नेपालको तराई क्षेत्रमा हालका दिनहरूमा बाक्लो हुस्सु लाग्ने र शीतलहर चलेकाले त्यहाँको जनजीवन प्रभावित बन्न पुगेको छ । यो स्वाभाविक अवस्था होइन । दुई-तीन दशक पहिलेको मौसमी अवस्था र अहिलेको अवस्थालाई तुलना गरेर हेर्ने हो भने आकाश जमिनको फरक पर्न थालेको छ । यति छोटो समयमै मौसमी परिवर्तन हुँदै जाने हो भने पृथ्वीमा अस्वाभाविक अवस्थाको सिर्जना भई छिट्टै प्राणी तथा वनस्पतिहरूका लागि प्रतिकूल स्थिति बन्ने पक्का छ । छिटोछिटो मौसमी फेरबदल हुँदै जाँदा निकट भविष्यमै प्राणी र वनस्पतिहरूका लागि संकट पैदा हुने निश्चित छ । धरै समय भएकै छैन काठमाडौं उपत्यका हिउँद महिनामा मध्याहृनसम्म हुस्सुले छोपिन्थ्यो । हाल यहाँ हुस्सु लाग्न छोडेको छ ।
गाउँघरका रूख बिरुवाहरूमा झ्याम्म झ्याउ लागेको हुन्छ तर उपत्यकाभित्रका रूखहरूमा कुनै प्रकारको झ्याउ लाग्दैन । यहाँका गाडीहरू र कलकारखानाहरूले फ्याक्ने गरेको कार्बनका कारण वातावरण तातिँदै गएकाले यस्तो भएको हो । विश्वले नै चिन्ता गरिरहेको विषयबाट नेपाल जस्तो सानो देश पनि अछुतो रहन सकेको छैन । मानवका आफ्नै क्रियाकलापले गर्दा आफैं अपठ्यारोमा पर्दै गएको छ । दुई-तीन दशक पहिलेसम्म काठमाडौं उपत्यकाका धनीमानी मानिसहरू यहाँको जाडो छल्ल हिउँद् महिनामा मधेस गएर बस्थे । उनीहरूको मधेसतिर पनि खेती र घर हुन्थ्यो । गर्मी महिनाममा मधेसको गर्मी छल्न राजधानी आउथे तर हाल अवस्था यसको विपरीत बन्न पुगेको छ ।
मधेसमा उपत्यकाको भन्दा बढी जाडो हुनेगरेको छ । बरू काठमाडौं उपत्यकामा दिनभरि घाम लाग्छ । चिसो धेरै छैन र जाडोले कठांग्रिएर मानिसको मृत्यु भएको भन्ने समाचार यस वर्ष मात्र होइन विगतका केही वर्षमा समेत सुनिएको थिएन । नेपालको मधेसमा र यससँग जोडिएका भारतका विहार, उत्तर प्रदेशलगायत गर्मी ठाउँहरूमा अत्यधिक चिसोबाट मानिसहरूको मृत्यु हुने गरेको छ । जाडोमा अत्यधिक जाडो र गर्मीमा अत्यधिक गर्मीले त्यहाँ केही मानिस वर्षेनी मर्ने गरेका छन् । तराईमा गर्मीमा तातो हावा (लु) चल्ने गर्छ र यसबाट पनि मानिसको मृत्यु हुन्छ ।
यस्तो परिस्थिति प्रकृतिविरुद्धका मानवीय क्रियाकलापबाटै सिर्जना हुने हो । मानिसका कुनै क्रियाकपलापबाट जलप्रदुषण भएको छ भने कुनै क्रियाकलापबाट वायुप्रदुषण भएको छ । साथै अधिक मात्रा र संख्यामा औद्योगिक तथा यातायातसम्बन्धी संशाधनहरूको निर्माण र प्रयोगबाट वातावरणमा ध्वनि प्रदुषण भइरहेको छ । विश्व ब्रहृमाण्डमै मौसमी परिवर्तन आइरहेको छ । केही दशकदेखि तराईमा नियमित रूपमै हुँदै आएको शीतलहरको कारण यही हो भन्दा अन्यथा हुनेछैन । गर्मी ठाउँमा गर्मी नहुनु र जाडो हुने ठाउँमा जाडो नहुनु भनेको प्राकृतिक नियमभन्दा भिन्न स्थिति पैदा हुनु हो ।
यसबाट निश्चिय प्राणी वनस्पतिलगायत अन्य प्राकृतिक कुरालाई समेत नकारात्मक प्रभाव पार्छ । यो चिन्ताको विषय हो । यसप्रति मानिसले सोच्न ढिलो भइसकेको छ । हुन त यो नेपालको मात्र चिनाताको विषय होइन र विश्वले पनि सोचिरहेको छ । केही महिना पहिले भारतमा भएको सम्मेलनमा यसबारे प्रश्न उठेको थियो । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि यस विषयमा चिन्ता व्यक्त गर्नुभएको थियो । उहाँले त्यसभन्दा केही समयपूर्व नेपालको भ्रमण गर्नुभएको थियो र नेपालका हिमालहरूको अवलोकलसमेत गर्नुभएको थियो । नेपालका हिमालहरू हिउँविहीन बन्दै गएर नांगिएका देखेर उहाँले नेपालमा छँदा नै पनि यसबारे चिन्ता प्रकट गर्नुभएको थियो ।
कुनै विषयमा चिन्ता प्रकट गर्नु भनेको त्यस विषयको समाधानका लागि उपाय सोच्नु हो । त्यसकारण औद्योगिक राष्ट्रहरूले यसबारे सोच्नु उनीहरूको दायित्व हो । पहिलो दायित्व उनीहरूको भए पनि अरूको पनि यसका दायित्व नरहने भन्ने होइन । सबैले यस विषयमा गम्भीर भएर सोच्नुपर्छ । हाम्रो तराई क्षेत्रमा हाल चलिरहेको शीतलहरबाट मानिसको ज्यान नजाओस् भनेर त्यसका लागि केही कमकार्य गर्नु प्राथमिक रूपमा त्यसको समाधान हो तर दीर्घकालीन रूपमा त्यति गरेरमात्रै पुग्दैन । यसबाट नागरिकहरूको जीउज्यान खतरामा नपरोस् भनेर राष्ट्रले सोच्नुपर्छ । विशेषतः प्रदेश सरकार र स्थानीय तहबाट जाडो महिनामा चोकहरूमा आगो बालिदिने जस्तो काम गतवर्ष पनि गरिँदै आएको हो ।
यसका साथै लुगाकपडा नभए, कठांग्रिएर मानिसहरूको मृत्यु हुने गरेकोमा ती अत्यन्त गरिबीको पीडा भोगिरहेका मानिसहरूका लागि सरकारले न्यानो लुगा, ओढ्ने ओछ्याउनेहरूको व्यवस्था गरिदिन सक्ने हो भने तिनीहरू शीतलहरको समयमा घरबाट बाहिर निस्कने थिएनन् र तिनका लागि खतरा कम हुने थियो । स्थानीयहरूका समस्या स्थानीय सरकारलाई बढी जानकारी हुने भएको हुँदा यस्ता समस्याको समाधानका लागि स्थानीय सरकार बढी सक्रिय हुनुपर्छ र नागरिकहरूको जीउज्यानको सुरक्षा पनि तिनै निकायबाट हुनुपर्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच