काठमाडौं । काठमाडौं उपत्यकामा थप शान्ति, सुरक्षा सुदृढ बनाउन, अपराध नियन्त्रण एवं न्यूनीकरणका लागि जिपीएस प्रणालीसहित इलेक्ट्रोनिक्स क्वीक रेस्पोन्स टिम 'इ-क्यूआरटी’ परिचालन गर्न सुरुआत गरिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले प्रहरी सेवा चुस्त एवं सेवालाई प्रविधिमैत्री बनाउनका लागि ‘सेफर भ्याली प्रोजेक्ट’ अवधारणाअन्तर्गत नागरिकका गुनासो तथा घटनाको ‘क्वीक रेस्पोन्स’ गर्न इ-क्यूआरटी परिचालन गरेको हो ।
प्रहरीलाई प्रविधिमैत्री तथा प्रमाण र तथ्यमा आधारित अपराध अनुसन्धानलाई थप बलियो बनाउँदै खटिएका प्रहरी कर्मचारीमाथिको नियमनलाई समेत प्रभावकारी बनाउन प्रविधिमा आधारित क्वीक रेस्पोन्स टिम परिचालन गरिएको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले बताउनुभयो ।
पहिलो चरणमा काठमाडौं जिल्लाभरिका ६० टिमलाई डिजिटल प्रविधिसहित परिचालन गरिएको छ । जिल्ला प्रहरी परिसर तथा मातहत वृत्त/प्रभागबाट जिपीएस प्रणालीद्वारा प्रहरीको क्वीक रेस्पोन्स टिमलाई सम्बन्धित घटना घटेको स्थानमा यथाशीघ्र पुग्ने वातावतण निर्माण गर्न २४सै घण्टा प्रहरी नियन्त्रण कक्षबाट ‘ट्रयाकिङ’ गर्न सकिनेगरी विद्युतीय प्रणाली जडान गरिएको छ ।
टोली घटनास्थलमा पुग्नासाथ घटनास्थलको यथार्थ विवरणसहित प्रहरी काम कारबाही र पीडित वा सेवाग्राहीसँग गरेको व्यवहारकोसमेत स्वचालितरूपमा नियन्त्रण कक्षमै रेकर्ड हुने तथा नियन्त्रण कक्षबाट समेत क्यूआरटी टिमको गतिविधि तथा घटनास्थलको बारेमा लाइभ हेर्न सक्ने गरी ६० क्यूआरटीको शरीरमा क्यामरासमेत थप गरिएको छ ।
उनीहरू पहिलो रेस्पोन्स गर्ने टोलीको रूपमा २४सै घण्टा फिल्डमा परिचालन हुने खत्रीले बताउनुभयो । उनीहरूमार्फत प्रहरीको कारबाहीलाई शीघ्र, चुस्त एवं प्रभावकारी बनाउनका लागि टोलीलाई जिपीएस ट्र्याकिङ डिभाइस, भिडियो क्यामेरा, रेडियो सेट, बत्तीसहितको साइरनलगायत अन्य सुरक्षा सामग्रीसहित खटाइएको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले उक्त टोलीमार्फत अब काठमाडौं उपत्यकाको सुरक्षा प्रविधिमैत्री हुँदै थप प्रभावकारी हुनेसमेत बताउनुभयो । उहाँले प्रहरीलाई प्रविधिमैत्री बनाउने काममा उपत्यका प्रहरीले उच्च प्राथमिकता दिँदै आएको बताउनुभयो । रासस
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच