राजा छान्न हात्तीलाई माला

प्रा. डा. कुलप्रसाद कोइराला
Read Time = 16 mins

पशुका कर्तव्य न अकर्तव्य:-
नेपालीले भर्खरै स्वस्थानीको एक महिनाव्यापी व्रत बसेर बिसाएका छन् । उनीहरूका मनमस्तिष्कमा नवराज राजा बनेको प्रसंग ताजै रहेको छ । देश चलाउन, समाजमा रहेका विकार विकृति हटाएर राम्रा र सहकारी प्रथा प्रणाली सिर्जना गर्न नै राजनीतिको कर्तव्य क्षेत्रमा पर्ने कुरो हो । राजा र राणाको द्वैधशासनका बेलाका कतिपय परम्पराले आज पनि नेपाली राजनीतिलाई गाँजिराखेकै छ । जनताको त्यो पनि वाम राजनीतिबाट आएका मान्छे पनि भोका किर्नाले गाईभैंसीको रगत चुसेझैं नेपाली जनताको रगत पसिना चुसेरमात्रै चित्त नबुझेर चन्द्रशमशेर या ज्ञानेन्द्रको या महेन्द्रको सान जनतालाई देखाउने भित्री भोक शमन भएको देखिएन । ‘घोच्ने ती जंगली काँडा पहिले नै तीखा कति-सानैदेखि छुचो हुन्छ दुष्ट मानिसको मति’ ।

आवागमन पनि कष्टकर बनाउन लाजमानेको देखिँदैन । राष्ट्रको नेतृत्वमा पुगेका भनेर सम्मान राख्न दशैंमा टीका लाउन गएकालाई भुइँमा राखेर आफू कुर्सीमा बसेर सान देखाएको पनि देखियो । प्रधानन्यायाधीश जस्तालाई पनि घुँडा टेकाएर टीको लाएका दृश्य प्रकाशित भएका थिए । मोटरबाट झर्दा काठे पीरा राख्न लाएका दृश्यावली पुरानिन नपाउँदै बाटामा हिँड्ने मान्छे पिटिनु त्यो पनि परिचयपत्र देखाएर म चिकित्सक हुँ भन्दाभन्दै जुन काम राष्ट्रको अभिभावक भनिएका व्यक्तिबाट गराइएको देखियो । यसले भोकाएका मान्छेले उचितअनुचित विचारै नगरी जे पनि हसुरेको र जे पनि गरेको देखिएन र ?

राज्यसञ्चालन गर्ने व्यक्ति, संयन्त्र, प्रथा प्रणालीमा भएका कमीकमजोरी तत्काल या बेलाबेलामा परिमार्जन गरिरहनुपर्छ भन्ने कुरो नै बिर्सेर नेपाली राजनीतिक दलका नेताहरू स्वेच्छाचारी, निर्लज्ज र धनमुखी बन्दाको दुष्परिणाम नेपाली जनताले बाटोमा, व्यवसायमा, विद्यालय, महाविद्यालयमा सर्वत्र व्यर्होनु परेको छ ।

वामवृत्तबाट आएका व्यक्तिलाई राष्ट्रपति बनाइयो भनेर नाक घोक्र्याउनेका नाक काटिए कि सद्दे नै छन् ? ‘एकां लज्जां परित्यक्त्वा सर्वत्र विजयी भवेत्’ भनेको यही होला । मान्छे पनि पशु नै हो २० करोड वर्षमा संसारका उम्दो दिमाग भएका मान्छेले विकास गरेको सभ्यताको नाक काट्नकै निमित्त संसारमा नपाउनेलाई केरा खान दिने प्रथा पनि मान्छेले नै गर्दोरहेछ । एमालेमा पनि विचार चरित्र भएका मान्छे थिए होला नि तिनले मौका पाएनन् । यां चिन्तयामि शततं मयी सा विरक्ताको घटना पार लाएर आएकाले विचार नपुर्‍याउनु पनि एक दृष्टिले सामान्य नै पनि होला तर जनताका प्रतिनिधिका रूपमा आएकाले जनतालाई नै गधा, राँगा र भेडा बनाएको हुनाले सभ्यतालाई अपूरणीय क्षति भने भएकै छ ।

हला नामको वैज्ञानिकले उत्पादन गरेको परम असरदार बिख यस संसारमा सास फेर्नेजतिलाई एकै चिहान बनाउँछु भनेर हावामा त्यो बिख विष्फोट गराएछ । बिख विष्फोट भएका ठाउँमा भएको हला नै आफ्ना उत्पादनको पहिलो सिकार भएथ्यो हाम्रा राजनीतिकर्मीमा पनि त्यो नियम लागू नहोस् यिनले लुटेर कमाएका धनमा आराम गर्ने अवसर पाऊन् भन्ने कामना गरौं ।

देश सज्नविहीन हुँदैन छान्नुपर्छ :-
राज्यसञ्चालन गर्ने व्यक्ति, संयन्त्र, प्रथा प्रणालीमा भएका कमीकमजोरी तत्काल या बेलाबेलामा परिमार्जन गरिरहनुपर्छ भन्ने कुरो नै बिर्सेर नेपाली राजनीतिक दलका नेताहरू स्वेच्छाचारी, निर्लज्ज र धनमुखी बन्दाको दुष्परिणाम नेपाली जनताले बाटामा, व्यवसायमा, विद्यालय, महाविद्यालयमा सर्वत्र व्यर्होनु परेको छ अहिलेका नेपालमा । राणा स्वेच्छाचारी भए, तिनको मुखै कानुन भयो भनेर जनताले संगठित भएर आन्दोलन गरी तिनको पारिवारिक शासन संयन्त्र हटाए । राजाले पनि निर्दलीय नामको राजदलीय व्यवस्था चलाएर त्यो मन नपराउनेलाई पनि राजाज्ञाबाट ‘सबै नेपाली पञ्च, सबै पञ्च नेपाली’ भनेर जुन ज्यादति भएको थियो ‘अहिले पनि सवारीका बेला हिँड्नु सम्माननीयलाई अपमान गर्नु हो’ भन्ने मर्जी भएको सुनेर राष्ट्र आक्रोशित भयो ।

सान देखाउन हामीले पात्रै नछानी, नजानी ठूला पदमा त पुर्‍याएनौं ? राष्ट्राध्यक्ष जस्तो गरिमामय पदमा सक्रिय राजनीति गरेका (शक्ति परिचालनमा पल्केका) लाई पुर्‍याउनु हानीकारक हुन्छ भन्ने कुरो अब त लाटाले पनि बुझ्नुपर्ने होइन र ? राजनीति धुत्र्याइँमा मात्रै सीमित भयो जब कि राजनीतिमा धेरै बुद्धि विद्या र थोरैमात्र धुत्र्याइँ चाहिन्थ्यो । पहिला राष्ट्रपति एउटा घटनामा विवादित थिए भने दोस्रा राष्ट्रपतिबाट पटकपटक सामान्य विवेकसम्म पनि नपुर्‍याएको चारपाँच पटक नै भइसक्यो । टीका प्रसंग, पीराप्रसंग, यात्राप्रसंग, सवारीप्रसंग वर्तमान राष्ट्रपतिका गौरवमय गाथा हुन् । मान्छे अत्यन्त लोभी, असहिष्णु, अति महत्वाकांक्षी र प्रतिशोधको आगो दिलभरि भएको प्राणी हो ।

यसो भएकै कारणले विश्वका प्रजातान्त्रिक व्यवस्था राम्रो विकास भएका मुलुकले चलनमा या विधानमा, शक्तिसन्तुलन र आचार संहिताको व्यवस्था मिलाएका हुन्छन् । हाम्रा देशमा ‘फुलोको कुर्था’ भन्ने एउटा कथाकी नायिका जसको पाँच वर्षका उमेरमा बिहा भएको थियो । माइतमा बसेर हुर्कन लागेकी फुलोलाई जेठाजुलाई कपाल देखाउनु हुँदैन भनेर सिकाइएको रहेछ । बाँझा खेतमा गाई बाख्रा चराउँदै गरेकी फुलोलाई साथीले ‘गे तोहर भैंसुर आइबरहल हौ माथमे नुवा राख’ भनेछन् । उसले कुर्थामात्रै लाएकी रहिछे । कुर्थाको फेर उठाएर टाउको ढाकिछे अरे ।

हाम्रा आचारसंहिता, प्रचलन, विधिव्यवहार र विवेक विचार पनि त्यस्तै भएका देखिए । ठूला मान्छेको सम्मान राख्दा साना कर्तव्यनिष्ठलाई हेप्नु, हियाउनुपर्छ भन्ने चेतना राष्ट्रपतिदेखि सडकमा काम गर्ने प्रहरीमा पनि देखियो । देश बनाउन काम गर्नुपर्छ भन्ने हाम्रा ठूलाठालुका दिमागमा आउँदैन । राजनीतिक प्रकृतिका बिदाको लर्को लागेको छ । धार्मिक बिदाको त्यही अवस्था छ । आराम बिदा नथपिएलान् भनेर कसरी भन्ने ? माओवादी सरकार प्रमुख हुँदा माओवादी बिदा, एमाले बिदा, कांग्रेस बिदा जातजाति धर्मसंस्कृति पिच्छेका बिदाले देशलाई ओझेलमा नपार्लान् भनेर कसरी भन्ने ?

अहिले राष्ट्रपति पदका निमित्त कांग्रेस, एमाले र माओवादी केन्द्रका बीचमा तिगडमबाजी चलिरहेका छन् । सक्रिय राजनीति नगरेको, राजनीतिक चेतना भएको, राष्ट्रले चिनेको र राष्ट्रिय गरिमा बुझेको स्वविवेकमा अडिन सक्ने व्यक्तिलाई खोजेर चिनेर राष्ट्रपति बनाउन सके नेपाली जनताका इच्छा पूरा हुन्थे तर नेपाली राजनीतिक दलका आसमा चाहिँ डढेलो लाग्छ र तिनले यो हुन, गर्न गराउन दिँदैनन् । न रावणले राम रुचाओस्् न त कंसले कृष्ण रुचाओस् । अहिलेका राजनीतिका फाँटमा यिनकै राइँदाइँ चलेको छ । शिशुपालले कृष्णलाई आफूभन्दा लायक नदेखी गालीको मूल फुटाए झैँ आजका नेपालमा गाली शिरोमणिको पद फिका देखिएला ओली र प्रचण्डजस्ता देशकै गौरवमय व्यक्तिलाई सम्झँदा भन्ने पनि लाग्छ कहिलेकाहीँ त ।

आममान्छेभन्दा पशु उत्कृष्ट हुन्छ :-
मान्छेको सबैभन्दा पुरानो र विश्वासिलो पशुमा गाई, कुकुर, हात्ती, घोडा पर्दछन् । जब मान्छे आफ्नै असहिष्णुता र सत्तालगायत सम्पत्तिका मोहमा डुबेर कर्तव्य बिर्सन्छ, आफ्नै कुरालाई दुनियाँका कुरा, आफ्नै दृष्टि सबैलाई काम लाग्ने र चाहना भन्ने ठान्न थाल्छ त्यसबेला मान्छेभन्दा एकश्रेणीमाथि पुग्छ पशु । पशु जन्मदादेखि मृत्युपर्यन्त नै प्राकृत अवस्थामा रहन्छ । उसमा अहं, लोभ, उन्माद स्थायी किसिमले विकास हुँदैन । मान्छेमा यिनै कुराको नयाँनयाँ मुना पलाएर मान्छे चिनिनसक्नु हुन्छ । उद्योगीको ध्याउन्न नीतिका परिधिमा रहुन्छजेल एकजना उद्योगी व्यवसायीले देश समाज र विश्वलाई नै सेवा गर्न पाए हुन्थ्यो भन्ने मनसायमा काम गर्दछ ।

जब उसलाई बोध हुन्छ अब मेरो धनको न्यानो मैले किन नताप्ने भनेर अनि विनोद चौधरी नाचे झैँ देशका अनेकौं राजनीतिक वृत्तमा परिक्रमा लाउन लाग्छ । एकथरी हुन्छन् जति नै धन भए पनि उन्माद नलाग्ने धनुषाका रामस्वरूप रामसागर साहुका दाजुभाइले गरेको देशसेवा सम्भवतः आउँदा एक-दुई सय वर्ष अरूले गर्न नसक्लान् । यिनकै कुलका रामचन्द्र साहुको नाम दधीचिसँग तुलना गर्नलायक रहेको ठानिन्छ । प्रा.डा.सुरेशराज शर्माले काठमाडौं विश्वविद्यालयजस्तो संस्था दिए, मदनमोहन मालवीयले विएचयु दिएजस्तै । डा.रामानन्द गिरि र ज्ञानानन्द सरस्वतीले देवघाटमा प्रदान गरेका पौरस्त्य शिक्षाकेन्द्र पनि उदाहरणीय छन् । यस्ता दानशील र पुरुषार्थी यसै देशमा जन्मेका थिए/छन् ।

आजको नेपालमा एउटा राष्ट्रपतिको पद एमाले, कांग्रेस, राप्रपा आदि गरिएका सबै दललाई मात्र होइन एकजना सन्दुक रुइतबाहेक सबै नेपाली राष्ट्रपतिका योग्य उम्मेदवार बनेका छन् । वर्तमान राष्ट्रपतिको विवेक व्यवहार हेर्दा सक्रिय राजनीतिक क्षेत्रमा लागेका भन्दा स्वतन्त्र मान्छे नै ठीक होला कि ?

आजको साँखु हिजोको लावण्य देशमा आजको नेपालमा जस्तै गरी मान्छे लोभ, दम्भ, जालझेलका बन्धनमा बाँधिएर चिण्डामा परेको मुसोजस्तो भएका थिए । एकजना राजा हुनुपर्ने त्यो देशका सबै राजा हुन चाहन्थे । आजको नेपालमा एउटा राष्ट्रपतिको पद एमाले, कांग्रेस, राप्रपा आदि गरिएका सबै दललाई मात्र होइन एकजना सन्दुक रुइतबाहेक सबै नेपाली राष्ट्रपतिका योग्य उम्मेदवार बनेका छन् । वर्तमान राष्ट्रपतिको विवेक व्यवहार हेर्दा सक्रिय राजनीतिक क्षेत्रमा लागेका भन्दा स्वतन्त्र मान्छे नै ठीक होला कि ? त्यसबेला लावण्य देशका मान्छेले हात्तीलाई राजा छान्न लाएका थिए भने अहिले चाहिँ राष्ट्रपति छान्न एउटा गधा या गधीलाई दुईचार दिनको तालिम दिएर पठाउन सके ठीक व्यक्तित्व आउँथ्यो कि ?

शायद देवकोटाले गुरुभन्दा गधा बुद्धिमान भनेर यस्तै मानव व्यक्तित्वको ह्रास भएको देखेर नै भनेका रहेछन् कि क्या हो ? सक्रिय राजनीतिमा लागेका बोकाबाट पनि दाइँ गर्न सकिन्छ भन्ने भ्रम नेपालका राजनीतिकर्मीले बोकेको देखिन्छ । एउट गोरु दुब्लो पनि एक–डेढसय केजी हुन्छ भने लोकल बोकाको त्यति वजन कति वटाको होला ? दुई सय पैंसट्ठीवटा मियामा बाँधिएका बोकाले धान झार्न सके र ? बरू खलामा नै गोब¥याएर उछित्तो पारेका छैनन् र ? सत्ताका लोभमा राजनीतिको ‘र’ नबुझेका पनि उपप्रधान र गतिलै मन्त्रालय ताक्ने भएर राजनीतिक पद्धति नै असफल बनाउलान् भन्ने डर मौलायो ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Devi Bhakta Dhakal
Devi Bhakta Dhakal
2023-02-15 8:09 am

दुईसय पैंसट्ठीवटा मियामा बाँधिएका बोकाले धान झार्न सके र ? बरू खलामा नै गोब¥याएर उछित्तो पारेका छैनन् र ?
समसामयिक राजनीतिको यथार्थ अवस्था पस्कन सफल कलमलाई धन्यवाद ।

रिलेटेड न्युज

छुटाउनुभयो कि ?