, नाङ्लो, छाप्रा कुरु (भकारी) बनाउनु र नगरपालिकाका विभिन्न गाउँ, बित्थडचिर र केदारस्यु गाउँपालिकाका विभिन्न गाउँमा गएर बिक्री गर्दै आएका छन् । अन्नसमेत राम्ररी नफल्ने यस भेगका स्थानीयहरू पहिले पहिले जिल्लाभरिका विभिन्न गाउँ चहारेर निगालोका सामानहरूसँग धान, गहुँ, भटमास, मास लगायतका अन्नसँग साटसाट गर्ने गरेको धामीको भनाइ छ ।
दहबगरबासी मात्रै नभएर बुंगल नगरपालिकामा-६ स्थित बड्डी ज्याबन गाउँका बासिन्दा पनि निगालोका सामान बिक्री गरेर आर्थिक गर्जाे टार्ने गरेका छन् । उक्त गाउँका ३० परिवार निगालोका सामान बिक्री गरेरै छाक टारिरहेको स्थानीय हरजित बोहराले बताउनुभयो ।
अहिले निगालोका सामानबाट नगद आम्दानी पनि हुन थालेपछि निगालो दहबगरका स्थानीयको आम्दानीको स्रोत बनेको छ । निगालोका सामानहरू बिक्री गरेर वर्षमा ५० हजारदेखि एक लाखसम्म कमाउने गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘निगालोबाट बनेको बिस्कुन सुकाउन बनाइएको ठूलो मान्द्रो दुई हजार पाँच सयदेखि चार हजारसम्म, ओछ्याउने मान्द्रो एक हजारदेखि एक हजार पाँच सयसम्म, नाङ्लो पाँच सयदेखि सात सयसम्म र छाप्रो चार सयदेखि ६५० सम्ममा बिक्री हुने गरेको छ । यस्तै, अन्न राख्ने भकारी आकार हेरेर एक हजार पाँच सयदेखि पाँच हजारसम्म, डोको २५० देखि पाँच सय सम्ममा बिक्री हुने गरेको छ ।
जडीबुडी संकलन मुख्य आम्दानीको स्रोत रहेको यस क्षेत्रका स्थानीयको अन्य आम्दानीका स्रोतको रूपमा निगालो बनेको छ । त्यहाँका स्थानीयले आम्दानीको मुख्य स्रोतका रूपमा यार्सा तथा जडीबुडी संकलन गर्ने गरेको भए पनि अहिले यार्सा तथा जडीबुडी उत्पादनमा कमी आएपछि निगालो आम्दानीको स्रोत बन्दैै आएको छ ।
जंगलमा निगालोको मात्रा घट्दै
पछिल्लो समय जंगलमा निगालोको मात्रा घट्दै गएका कारण आफूहरूको आम्दानीको स्रोतमाथि संकट उत्पन्न भएकोमा यहाँका बासिन्दाहरू चिन्तित भएका छन् । पहिला जस्तो निगालो पाउन छोडेको छ । एक दुई वर्ष पहिला घर वरिपरि प्रशस्तै पाइने निगालो आजभोलि राम्रो निगालो पाउन एकदिन हिँड्नुपर्छ । अन्य गाउँबाट निगालो काट्न आउनेहरूले बर्सेनि जंगलमा डढेलो लगाइदिँदा पनि निगालो सकिन थालेको यहाँका बासिन्दाहरूको भनाइ छ ।
निगालो सकिएपछि आफूहरूको नगद आम्दानीको अर्काे विकल्प नहुने भएकाले निगालोको व्यावसायिक खेती गर्न सरकारले सहयोग गर्नुपर्र्ने उहाँहरूको माग रहेको छ । स्थानीय सरकारले भन्ने बेलामा मात्र कृषि क्षेत्रलाई प्राथमिकता दिने भन्ने र बजेट विनियोजन गर्दा बेवास्ता गर्ने गरेको वडा नं २ का स्थानीय आनन्द धामीले बताउनुभयो । आयआर्जन र कृषि क्षेत्रका स्थानीय सरकारको चासो नभएकाले पनि सम्भावना हुँदाहुँदै पनि यस्ता व्यवसायहरू फस्टाउन सकेका छैनन् । व्यावसायिक खेतीका विषयमा स्थानीय सरकारले गम्भीर हुनुपर्ने उहाँको भनाइ छ ।
वडा नं २ का वडाध्यक्ष बिरे धामीले अहिलेसम्म कसैले पनि यस्तो प्रकारको प्रस्ताव लिएर नआएको कारण आफूले केही गर्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले सामुदायिक वनहरूले पनि जथाभावी निगालो काट्न नदिने र काटे पनि सामुदायिक वनको पुर्जी काट्नुपर्ने भएपछि निगालोका सामानको मूल्य बढ्ने गरेको छ ।’ स्थानीय सरकारले निगालोको व्यावसायिक खेतीका लागि आवश्यक सहयोग गर्छ । हाम्रो वडामा जडीबुटीपछि आय आर्जनको अर्को विकल्प निगालो पनि भएकाले यसको व्यावसायिक खेतीका लागि विशेष कार्यक्रम ल्याउने उहाँको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच