
कालीकोट । कर्णाली प्रदेशको नमुना युवा संसद्को मुख्यमन्त्रीमा जाजरकोटका प्रेमबहादुर विक चयन हुनुभएको छ । कर्णाली प्रदेशको सुर्खेतमा आयोजित नमुना युवा संसद् अभ्यास कार्यक्रममा विक मुख्यमन्त्रीमा चयन हुनुभएको हो । माघ १८ गते बिहीबारदेखि पाँच दिन सञ्चालन भएको नमुना युवा संसद् अभ्यास कार्यक्रममा नगरसभा र प्रदेशसभाका बारेमा अभ्यास गरिएको थियो ।
कार्यक्रममा कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट २५ जना युवाहरू सहभागी रहेको उक्त कार्यक्रममा नगरसभाको अभ्यास गर्दा चुनावी प्रक्रियाबाट नगरप्रमुख र नगर उपप्रमुख निर्वाचित गरिएको थियो । त्यस्तै, प्रदेशसभाका लागि सत्तापक्ष र प्रतिपक्षको समेत वर्गीकरण गरिएको थियो । संसद्ले सत्तापक्षबाट मुख्यमन्त्री र मन्त्रिमण्डल विस्तार गरेको थियो । सोहीअनुरूप सत्तापक्षमा रहेका विक प्रदेशको नमुना युवा संसद्को मुख्यमन्त्री पदमा चयन हुनुभएको बताएको छ ।
नमुना प्रदेशसभाले अभ्यासका रूपमा मुख्यमन्त्रीसहित आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक, पूर्वाधार मन्त्रालय र सामाजिक विकास मन्त्रालय गरी चार मन्त्रालय विस्तार गरेको थियो ।
आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय र सामाजिक विकास मन्त्रालयमा क्रमशः सुनिता सार्की (कालीकोट), दावत विक (सुर्खेत) र संगीता दमाई (कालीकोट) मन्त्रीको पदमा चयन हुनुभएको थियो । यस्तै, नमुना प्रदेश प्रमुखमा सुर्खेतबाट सहभागी उर्मिला केएस र जुम्लाबाट सहभागी सभामुखमा अनिता नेपाली चयन हुनुभएको थियो ।
नमुना युवा प्रदेशसभामा वास्तविक प्रदेशसभामा जस्तै सभा चलाइएको थियो । शून्य समय, प्रश्नोत्तर समय र विशेष समयमा बोल्ने पनि अभ्यास गरिएको थियो । वार्षिक नीति तथा कार्यक्रम प्रदेश प्रमुखमार्फत् प्रस्तुत गरिएको थियो भने वार्षिक राजस्व बाँडफाँट तथा बजेट विनियोजन आन्तरिक मामिला तथा योजना मन्त्रीमार्फत् प्रस्तुत गरिएको थियो ।
नमुना युवा सांसदहरूलाई प्रदेशसभाका बारेमा जानकारी गराउन कर्णाली प्रदेशसभा सुर्खेतमा अनुगमनका लागि लगिएको आयोजक कमिटीका प्रतिनिधि रमेश नेपालीले जानकारी दिनुभयो । नमुना युवा संसद्को मुख्यमन्त्री बन्नुभएका विकले सिकाइ अर्थपूर्ण रहेको र युवाहरूमा राजनीतिप्रति वितृष्णा प्रकट भएको बताउनुभयो । तर, देशको नीति बदल्ने एकमात्र थलो राजनीति भएका कारण युवाहरूले राजनीतिमा चासो राख्नुपर्ने नमुना युवा प्रदेश मुख्यमन्त्री विकको भनाइ छ । दलित महिला संघ फेडो नेपालको आयोजनामा सञ्चालन भएको कार्यक्रममा युरोपियन युनियनले आर्थिक सहयोग गरेको थियो भने प्लान इन्टरनेसनलले प्राविधिक सहयोग र राष्ट्रिय युवा परिषद्ले समन्वय गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच