काठमाडौं । आयरल्यान्ड ‘ए’ विरुद्धको टी-२० सिरिज नेपालले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको दोस्रो खेलमा आयरल्यान्डलाई ७१ रनले हराउँदै नेपाल च्याम्पियन बनेको हो । दुई खेलको सिरिज नेपालले २-० ले ‘क्लिन स्वीप’ गरेको छ । सिरिजको पहिलो खेलमा नेपालले आयरल्यान्डलाई सोमबार ६ विकेटले हराएको थियो । जितका लागि १९९ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड १८.३ ओभरमा सबै विकेटको क्षतिमा १२७ रनमा समेटिएको थियो ।
सोमपाल कामीले गरेको उक्त ओभरको पहिलो बलमा लियम म्याकार्थी बोल्ड, दोस्रो बलमा बेन हृवाइट ‘कट एण्ड बोल्ड’ र तेस्रो बलमा ग्यारेथ डेलानी रनआउट हुनुभयो । आयरल्याण्ड वुल्भ्सका स्टेफन डोहेनीले २६ रन बनाउँदा मोर्गन टोपिङले २१ र क्याड कार्मिचेलले १८ रन बनाउनुभयोे । यस्तै, रोस अडाएर र कप्तान नेइल रकले समान १७ रन जोड्दा ग्यारेथ डेलानीले १५ रन बनाउनुभयो ।
नेपालका सोमपाल र कुशल मल्लले समान तीन विकेट लिनुभयो । यसबाहेक करण केसी, विवेक यादव, सोमपाल कामी र कुशल भुर्तेलले समान एक विकेट हात पार्नुभयो ।
त्यसअघि टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १९८ रनको योगफल खडा गरेको थियो । नेपालका गुल्सनकुमार झाले ४६ रन बनाउनुभयो । ५६-३ को कठिन अवस्थामा ब्याटिङका लागि आउनुभएका गुल्सनले कप्तान रोहितकुमार पौडेलसँग चौथो विकेटका लागि ७१ रनको साझेदारी गर्दै नेपालको इनिङ उकास्नुभएको थियो ।
रोहितले २४ बलमा पाँच चौकासहित ३३ रन बनाउनुभयो । आक्रामकरूपमा प्रस्तुत हुनुभएका कुशल मल्लले ३४ रन बनाउनुभयो । उहाँले १३ बलमा चार छक्का र एक चौका प्रहार गर्नुभयो । ओपनर कुशल भुर्तेलले १६ बलमा समान दुई चौका र छक्कासहित २५ रन जोड्नुभयो ।
यसबाहेक सन्दीप जोराले १० बलमा तीन चौका र एक छक्कासहित २१ रन बनाउँदा अनिल साहले १२ र आसिफ सेखले ११ रन थप्नुभयो । आयरल्याण्ड वुल्भ्सका म्याथ्यु फोस्टरले तीन विकेट लिनुभयो । बेन हृवाइटले दुई विकेट लिँदा फियोन हृयाण्ड र गाभिन हाइले एक-एक विकेट हात पार्नुभयो ।
नेपाल ‘ए’ ले आयरल्याण्ड वुल्भ्ससँग पाँच ट्वान्टी-२० र तीन एकदिवसीय खेलको शृंखला खेल्ने तालिका छ । जसअन्तर्गत सुरुका दुई ट्वान्टी-२० खेल रोहित नेतृत्वको नेपाली सिनियर टिमले खेल्दा बाँकी खेल भने विनोद भण्डारीको कप्तानीमा रहेको नेपाल ‘ए’ ले खेल्नेछ । वुल्भ्सविरुद्ध अब बाँकी ट्वान्टी-२० खेल भण्डारीको कप्तानीमा रहेको नेपाल ‘ए’ ले खेल्नेछ । आयरल्याण्ड ‘ए’ नेपाली ‘ए’ क्रिकेट टिमको दोस्रो प्रतिद्वन्द्वी हो । नेपाल ‘ए’ ले यसअघि क्यानडा-११ सँग पहिलोपटक क्रिकेट शृंखला खेलेको थियो ।
महिला टोली एसिया कपमा
नेपाल महिला राष्ट्रिय क्रिकेट टोलीले यसै वर्ष हुने एसिया कप २०२४ मा सहभागिता जनाउँने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार साँझ आफ्नो सामाजिक सञ्जाल हृयान्डलमार्फत उक्त जानकारी दिएको हो । गत फेब्रुअरीमा भएको एसिसी वुमन्स प्रिमियर कपको सेमिफाइनलमा मलेसियासँग पराजित भएपछि नेपाल एसिया कपबाट वञ्चित भएको थियो । प्रिमियर कपका दुई फाइनल रहेका युएई र मलेसिया सिधै एसिया कपमा प्रवेश गरेका थिए । तर, एसिसीले आठ टोलीको प्रतियोगिता बनाएर नेपाललाई प्रतियोगितामा समावेश गरेको क्यानले जनाएको छ ।
एसिया कपको समूह ‘ए’ मा नेपालसँगै भारत, पाकिस्तान र युएई रहेका छन् । नेपालले जुलाई १९ मा पाकिस्तान, २१ जुलाईमा युएई र जुलाई २३ मा भारतसँग प्रतिस्पर्धा गर्नेछ । समूह ‘बि’ मा बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड रहेका छन् । प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच