रविन्द्रसिंह बानियाँद्वारा निर्मित चलचित्र ‘महाजात्रा’ यतिबेला सिनेमाघरमा छ । चैत ९ गतेदेखि सिनेमाघरमा आएको यो चलचित्र शुक्रबारदेखि दोस्रो हप्तामा प्रदर्शनरत छ । रविन्द्र ‘पशुपति प्रसाद’ चलचित्रमा हनुमानजीको भूमिकाबाट चर्चामा आउनुभएको थियो । उहाँ सन् २०१४ को ‘टलकजंग भर्सेस टुल्के’मा विनय बाबुसाहेबको भूमिकामा देखिनुभएको थियो । ‘टलकजंग भर्सेस टुल्के’देखि ‘जात्रा’, ‘जात्रै जात्रा’ र ‘महाजात्रा’सम्म आइपुग्दा बानियाँलाई यो क्षेत्रमा राम्रो चलचित्र निर्माण गर्ने निर्माताका रूपमा दर्शकले पाएका छन् । आफू त्यस्तो भयंकर ठूलो कलाकार नभएको जिकिर गर्ने बानियाँ ‘हामीसँग सबै कुरा छ तर केही भइरहेको छैन । हाइड्रोजन पनि छ हिलियम पनि छ तर आगो परिरहेको छैन । दुईवटा मिसाए आगो पर्छ भन्छ तर आगो बल्दैन । यो बीचमा क्याटलेटिक इनर्जी भन्ने चाहिने रहेछ के स्पारक । हो त्यस्तो काम गर्न आफूलाई मन पर्छ’ भन्नुहुन्छ । नेपाली फिल्म हो माया गरिदिनुहोस् भनेर अब चल्दैन भन्नुहुने उहाँ हामीले पस्किने विषयवस्तु अब्बल हुनुपर्ने बताउनुहुन्छ । चलचित्र ‘महाजात्रा’ र कला क्षेत्रको समसामयिक विषयमा रविन्द्रसिंह बानियाँसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको संवादको संक्षिप्त अंशः-
शुक्रबारदेखि यहाँ कार्यकारी निर्माता रहेको चलचित्र ‘महाजात्रा’ दोस्रो हप्तामा प्रवेश गरेको छ, कस्तो पाइरहनुभएको छ प्रतिक्रिया ?
‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ शुक्रबारदेखि प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ । देशभरका एक सय हाराहारी सिनेमाघरमा प्रदर्शनरत चलचित्रले अघिल्लो साताझैँ दोस्रो सातामा पनि शो पाएको छ । दर्शकबाट प्राप्त प्रतिक्रिया र ब्राण्डले निर्माण गरेको हाइपका आधारमा चलचित्रलाई देशभरका सिनेमाहलले उच्च शो दिएका छन् । यो चलचित्रलाई प्राप्त शोले दोस्रो सातामा पनि आक्रामक व्यापार गर्ने निश्चित देखिन्छ ।
पहिलो सातामा काठमाडौं उपत्यकाका हलहरूमा दर्शकसँग साक्षात्कार गर्दा हामीले पाएको प्रतिक्रियाले थप हौसला मिलेको छ । उहाँहरूले मध्यान्तरअगाडि मनोरञ्जन लिनुका साथै मध्यान्तरपछि देखाइएको देशको समसामयिक विषयलाई रुचाउनुभएको छ । हामीले मनोरञ्जनसँगै दिन खोजेको सन्देशलाई दर्शकले ग्रहण गर्नुभएको छ । हल भ्रमणका क्रममा दर्शक बनेर परिवार नै आउनुभएको छ । पैंतीसवटासम्म टिकेर काटेर परिवार नै हेर्न आएका छन् । उहाँहरू फर्किंदै गर्दा पनि समय र पैसाको सदुपयोग भएको भन्दै खुसी हुनुहुन्थ्यो, त्यो सन्तुष्टि नै हाम्रो सफलता हो ।
नेपाली फिल्म हो माया गरिदिनुहोस् भनेर अब चल्दैन । अहिले ग्लोबलाइजेसनको जमाना छ । ‘जात्रा’ र ‘जात्रै जात्रा’को यो टिमले हेर्नलायक फिल्म बनाउँछन् भन्ने लाग्या छ भने हेर्न जानुहोस् । अझ लागेन भने ‘महाजात्रा’ हेरिसकेका कोहीले राम्रो छ भन्यो भने हेर्न जानुहोस् । समय भयो भने, पैसा भयो भने, अनुकूल मिल्यो भनेमात्रै चलचित्र हेर्ने हो । हामीले त अनुरोध गर्ने हो । तपाईंका लागि बनाएको कुरो तपाईंको ठाउँमा आयो भन्ने हो । ‘महाजात्रा’ भरपुर मनोरञ्जनले भरिएको फिल्म हो । दर्शकलाई जसरी ‘जात्रा’ र ‘जात्रै जात्रा’ले मनोरञ्जन गराएको थियो त्योभन्दा बढी यो चलचित्रले मनोरञ्जन दिन्छ ।
चलचित्रले पहिलो हप्तामा शानदार अंक जोड्न सफल भएको देखिन्छ नि ?
हो, प्रदर्शनको एक हप्तामा चलचित्रले घरेलु बजारमा शानदार अंक जोडेको छ । एक करोड २३ लाखको ओपनिङ गर्दै पहिलो विकेन्डमा चार करोड २६ लाख कमाएको चलचित्रले पहिलो हप्तामा ६ करोड नघाएको छ । ६ करोड २४ लाख फिल्मको ‘ग्रस’ व्यापार हो ।
नेपालका साथै विदेशमा एकसाथ प्रदर्शनमा आएको यो चलचित्रको विदेशमा कस्तो व्यापार छ ?
हामी उत्साहित छौँ । चलचित्रले विदेशमा पनि नेपालमा झैँ भव्यताका साथ व्यापार गरिरहेको छ । पहिलो साता अष्ट्रेलिया, युरोपका विभिन्न देशमा आयोजित शोहरू ‘सोल्ड आउट’ भएका छन् भने संयुक्त राज्य अमेरिका र बेलायतमा नियमित बक्स अफिसमै प्रदर्शन भइरहेको छ । अन्तर्राष्ट्रिय वितरण कम्पनी एमएसएम इन्टरटेनमेन्ट्सका अनुसार आयोजित शो ‘सोल्ड आउट’ हुनु र दर्शकबाट सकारात्मक ‘वर्ड अफ माउथ’ पाउनुले फिल्म दोस्रो सातामा पनि नियमित प्रदर्शनमा छ । यस्तै, चैत १५ (मार्च २८) देखि मध्यपूर्वका देशहरूमा समेत ‘महाजात्रा’ को प्रदर्शनको सुरुवात भएको छ ।
विभिन्न नेताहरूलाई सिनेमाघरसम्म ल्याएर पनि चलचित्र देखाउनुभयो नि ?
हो, चलचित्रलाई पहिलो सातामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, पूर्वरानी कोमल राज्यलक्ष्मी शाहलगायतका विशिष्ट व्यक्तिले हेरिसक्नुभएको छ । ओलीसँगै ईश्वर पोखरेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली, रघुजी पन्त, कोमल ओलीलगायत ४० नेताले चलचित्र हेर्नुभएको थियो । उहाँहरूले राम्रै प्रतिक्रिया दिनुभएको छ ।
कस्तो चलचित्र हो ‘महाजात्रा’ ?
तीन पात्रले जीविकोपार्जनका लागि गर्ने संघर्ष, विभिन्न अवरोधमा टिकेको मित्रता र उनीहरूको गरिबीले डगमगाउन नसकेको नैतिकतालाई प्रस्तुत गरिएको छ चलचित्रमा । आपत्कालीनरूपमा पैसा व्यवस्थापन गर्न आइपर्ने अवसर र त्यसका क्रममा तीन पात्रले गर्ने संघर्ष छ चलचित्रमा । यही चैत ९ गतेदेखि नेपालसँगै विश्वभर एकसाथ सिनेमाघरमा आएको चलचित्रमा प्रदीप भट्टराईको लेखन तथा निर्देशन छ । चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, रविन्द्र झा, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्कालगायतको अभिनय छ । चलचित्र म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्तरूपमा निर्माण गर्नुभएको हो ।
सिनेमाघरसम्म ‘महाजात्रा’ हेर्न किन जाने दर्शक ?
जानैपर्छ भन्ने होइन । नेपाली फिल्म हो माया गरिदिनुहोस् भनेर अब चल्दैन । अहिले ग्लोबलाइजेसनको जमाना छ । ‘जात्रा’ र ‘जात्रै जात्रा’को यो टिमले हेर्नलायक फिल्म बनाउँछन् भन्ने लाग्या छ भने हेर्न जानुहोस् । अझ लागेन भने ‘महाजात्रा’ हेरिसकेका कोहीले राम्रो छ भन्यो भने हेर्न जानुहोस् । समय भयो भने, पैसा भयो भने, अनुकूल मिल्यो भनेमात्रै चलचित्र हेर्ने हो । हामीले त अनुरोध गर्ने हो । तपाईंका लागि बनाएको कुरो तपाईंको ठाउँमा आयो भन्ने हो । ‘महाजात्रा’ भरपुर मनोरञ्जनले भरिएको फिल्म हो । दर्शकलाई जसरी ‘जात्रा’ र ‘जात्रै जात्रा’ले मनोरञ्जन गराएको थियो त्योभन्दा बढी यो चलचित्रले मनोरञ्जन दिन्छ ।
यो सिक्वेल हो ?
चलचित्र ‘जात्रा’ र ‘जात्रै जात्रा’को सिक्वेल भए पनि पात्रबाहेक सबै कुरा भिन्न छ । पूरै फिल्म नयाँ हो । हामी पहिले ‘जात्रा’को सिक्वेल बनाउने पक्षमा थिएनौँ । एउटा राष्ट्रिय इस्युको कथा थियो । त्यो कथा नयाँ पात्रबाट भन्नुपर्छ भनेर कोसिस ग¥यौँ । काम गर्दै जाँदा प्रमाणित गर्नुपर्ने लाइन जात्राका तीन क्यारेक्टर हाल्दा नयाँ चरित्र ल्याउनुभन्दा बढी न्याय गर्छ भन्ने लाग्यो । ‘महाजात्रा’ फिल्म ‘जात्रा’को ब्याज खान बनाएको होइन । ‘जात्रा’ सिक्वेलको सबैभन्दा माथिको फिल्म ‘महाजात्रा’ बनेको छ । दर्शकले यसअगाडि हाम्रो फिल्म मन पराएको कारणले राम्रो फिल्म बनाउँछ भनेर विश्वास गर्नुहुन्छ । त्यो विश्वास यो फिल्मले पनि कायम राख्छ । बल, बुद्धि र पैसाले भ्याएसम्म ‘महाजात्रा’ राम्रो बनाउने कोसिस गरेका छौँ । दर्शकमा ‘जात्रा’ र ‘जात्रै जात्रा’बाट हामीले हासिल गरेको विश्वास फिल्मले टुट्न दिँदैन ।
यहाँ निर्माता पनि हुनुहुन्छ, कलाकार पनि हुनुहुन्छ, आफूलाई कस्तो कलाकार भएको पाउनुहुन्छ ?
म त्यस्तो भयंकर ठूलो कलाकार हुँ भन्ने लाग्दैन । म नाटक क्षेत्रबाट आएको हुँ । हामीसँग सबै कुरा छ तर केही भइरहेको छैन । हाइड्रोजन पनि छ, हिलियम पनि छ तर आगो परिरहेको छैन । दुईवटा मिसाए आगो पर्छ भन्छ तर आगो बल्दैन । यो बीचमा क्याटलेटिक इनर्जी भन्ने चाहिने रहेछ के स्पारक । हो त्यस्तो काम गर्न मलाई मन लाग्छ ।
नेपाली चलचित्रको संख्या बढ्दो छ तर गुणस्तर भने छैन भन्ने गुनासो आउने गर्छ नि ?
मलाई के लाग्छ भने बुझ्दै नबुझी चलचित्रमा लगानी गर्दा प्रतिफल आउने सम्भावना न्यून हुन्छ । यसले गर्दा हजुरबुबाले चलचित्रमा लगानी गरेको छ भने तीन पुस्ता नातिसम्मले गाली गर्ने परिपाटी नै बसेको छ । विषयवस्तुबारे जानकारी नहुँदा लगानी डुब्ने जोखिम त रहन्छ नै ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच