काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को सात महिना अर्थात् माघसम्ममा शोधनान्तर बचत बढेर झण्डै तीन खर्ब अर्थात् दुई खर्ब ९७ अर्ब ७२ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति एक खर्ब २८ अर्ब ५५ करोडले मात्रै बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ९७ करोड ५७ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा दुई अर्ब २४ करोडले बचतमा रहेको छ ।
माघसम्ममा शोधनान्तर बचत बढेर दुर्ई खर्ब ९७ अर्ब ७२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर एक खर्ब २८ अर्ब ५५ करोडले मात्रै बचत थियो ।
२०८० असारमा १५ खर्ब ३९ अर्ब ३६ करोड रहेको कुल विदेशी विनिमय सञ्चिति १९.९ प्रतिशतले बढेर २०८० माघमा १८ खर्ब ४४ अर्ब ९४ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असारमा ११ अर्ब ७१ करोड रहेकामा २०८० माघमा १८.६ प्रतिशतले बढेर १३ अर्ब ८९ करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असारमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकामा २०८० माघमा २०.७ प्रतिशतले बढेर १६ खर्ब २३ अर्ब ९२ करोड पुगेको छ भने बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असारमा एक खर्ब ९३ अर्ब ५९ करोड रहेकामा २०८० माघमा १४.२ प्रतिशतले बढेर दुई खर्ब २१ अर्ब दुई करोड कायम भएको छ ।
आर्थिक वर्ष २०८०/०८१ को सात महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४.७ महिनाको वस्तु आयात र १२.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने केन्द्रीय बैंकले जनाएको छ ।
सात महिनामा आठ खर्ब बढी रेमिट्यान्स
चालु आर्थिक वर्षको सात महिनामा विप्रेषण आप्रवाह २१.६ प्रतिशतले बढेर आठ सय ३९ अर्ब पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २७.१ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १९.१ प्रतिशतले बढेर छ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.४ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या दुई लाख ४७ हजार १२ र पुनः श्रम स्वीकृति लिनेको संख्या एक लाख ५८ हजार पाँच सय ४० रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः तीन लाख १४ हजार सात सय ६७ र एक लाख ६७ हजार सात सय आठ रहेको थियो ।
७.१ प्रतिशतले घट्यो निर्यात
आर्थिक वर्ष २०८०/०८१ को सात महिनामा कुल वस्तु निर्यात ७.१ प्रतिशतले घटेर ८६ अर्ब ८३ करोडमा झरेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २९ प्रतिशतले घटेको थियो । गन्तव्यका आधारमा भारत र अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ११.३ र २ प्रतिशतले घटेको छ भने चीनतर्फको निर्यात ३३८.८ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा जिंक सिट, पार्टिकल बोर्ड, जुस, तयारी पोशाक, अदुवालगायतको निर्यात बढेको छ भने पाम तेल, सोयाबिन तेल, अलैंची, चिया, ऊनी गलैंचालगायतको निर्यात घटेको छ । चालु आर्थिक वर्षको सात महिनामा कुल वस्तु आयात २.३ प्रतिशतले घटेर आठ खर्ब ९७ अर्ब ९४ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १९.९ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलुकबाट भएको आयात क्रमशः २.८ र २३.८ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ३८.४ प्रतिशतले बढेको छ ।
वस्तुगत आधारमा तयारी पोशाक, सवारीसाधन तथा स्पेयर पार्टपुर्जा, हवाईजहाज स्पेयर पार्टपुर्जा, विद्युतीय उपकरण, एमएस तार, छड, बार तथा क्वाइललगायतका वस्तुको आयात बढेको छ भने कच्चा सोयाबिन तेल, सुन, धान तथा चामल, पेट्रोलियम पदार्थ, कच्चा पाम तेललगायतका वस्तुको आयात घटेको छ । चालु आर्थिक वर्षको सात महिनामा कुल वस्तु व्यापारघाटा १.८ प्रतिशतले घटेर आठ खर्ब ११ अर्ब ११ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १८.७ प्रतिशतले घटेको थियो ।
मूल्यवृद्धि ५.०१ प्रतिशत
२०८० माघमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.०१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.८८ प्रतिशत रहेको थियो । खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.५१ र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.८५ प्रतिशत रहेको छ । माघमा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.९६, तराई ४.७१, पहाड ५.५८ र हिमालको ५.४४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त क्षेत्रको यस्तो मुद्रास्फीति क्रमशः ८.४७, ७.८२, ७.३० र ७.९२ प्रतिशत थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप-समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक ३२.११, दाल तथा गेडागुडी ११.१५, दुग्ध पदार्थ तथा अण्डा १०.७८, खाद्य तथा खाद्यजन्य पदार्थ ९.०६ र तरकारीको ७.५८ प्रतिशतले बढेको छ भने घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १२.३३ प्रतिशतले घटेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच