सुर्खेत । सपनालाई पछ्याउँदै मिहिनेतको जाँतोमा अनवरत घोँटिनेहरूलाई सफलताले अङ्कमाल गरेरै छाड्छ । यही भनाइलाई पुष्टि गरेको छ मुगुको छायाँनाथ रारा नगरपालिका-१ क्षत्रीबाडा गाउँकी सगुना परियारको संघर्ष र सफलताले । उमेरले २५ बर्षमा टेकेकी सगुनाले मिहिनेत र लगनशीलताको बलमा आफ्नो स्टाफ नर्स बन्ने सपनालाई पुरा गर्नुभएको छ । त्यति मात्र होइन उहाँले एकै वर्षमा लोकसेवा आयोगले लिएका सातवटा परीक्षा उत्तीर्ण गरेर ‘चमत्कार’ नै गर्नुभएको छ ।
लोकसेवा आयोगको परीक्षामा एकपछि अर्को सफलता प्राप्त गर्दै नाम निकाल्न सफल भएपछि हाल सगुना दैलेखको दुल्लु नगरपालिकामा पब्लिक हेल्थ नर्सका रूपमा कार्यरत हुनुहुन्छ । हालै संघीय लोकसेवा आयोगको कार्यालय दिपायलले सार्वजनिक गरेको स्टाफ नर्सको नतिजासँगै सगुना एकै वर्षमा सात वटा लोकसेवा परीक्षा उत्तीर्ण गर्ने व्यक्तिको रूपमा सूचीकृत हुुनुभएको छ ।
सगुनाले क्रमशः लोकसेवा आयोग लुम्बिनीले लिएको प्रदेश निजामती सेवातर्फ अनमी, स्थानीय सेवातर्फ अनमी, कर्णाली प्रदेश अनमी र पब्लिक हेल्थतर्फ नर्सिङ, कोशी प्रदेश अनमी, संघीय लोकसेवा आयोग दिपायलबाट स्टाफ नर्स र निजामती कर्मचारी अस्पतालमा नाम निकाल्नुभएको हो ।
संघर्षले आर्जेको सफलता
निम्नवर्गीय परिवारमा जन्मिएकी सगुना घरकी जेठी छोरी हुनुहुन्छ । सगुनाका बुवाआमाले गाउँमा खेतीकिसानी गर्नुहुन्छ भने दुई भाई उच्च शिक्षा अध्ययनरत छन् । मुगु जस्तो दुर्गम गाउँको स्वास्थ्य समस्यालाई सानैदेखि नजिकबाट नियालेकी सगुनाको डाक्टर बन्ने सपना थियो । घरबाट पूर्ण साथका पाएकी सगुना पढाइमा पनि अब्बल विद्यार्थी हुनुहुन्थ्यो । महाकाली माध्यमिक विद्यालय गमगढीबाट एसएलसी उत्तीर्णपछि सगुनाले नर्सिङ पढाइका लागि छात्रवृत्तिमा नाम पनि निकाल्नुभयो ।
सेती महाकाली नर्सिङ क्याम्पसबाट २०७५ सालमा उत्कृष्ट नम्बर ल्याउदै नर्सिङ पास गरेकी सगुना परियारले हाल पब्लिक हेल्थ नर्सका रूपमा स्थायी सरकारी सेवामा हुनुहुन्छ । ‘दुर्गम गाउँ, सञ्चारको असुविधाका कारण नर्सिङ कहाँ पढाइ हुन्छ ? कहिले भर्ना खुल्छ ? कहिले प्रवेश परीक्षा हुन्छ ? भन्ने केही थाहा हुँदैन थियो’ उहाँले भन्नुभयो, ‘जसोतसो महेन्द्रनगरमा पीसीएल नर्सिङमा भर्ना खुलेको थाहा पाएँ । त्यसपछि छात्रवृत्तिमा नाम निकाल्न सफल भएँ ।’
मुगुको दुर्गम बस्तीबाट नर्सिङ पेशासम्मको यात्रा सगुनाका लागि सहज थिएन । तर, जसरी भए पनि सोच पुरा गर्छु भन्ने आत्मविश्वास र मेहनतले सगुनाको उद्देश्य पुरा भएको छ । सेती महाकाली नर्सिङ क्याम्पसबाट पास भएलगत्तै सगुनाले स्वास्थ्य सेवा कार्यालय मुगुमा दुई वर्ष करार सेवामा काम गर्नुभयो ।
नर्सिङ पास भएलगत्तै लोकसेवा आयोगको तयारी गर्ने सोच थियो । तर, कोरोना महामारीका कारण रोकियो । कोरोना महामारीकै दौरानमा लोकसेवाले अनमी र जनस्वास्थ्यमा दरबन्दी खुलायो । त्यसपछि उहाँ लोकसेवा तयारी गर्न जागिर छोडेर काठमाडौं जानुभयो ।
काठमाडौंमा एक महिनाजति तयारी गरेपछि पुनः कोरोनाको दोस्रो लहरले उहाँको तयारी बीचमै रोकियो । तर, अध्ययन कार्य जारी नै रहृयो । सगुनाले तीन महिनासम्म अनलाइन कक्षा लिएर संघीय, प्रादेशिक र स्थानीय तहमा लोकसेवाले खुलाएको सात पदमा परीक्षा दिनुभयो । परीक्षपश्चातु नाम निस्के ठीकै छ, खाली किन बस्ने भनेर उहाँ सुशील कोइराला क्यान्सर अस्पताल नेपालगञ्जमा करारमा काम गर्न थाल्नुभयो ।
विस्तारै लोकसेवा आयोगले नतिजा सार्वजनिक गर्न थाल्यो । पहिलोपल्ट कर्णाली प्रदेशले लिएको अनमी र जनस्वास्थ्यतर्फ नर्सिङ पदमा नाम निस्कियो । उहाँले अनमी छाडेर जनस्वास्थ्यतर्फ नर्सिङ सेवा रोज्नुभयो । अन्तर्वार्तामा सफल भएर उहाँ गत मंसिर ८ गतेदेखि दैलेखको दुल्लु नगरपालिकामा पब्लिक हेल्थ नर्सका रुपमा कार्यरत हुनुहुन्छ ।
आफूभित्र भएको इच्छा र चाहानाअनुसार निरन्तर मेहनत गरे सफलता सहजै प्राप्त गर्न सकिने सगुना बताउनुहुन्छ । ‘असम्भव भन्ने केही छैन, अवसरका लागि विदेशिनु पनि पर्दैन’ उहाँले भन्नुभयो, ‘नेपालमा नर्सहरूले जागिर नै पाउँदैनन् । भविष्य छैन भन्ने भाष्य गलत हो । त्यसका लागि मेहनत पनि गर्नुपर्छ ।’
पछिल्लो राम्रो सेवा सुविधा र पारिश्रमिकको लोभले दिनानुदिन दक्ष जनशक्ति विदेश पलायन हुने क्रम बढेको छ । सुरक्षित भविष्य खोज्दै दैनिक देश छोड्ने अन्य युवाहरू जस्तै पछिल्लो समय स्टाफ नर्सहरू पनि विदेश जानेक्रम जारी छ । नेपाल नर्सिङ काउन्सिलका अनुसार हालसम्म ३२ हजार नर्सले रोजगारीको खोजीमा नेपाल छाडिसकेका छन् । तर मुगुकी सगुना परियार, स्टाफ नर्स अध्ययनपछि रोजगारीका लागि वैदेशिक यात्राको सोच राख्नेहरूलाई आफ्नै देशमा पनि रोजगारी पाउन सकिन्छ भन्ने एक गतिलो उदाहरण बन्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच