![पहिचान पक्षधरसँग वार्ता गर्न कोशी सरकारले बनायो तीन सदस्यीय वार्ता समिति](https://ehimalayatimes.com/wp-content/uploads/2023/10/kedar-karki-3.jpg)
नृपेन्द्रबहादुर मल्ल/हिटा
मुगु । देशमा फोरजी सेवा सञ्चालन भइरहेका बेला मुगु जिल्लाका नागरिकले भने एक कल फोन गर्नका लागि पालिकाको केन्द्र तथा सदरमुकाम गमगढी पुग्नुपर्ने बाध्यता रहेको छ । सञ्चार सम्पर्कका लागि पालिकाको केन्द्र तथा सदरमुकाम पुग्नुपर्ने भएपछि यहाँका नागरिकलाई निकै सास्ती हुँदै आएको छ । देशकै अत्यन्तै विकट मानिने मुगु जिल्लाको सोरु गाउँपालिका भित्रका अधिकांश बस्तीहरू अहिले पनि सञ्चार सुविधाको पहुँचभन्दा बाहिर रहेका छन् । विश्व प्राविधिको जमनामा फट्को मारिरहँदा सोरु गाउँपालिका भित्रका अधिकांश बस्तीहरू सञ्चारको पहुँचभन्दा बाहिर रहँदासमेत यहाँ सञ्चार सुविधाका लागि कुनै पनि निकायबाट पहल नभएको भन्दै स्थानीयवासीहरू आक्रोशित बन्दै गएका छन् ।
सोरु गाउँपालिकाका सबै बस्तीलाई समेट्ने गरी निर्माण गरिएका वडा नं ८ कच्चेकोट र वडा नं ६ पुरुमुरुको लेकमा नेपाल टेलिकमका फोरजी टावर राखे पनि उपकरण जडान गरी सञ्चालनमा नल्याइँदा गाउँपालिका भित्रका अधिकांश वडाहरू सञ्चारको पहँुचभन्दा बाहिर रहेको पाइएको हो ।
सोरु गाउँपालिकाला-८ तारापानीका स्थानीय प्रेमबहादुर रावल भन्नुहुन्छ, ‘आफन्तको लागि जरुरी खबर गर्न र इमेल इन्टरनेटबाट डकुमेन्ट पठाउन गाडी चढेर गमगढी जानुपर्ने बाध्यता छ । जान आउन गरेर एक दिनमा करिब तीन हजार खर्च हुन्छ । के गर्ने गाउँमा एक कल फोनसमेत लाग्दैन ।’ इमेल, इन्टरनेट त परको कुरा भएको रावलले गुनासो छ ।
रातको समयमा आफन्त बिरामी हुँदा सुत्केरी व्यथा लाग्दा एम्बुलेन्स डाक्नसमेत विकल्प छैन, कालैं स्वास्थ्य चौकीका सिनियर अहेब छक्कबहादुर शाहीले सुनाउनुभयो । जिल्लाकै दुर्गम बस्तीमा अवस्थित स्वास्थ्य चौकीमा हुने विभिन्न अफिसेली काम गर्दा इमेल, इन्टरनेट आवश्यक पर्दछ के गर्ने ? कार्यालयको प्रगतिको रिपोर्टिङ गर्नुपर्छ । सम्बन्धित ठाउँमा कागजात पु¥याउन र जानकारी गराउन स्थलगत यात्रा गरी समय खर्चिनुपर्ने बाध्यता छ शाहीले गुनासो गर्नुभयो । गाउँमा बस्दा कतै खबर आदान प्रदान नहुँदा गुमराहा भई बस्नुपर्ने बाध्यता छ अहेब शाहीले भन्नुभयो । कतै एक कल फोन गर्नुपर्दा कि त अग्लो डाँडोमा जानुपर्छ कि त गाडीमा सोरुकोट र गमगढी जानुपर्ने बाध्यता छ, उहाँले भन्नुभयो ।
कर्णाली जलपरियोजना मुगुका सब इञ्जिनियर सुवासकुमार शाहीका अनुसार भनेको ठाउँबाट घरमा फोन गरौँ भने एक कल फोन पनि लाग्दैन । अफिसमा अनुगमन रिपोर्ट गरौँ भने नेट चल्दैन । साँझ बिहान र फुर्सदको समयमा समाचार हेरौँ भने नेट छैन । यतिकै गुमराहमा बस्नु यो हाम्रो बाध्यता हो शाहीले बताउनुभयो । सोरुकै फोतु गाउँका स्थानीय राजबहादुर शाही आफ्नो घरबाट एक कल फोन गर्न डाँडो चढ्नुपर्ने सुनाउनुहुन्छ । नेर र ताँजामा त ठ्याम्मै फोन लाग्दैन शाहीले बताउनुभयो । फोतुमा फोन लाग्दैन मुस्किलले घर बाहिरबाट फोन लागे पनि आवाज राम्रोसँग सुनिँदैन ।
सोरु गाउँपालिका भित्रका अधिकांश युवा इन्टरनेटको पहुँचबाट बाहिर हुँदा विभिन्न किसिमका जानकारी, सूचनाहरू समयमै पाउन नसकी विभिन्न अवसरबाट वञ्चित हुनुपरेको छ । सोरु गाउँपालिका भित्रका तारापानी, गिलाहाँ, नुवाकोट सिप, रुम, कच्चे, आँसीधारा, ख्याल्च, बुम्च, सिरुपाटा, ताँजा, जडेपानी फोतु लिब्रु, नेर, लगायतका दुर्गम बस्तीहरू सञ्चारको पहुँचभन्दा बाहिर छन् ।
नेपाल टेलिकमका कर्णाली प्रदेशका क्षेत्रीय निर्देशक उमेश शाहले भन्नुभयो, ‘नेपाल सरकारको देशभरिका सबै दुर्गम बस्तीहरूमा सञ्चारमा पहुँच पुर्याउने लक्ष्यअनुसार नेपाल टेलिकम पनि अघि बढेको छ । मुगुकै खत्याड गाउँपालिकाको कोटडाँडा र सुकाढिकमा हालै फोरजी सेवा विस्तार भइसकेको छ ।’ सोरुमा पनि सबै बस्ती कभरेज हुने गरी सञ्चार सेवा विस्तारका लागि आफू लागिपरेको निर्देशक शाहले बताउनुभयो । केही वर्ष अगाडि बनेका कच्चेकोट टावर र पुरुमुरु लेकको फोरजी टावरमा बिटियस उपकरण जडानको काम मात्र बाँकी रहेकाले त्यसलाई पूरा गर्नको लागि आवश्यक प्रक्रिया अघि बढिसकेको निर्देशक शाहले जानकारी गराउनुभयो । हाल टेलिकमसँग बिटियस उपकरणहरूको अभाव रहेको र कतै जगेडा सेटहरू छन् भने त्यसको खोजी कार्य भइराखेको छ । यदि कतै नभेटिए खरिद प्रक्रियामा गएर भए पनि टावर सञ्चालन गरिनेछ, उहाँले भन्नुभयो ।
टावरसँगको लिंकबिना फोरजी सेवाको विस्तार सम्भव नहुने भएकाले छायानाथ रारा नगरपालिकाको थार्प मालिकी लेकमा बन्दै गरेको टावर सम्पन्न हुनासाथ लिंक गराए कच्चेकोटको टावरले काम गर्ने निर्देशक शाहको भनाइ थियो । पुरुमुरु लेकको टावरसँग हुम्लाको तल्लो भेग मैलाको टावरसँग चाँडै लिंक गराइने पनि उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘हाल मौसम प्रतिकूलताका कारण काम कारबाहीमा केही ढिलाइ भए पनि मौसममा सुधार आउनासाथ प्रक्रिया अघि बढ्नेछ ।’
सोरु गाउँपालिका, खत्याड गाउँपालिकामा हाल निर्माण भइसकेका र निर्माण हुँदै गरेका फोरजी टावरहरूले कभरेज नगरेका स्थानहरूमा पुनः अध्ययन गरेर सबै प्रक्रिया पूरा गरी सञ्चार सम्पर्कभन्दा बाहिर रहेका बस्तीलाई पनि सञ्चारको पहुँचमा जोडिने निर्देशक शाहले जानकारी गराउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच